मझिमटारमा जारी अन्जन स्मृति कप फुटबल सकियो, विक्की एक्लैले जिते ५८ हजार

Avatar photo
Dhadingpost
शनिबार, अशोज १३, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित मझिमटारमा जारी प्रथम अन्जन स्मृति कप खुल्ला नक आउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको रोचक पक्ष कुल प्रथम पुरस्कार भन्दा बढी रकम एकै व्यक्ति बिक्कीले ५८ हजार ५०० जित्न सफल भएका छन् ।

आयोजक भेटेरान समुह, मझिमटारबाट खेलेका चितवनका खेलाडी विक्की एक्लैले आजको फाईनल खेलमा गजुरी समाज, गजुरी बिरुद्ध ५ गोल गरेका गरेका थिए । फाईनलमा गाउँ पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले घोषणा गरे अनुसरा प्रतिगोल १० हजारका दरले गाउँपालिकाबाट ५० हजार, सर्वाीधक गोलकर्ताको ३ हजार, स्थानीय एक व्यवसायीले प्रतिगोल ५०० घोषणा गरे अनुसार २ हजार ५०० र उत्कृष्ट खेलाडीको ३ हजार पुरस्कार समेत उनै विक्कीले पाए । उनले पाएको यो पुरस्कार प्रतियोगितामा प्रथम हुने टिमको भन्दा धेरै हो ।

विक्कीको उत्कृष्ट प्रर्दशनको दवामा खेलेको गजुरीले २ गोल मात्रै गर्दा आयोजक भेटेरान समुह, मझिमटार प्रथम बन्यो । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार र उप विजेता २५ हजार रहेको थियो । प्रतियोगिताका विजयी टिम र खेलाडीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुरस्कार वितरण गरेका थिए ।

अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओबादी केन्द्रका सचिब थिए । उनको मोटर साइकल दुर्घटनामा चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले अब हरेक वर्ष स्मृति कप गर्ने जनाईएको छ ।