
धादिङ । धादिङको रुवी भ्याली गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले फागुन १४ देखि आयोजना गरेको रुवी भ्याली स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लापा माध्यमिक विद्यालयले जितेको छ ।
४ वटा माध्यामिक विद्यालय सहभागी यस प्रतियोगितामा २८ गोल्ड मेडल सहित लापा प्रथम, ९ गोल्ड मेडल सहित च्याम्रादेवी मावि द्वितीय र दोङ्देन मावि तृतीय भएका छन् । लापा माविको यो दोस्रो लगातार जित हो । अर्को वर्षको पनि जिते यो रनिङ शिल्ड सधैंको लागि आफूले राख्ने छ ।

पालिकाले प्रथम भएको लापा माविलाई नगद २० हजार सहित रनिङ शिल्ड, द्वितीय भएको च्याम्रादेवीलाई १५ हजार र तृतीय भएको दोङ्देन माविलाई १० हजार नगद सहित सम्मान गरेको छ ।

पालिका प्रमुख रामसिंह तामाङको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आथित्यता रहेको थियो ।
गत वर्ष रुवीभ्यालीको राष्ट्रपति रनिङ शिल्ड १४ गोल्ड मेडल सहित लापा माविले जितेको थियो । १० गोल्ड मेडल ल्याई च्याम्रा देवी माध्यमिक विद्यालय दोस्रो र डोङडेन माध्यमिक विद्यालय ८ गोल्ड मेडल सहित तेस्रो भएका थिए । उक्त कार्यक्रम बागमती प्रदेश खेदकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीको प्रमुख आतिथ्य र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिंह तामाङको विशेष आतिथ्यता रहेको थियो ।