चिसापानीमा राजु दाहाल (सागर) तेस्रो स्मृति कप फुटबल हुने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १२, २०८१

धादिङ । गणेशकुण्ड मैत्री युवा समाजले गुरुङ हरुको महान चाड तमु ल्होसारको पावन अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानीमा खुल्ला सहिद राजु दाहाल (सागर) तेस्रो स्मृति कप खुल्ला नकआउट ७ साईड फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पुस ८ गते देखि १५ गते सम्म हुने यस प्रतियोगिताको पुरस्कार पुरुष तर्फ प्रथमलाई ६० हजार र उप विजेतलाई ३० हजार र महिला तर्फ प्रथमलाई १५ हजार र उपविजेतालाई ७ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्ष दशैंमा भएको सहिद राजु दाहाल (सागर) दोस्रो स्मृति कप प्रतियोगिता चमेरे गुफा संरक्षण युवा समाजले जितेको थियो भने दोस्रो मितेरी युवा क्लव जुरेथुम भएको थियो ।

तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धका क्रममा ०५९ असार २२ गते राज्य पक्षद्वारा मारिएका जनयुद्धका सहिद राजु दाहाल (सागर) को स्मृतिमा नीलकण्ठ नगरपालिका वडा नम्बर २ चिसापानीमा विगत ३ वर्ष देखि फुटबल प्रतियोगिता हुँदै आएको छ ।

सहिद राजु दाहाल (सागर) को संक्षिप्त जानकारी
जन्म मितिः २०३६।०३।१०
सहादतः ०५८ असार २२ गते
घटना स्थलः तारुका चन्दने, नुवाकोट
स्थायी ठेगानाः नीलकण्ठ नगरपालिका धादिङ
बाबुको नामः तोयानाथ दहाल
आवद्धताः नेकपा माओवादी
धादिङ जिल्ला निलकण्ठ नगपालिका चिसापानीमा पिता तोयानाथ दाहाल र माता देविका दाहाल को गर्भबाट वि.स. २०३५ साल असार १० गते राजु दाहाल सागर पहिलो सन्तानको रुपमा जन्मनु भयो । सागरको भाईहरु राम प्र, ध्रुव, द्धारीका बहिनीहरु कमला, कुमारी, लक्ष्मी छन् । गरिब परिवारमा जन्मेका । दु:ख नै दु:खको बिचबाट कक्षा ३ सम्मको पढाई कालिका प्रा.वि. निलकण्ठ सिम्लेबाट र ८ सम्मको अध्ययन साङकोस दामगाडेबाट गरेका थिए ।

राजु दाहाल (सागर) धादिङ छापामार स्क्वयट दलको एक योद्धा थिए । निक्कै नम्र स्वभाव, इमानदार र मिलनसार कमरेड सागर निक्कै निडर, सहासी, लडाइँमा भरपर्दो एक योद्धा थिए, तारुका चौकी आक्रमणको मुख्य ३ नं. एसल्ट कमरेड गणेश तामाङ नेतृत्वमा रहेको रहेको थियो भने सेक्सनको मुख्य काम माइनिङको जिम्मेवारी कमरेड सागरलाई दिएको थियो । यहि मिसन कै दौरानमा ०५८ असार २२ गते प्रहरीले गोली हानी हत्या गरेका थिए । प्रहरीसँग भिडन्त भएको वेला प्रहरीले गोली हान्दा उनी मारिएका हुन् । प्रहरीले उनको लास समेत नदीमा फालेर हिंडेका थिए ।