काठमाडौं । तीन दिनअघि टुँडिखेलको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ गरिएका तीन युवालाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
गृह मन्त्रालयको निर्देशनमा उनीहरूलाई पक्राउ गरी प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको हो । गौरापर्वको अवसरमा सोमबार आयोजित कार्यक्रममा युवाहरूले नेताहरूविरुद्ध नाराबाजी गरेका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी यसरी नेताहरूको आलोचना गरेकै आधारमा पक्राउ गरेर मुद्दा चलाउनु गलत भएको बताउँछिन् । ‘नागरिकलाई नेताहरूको आलोचना गर्ने, सरकारको विरोध गर्ने अधिकार संविधानले नै दिएको छ,’ उनी भन्छिन्, ‘कार्यक्रमका भिडियोहरू हेर्दा सार्वजनिक सुरक्षा बिथोल्न खोजेकोजस्तो देखिन्न, त्यतिकै आधारमा पक्राउ गरे मुद्दा चलाउनु उचित होइन ।’नयाँ पत्रिकाबाट