बेनीघाट रोराङको आजबाट दुई दिने आवासीय शैक्षिक गोष्ठी

Avatar photo
Dhadingpost
शनिबार, भदौ १, २०८१

धादिङ । शैक्षिक वर्ष २०८१ लाई सिकाइ सुधार वर्षको रुपमा मनाउने निर्णय गरेको बेनीघाट रोराङ गाउँपालिकाले आज र भोली अर्थात भाद्र १ र २ गते सुर्योदय आधारभूत विद्यालय, वडा नम्बर ८, भुवाभञ्ज्याङमा गर्ने आवासीय शैक्षिक गोष्ठी आजबाट सुरु हुँदै छ ।

उक्त आवासीय शैक्षिक गोष्ठीमा ७८ जना प्रधानाध्यापक, पालिकाका प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाअध्यक्षहरु, शिक्षा समितिका सदस्यहरु, विषयगत समितिका संयोजकहरु, शिक्षकका पेशागत संघ संगठनका अध्यक्षहरु गरी १२० जना सहभागी हुने पालिकाका शिक्षा अधिकृत बोधराज पाठकले धादिङपोष्टलाई बताए ।

गोष्ठी प्रधानाध्यापकहरुले सिकाइ सुधार बर्ष २०८१ को लागि मेरो कार्ययोजना नामक शीर्षकमा १० मिनेट सम्मको पावरपोइन्ट प्रस्तुती राख्ने कार्यक्रम रहेको छ । उक्त प्रस्तुतीको समिक्षा र पालिकाको शैक्षिक सवालहरुको विषयमा अन्तरक्रिया हुने उनले बताए ।

पालिकाले विद्यालयहरुका लागि ५७ बुँदे निर्देशन, शैक्षिक सुधारका लागि ८८ बुँदे साझा मार्गचित्र, विषयगत शिक्षकबाट शैक्षिक बर्ष २०८१ का लागि लक्ष्य निर्धारण, समूह सुपरिवेक्षण, द्रुत परीक्षा-द्रुत नतिजा-द्रुत पृष्ठपोषण कार्यक्रम, एकिकृत आवासीय विद्यालयको शुरुवात, वडा शिक्षा समिति र विषयगत समितिको परिचालन, करेसावारी र फुलवारी कार्यक्रम, शिक्षक एक्सचेञ्ज कार्यक्रम, शिक्षक बैंकको स्थापना, लिडर फिडर विद्यालय अवधारणा, अनिवार्य तथा निःशुल्क शिक्षाको कार्यान्वयन जस्ता पछिल्ला केही नमुना प्रयास गरिरहेको छ त्यको कार्यावयनका लागि गोष्ठी फलदायी हुने शिक्षा अधिकृत पाठकले बताए ।

बेनीघाट रोराङमा सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।