काठमाडौं । मुलुकभरका जेलमा २८ हजार ६ सय ९८ जना बन्दी छन् । त्यसमा सबैभन्दा बढी जबरजस्ती करणी (जक) मा दोषी ठहर भएकाहरू छन्। कारागार व्यवस्थापन विभागका अनुसार ७ हजार ४ सय ५३ जना जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका छन्। यस्तै, जबरजस्ती करणी उद्योगमा जेल पर्नेमा ३ सय २२ जना छन। जबरजस्ती करणी कसुरमा जेल पर्नेमा अधिकांश युवा छन्।
अघिल्लो वर्ष गृह मन्त्रालयले गरेको एक अनुसन्धानमा जबरजस्ती करणी र लागूऔषध मुद्दामा संलग्न हुनेमा अधिकांश १८ देखि ४० वर्ष उमेरसमूहका रहेको देखाएको थियो। त्यसैकारण, विभिन्न अध्ययन, रिपोर्ट र तथ्यांकले जबरजस्ती करणी उद्योगमा जेल पर्नेमा अधिकांश युवा रहेको सरोकारवाला बताउँछन्। सीप, जोश र जाँगर भएका युवाहरू यसरी जेल पर्दा त्यसको प्रत्यक्ष असर समाजमा पर्ने गरेको जानकारहरू बताउँछन्। यसका साथै उनीहरूका परिवार र आफन्तमा समेत सामाजिक रूपमा नराम्रो असर पर्ने गर्छ। जेल जानेका परिवारले सामाजिक बदनामी, विभेद र भेदभाव व्यहोर्नुपर्छ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०८०/८१ मा मात्रै २ हजार २ सय ५८ वटा जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भए। यस्तै ४ सय १८ वटा घटना जबरजस्ती करणी उद्योगका दर्ता भए। अपराधको घटना अनुसन्धान हुने निकाय प्रहरी कार्यालय र ‘कसुर हो, हैन’ भनेर अदालतबाट छिनोफानो भएर पुग्ने ठाउँ कारागारमा रहेको विवरण हेर्दा पछिल्ला वर्षमा जबरजस्ती करणीका घटना बढिरहेका छन्। अन्नपूर्णपोष्टबाट