होसियार, हैजा फैलिँदै छ

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १५, २०८१

काठमाडौं । हाल ललितपुर, काठमाडौं र कैलालीमा हैजा संक्रमितहरू पुष्टि भएको सरकारी स्वास्थ्य संस्थाहरूले जनाएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) ले ललितपुर, गोदावरी र धनगढी, पशुपति टोलमा गरी १३ जना व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको जनाएको छ।

जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाका अनुसार, काठमाडौं, कालीमाटी क्षेत्रका एक जनामा कल्चर गर्दा हैजा संक्रमण पुष्टि भएको छ। अन्य दुई जनामा द्रुत परीक्षण (¥यापिड डायग्नोस्टिक टेस्ट) गर्दा हैजाको संक्रमण पाइएको छ।

सन् २००९ मा जाजरकोट जिल्लामा फैलिएको हैजाको संक्रमणबाट १ सयभन्दा बढीको ज्यान गएको थियो। त्यो बेला हैजाका जाजरकोटमा ३० हजारभन्दा बढी संक्रमित भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। काठमाडौं उपत्यकामा ७ वर्षअघि हैजाको संक्रमण व्यापकरुपमा फैलिएको थियो।

सन् २०१६/०१७ मा फैलिएको हैजा संक्रमणबाट काठमाडौं उपत्यकामा २ सयभन्दा बढी व्यक्ति प्रभावित भएका थिए। इडिसिडीका पूर्वनिर्देशक एवं जनस्वास्थ्य विज्ञ डा.बाबुराम मरासिनी काठमाडौं उपत्यकामा पानीका स्रोतहरू दूषित भएको र बिक्री गरिने तरकारी पनि प्रदूषित मनहरालगायतका खोलामा पखालिने हुँदा उपभोगकर्ताहरू सजग हुनुपर्ने बताउँछन्।

कसरी जोगिने ?
भिब्रिओ कलेरा प्रजातिको जीवाणुबाट लाग्ने अति संक्रामक रोग हो हैजा। संक्रमित व्यक्तिको दिसाको माध्यमबाट बाहिरी वातावरणमा जीवाणु बाहिर पुग्छ। दूषित पानी र खानाको माध्यमबाट हैजा संक्रमण हुन्छ।

इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा. मुकेश पौडेलका अनुसार, इनार, धाराबाट आउने पानी दूषित भएका कारण शुद्धीकरण गरेर मात्र पानी पिउन सुझाव दिन्छन्। ‘फलफूल वा सागसब्जी, तरकारी धुदा पनि सफा पानीको प्रयोग गर्नुपर्छ,’ डा. पौडेलले सुझाए। जनस्वास्थ्य विज्ञ डा. मरासिनी पानी उमालेर पिउन सुझाव दिन्छन्। पानीको आपूर्ति एवं वितरणका लागि संकलित पानी ट्यांकीमा मात्रा मिलाएर क्लोरिन राखेर शुद्धीकरण गर्नुपर्ने डा. मरासिनीको सुझाव छ।
अनपूर्णपोष्टबाट