धादिङ । धादिङबाट काठमाडौं गई पर्यटन व्यवसाय गर्दै आएका सहदेव धमला र प्रकाश थपलियाले यहि असार ३१ गते हुन लागेको ठमेल पर्यटन विकास परिषदको अधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । दुबै जनाले भविश्वर शर्माको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
गत निर्वाचनमा ६८३ मत ल्याएर उपाध्यक्षमा विजयी भएका धमला यो पटक प्रथम उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन् भने गत निर्वाचनमा ध्रुव अधिकारीको प्यानलबाट सदस्यमा निर्वाचित भएका थपलिया यो पटक शर्मा समूहबाट कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गत निर्वाचनमा ७७२ मत ल्याई अध्यक्ष बनेका भविश्वर शर्मा यो पटक पनि अध्यक्षमा उम्मेदवारी दिने पक्का गरेका छन् । उनको प्यानलबाट प्रथम उपाध्यक्षमा सहदेव (विमल) धमला, द्धितीय उपाध्यक्षमा राजीव पाण्डे, तृतीय उपाध्यक्षमा दीपक पुडासैनी, महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुन्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलियाले उम्मेदवारी घोषणा गरेका छन् ।
गत अधिवेशनमा अध्यक्षमा पराजित धादिङका ध्रुव अधिकारी यो पटक पनि अध्यक्षमा लड्ने योजनामा रहेको बताईए पनि अहिले सम्म उनले उम्मेदवारी घोषणा गरि सकेका छैनन् । विस २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल दुई हजारभन्दा बढी व्यवसायी तथा घरधनी आबद्ध छन् ।