वन कार्यालयका कर्मचारी चिउरीको बियाँ निकाल्दै

Avatar photo
Dhadingpost
आइतवार, असार २४, २०८१

धादिङ । डिभिजन वन कार्यालय धादिङले आगामी वर्षका लागि १६ हजार चिउरीको विरुवा तयार गर्ने लक्ष्य अनुरुप नर्सरीका लागि चिउरीको बियाँ संकलन सुरु गरेको छ ।

डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णुप्रसाद आचार्यका अनुसार आगामी वर्ष डिभिजन वनको आफ्नै नर्सरीमा १० हजार, प्रेम सागर फाउन्डेसन थाक्रेको नर्सरीमा २ हजार, भूमिरमण नेपाल मार्फत २ हजार र बेनिघाट रोराङको नर्सरीमा २ हजार चिउरीको विरुवा आगामी वर्षका लागि तयार गरिने छ ।

प्रदेश सरकारको चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण अभियान कार्यक्रम अन्तरगत बेनीघाट रोराङले चालु आर्थिक वर्षमा ५ हजार चिउरीको विरुवा जिल्ला बाहिरबाट खरिद गरि लगाएको छ । आगामी वर्ष आफ्नै जिल्लाका नर्सरीमा चिउरीको विरुवा तयार हुने प्रमुख आचार्यले बताए ।

डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले चिउरीको विरुवा रोपण तथा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक समेत प्रकाशन गरेका छन् । उनको पुस्तक बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत जेष्ठ २४ गते बिश्व वातावरण दिवस २०२४ को अवसरमा लोकार्पण गरेका थिए ।