मुख्यमन्त्री जम्कट्टेलद्वारा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक लोकार्पण

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २४, २०८१

धादिङ । धादिङको बेनिघाट रोराङ गापाको ताल्तीमा चिउरीको विरुवा रोपण तथा चिउरी, चेपाङ र चमेरो सम्बन्धी पुस्तक लोकार्पण कार्यक्रम गर्दै बुधबार बिश्व वातावरण दिवस २०२४ मनाईएको छ ।

चेपाङ समुदायको उत्थानको लागि चिउरी र चमेरो संरक्षण अभियान अन्तरगत भएको उक्त कार्यक्रममा पालिका अध्यक्ष कृष्णबहादुर थपलियाले प्रमुख अतिथि समेत रहेका बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई चिउरी खुवाएर स्वागत गरेका थिए ।

पुस्तक लोकार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यद्वारा लेखन, संकलन र सम्पादन गरिएको उक्त पुस्तकबाट चिउरी, चेपाङ र चमेरो बारे महत्वपूर्ण जानकारी लिन सकिने बताएका थिए ।

प्रदेश सरकारद्वारा यस वर्ष बेनीघाट रोराङ गाउँपालिकाले प्रदेशबाट आएको ७ लाख ७५ हजार र त्यसमा पालिकाले २०% थप गरी ९ लाख ४५ हजार खर्च गर्ने गरि चिउरी चमेरो संरक्षण कार्यक्रम भईरहेको कार्यक्रमका सभापति समेत रहेका पालिका अध्यक्ष थपलियले बताएका थिए ।

एक घर एक चिउरीको बोट अवधारण बनाउँदै छौं । चिउरी नरोप्ने चेपाङलाई गाउँपालिकाबाट प्रवाह हुने सेवाबाट बञ्चित गरिने समेत उनले बताए । चिउरी र चमेरो चेपाङ समुदाय र बेनीघाट रोराङको पहिचान हो । चिउरी र चमेरो संरक्षणका लागि अब पालिका सरकार निर्मम बन्छ । अब चिउरीको विरुवा लगाउनै पर्छ चमेरो मार्न नपाईने कार्यक्रममा उनले बताएका थिए ।

यस वर्ष बेनीघाट रोराङले चिउरीको विरुवा खरिद तथा ढुवानीका लागि ४ लाख, चिउरी विरुवा नर्सरी स्थापनाका लागि ३ लाख, सामाग्री, प्रकाशन, उत्पादन, पाठ्यक्रमको विकासका लागि १ लाख, संरक्षणका लागि बालक्लव १ लाख र विविधमा खर्च ४५ हजार खर्च गर्ने तयारी गरेको छ ।