धादिङ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङबाट एसईई दिएकी शिल्पा श्रेष्ठले ४ जिपीए सहित उतिर्ण भएकी छिन् । देश भरिबाट ४ जिपीए ल्याउने १८६ जना मात्रै छन् ।
न्यू किबो बोर्डिङबाट एसईईमा सहभागी ३० जना सबै उतिर्ण भएको प्रिन्सिपल प्रयास रेग्मीले धादिङपोष्टलाई बताए । प्रिन्सिपल रेग्मीका अनुसार न्यू किबोबाट ३० जना विद्यार्थीले एसईई दिएका थिए जसमा ४ जिपीए ल्याउने १ जना, ३.६ जिपीए ल्याउने १२ जना, ३.२ जिपीए ल्याउने १२ जना र २.८ जिपीए ल्याउने ५ जना रहेका छन् ।
धादिङबाट सामुदायिक तथा संस्थागत गरी ४ हजार ९११ जना विद्यार्थीहरु सहभागी थिए ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरे सँगै कुल विद्यार्थी मध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।