अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२ को बजेटमा खेल पूर्वाधारका लागि एक अर्ब ३० करोड बजेट विनियोजन गरेका छन् । अर्थमन्त्री पुनले युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । आर्थिक वर्ष ०८०/०८१ मा खेलकुद क्षेत्रको बजेट २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो । गत आर्थिक वर्षको तुलनामा यसपटक खेलकुदमा ६२ करोड ४१ लाख रुपैयाँले वृद्धि भएको हो ।
खेलकुद मन्त्रालयले आर्थिक वर्ष ०७६/७७ मा पछि यसपटक ठूलो आकारमा बजेट पाएको हो । चार वर्षअघि मन्त्रालयले तीन अर्ब ९९ करोड आठ लाख रुपैयाँ बजेट पाएको थियो । मन्त्रालयको बजेटमध्ये ८५ प्रतिशत खेलकुद क्षेत्रमा र १५ प्रतिशत युवालक्षित कार्यक्रममा रहेको छ । संसद्को दुवै सदनलाई मंगलबार सम्बोधन गर्दै पुनले मूलपानीको क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण कार्य अघि बढाउने बताएका छन् । भरतपुरको गौतम बुद्ध, त्रिवि क्रिकेट मैदान र धनगढीको फाप्ला रगंशालाको स्तरोन्नतिलाई पनि बजेटमा समेटिएको छ ।
यसै वर्ष कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले बजेट छुट्याइएको छ । सुर्खेतमा हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पुनले बताए । राष्ट्रिय खेलकुद मंसिर २ देखि ९, २०८१ सम्म हुने यसअघि घोषणा गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आर्थिक वर्ष ०८१–८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटप्रति सन्तुष्ट जनाएका छन् । ‘गत वर्षको तुलनामा यसपटक खेलकुदमा केही वृद्धि भएको छ,’ घिसिङले भने, ‘यसलाई हामीले सकारात्मक
रूपमा लिनुपर्छ ।’
यद्यपि, कुल बजेटको एक प्रतिशत खेलकुद क्षेत्रमा हुनुपर्ने माग यथावत् रहेको उनले बताए । ‘हामीले सरकारको कुल बजेटको एक प्रतिशत हिस्सा खेलकुदमा हुनुपर्ने सुझाव राख्दै आएका छौँ,’ उनले भने । कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरकारले बजेट नै छुट्याउँदा प्रतियोगिता हुने निश्चित भएको घिसिङले विश्वास दिलाएका छन् । ‘दसौँका लागि एउटा बजेट निश्चित भएको छ । यसले अब प्रतियोगिता हुने निश्चित भएको छ,’ उनले भने, ‘प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने प्रतियोगिता अहिले बल्ल १०औँ संस्करण हुँदै छ, प्रतियोगिता नियमित हुन नसक्नु कारण पनि बजेट नै जस्तो लाग्छ ।’
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सरकारले खेल क्षेत्रमा छुट्याइएको बजेटलाई सकरात्मक रूपमा लिएको बताएका छन् । विष्टले अन्तर्राष्ट्रिय क्षेत्रमा पदक प्राप्त गर्न सक्ने प्रतियोगिता लक्षित हुन नसकेको जनाए । ‘अहिले आएको बजेट सकरात्मक रूपमा लिएको छु तर, दक्षिण एसियाली खेलकुद, एसियाड तथा ओलम्पिक खेलकुद प्रतियोगितामा पदक जित्ने अनुरूप योजना समावेश नभएको देखिएन,’ उनले भने ।
परम्परागत खेललाई सम्बोधन
सरकारले नेपालको परम्परागत खेललाई संरक्षण गर्दै इमर्जिङ खेलको रूपमा विकास भइरहेको इस्पोर्टलाई पनि समेटेको छ । बाघचाल, डन्डिबियो, घोडचढीजस्ता खेल प्रवद्र्धन गर्ने विषय बजेटमा समावेश भएको छ । आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्टस् आयोजना गर्ने पनि बजेटमा उल्लेख छ । ‘सरकारले इस्पोर्टस् र परम्परागत खेललाई पनि बजेटले समेटेको छ, यो सकारात्मक पक्ष हो’, राखेपका सदस्यसचिव घिसिङले भने । बजेटमा आगामी आर्थिक वर्षमा नेपालमा ८० वटा राष्ट्रिय खेलकुद आयोजना गर्ने जनाएको छ । बजेटमा जापानमा हुने २० औं एसियन खेलको तयारी तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालक्षित कार्यक्रम समावेश भएको उल्लेख छ । नयाँ पत्रिकाबाट