आज जौँको सातु र सर्वत खाएर अक्षय तृतीया मनाईदै

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हिन्दू समुदायले आज जौँको सातु र सर्वत खाएर यस पर्व मनाउने गर्दछन् । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास गरिन्छ ।

जति बढी भोका र तिर्खाएका व्यक्तिलाई सातु र सर्वत खुवाइन्छ, त्यति नै बढी पुण्य पाइने हिन्दू विश्वासले आज हिन्दू मैथिल बाटोमा बसेर सातु र सर्वत बटुवालाई खुवाउँछन् । यस पर्वमा गरिबलाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा छ ।

भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ । वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो ।

धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह भएको पनि मानिन्छ । त्यसैले आज गरेको स्नान, दान र शुभ कर्मको विशेष महत्व छ ।

आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ ।