धादिङ । बागमती प्रदेश सरकारको चेपाङ समुदायको उत्थानका लागि चिउरी चमेरो संरक्षण कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका -२०८० अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकाले यो वर्षका लागि ९ लाख ४५ हजार खर्च गर्ने गरी कार्यविधि सार्वजनिक गरेको छ ।
प्रेदेश सरकारको ७ लाख ७५ हजारमा पालिकाले २०% थप गरी उक्त वजेट यो वर्ष चिउरी र चमेरो संरक्षणका लागि खर्च गरिने पालिका प्रमुख कृष्णबहादुर थपलिया विवेकले बताए । चिउरी र चमेरो संरक्षणका लागि विशेष योजना आगामी वजेटमा नीती तथा कार्यक्रममा महत्वका साथ राख्ने उनले बताए । चिउरी मात्रै लगाएर हुन्न, चमेरो भएन भने चिउरी फल्दैन परागसेचन नै चमेरो र मौरीले गर्ने हुँदा चिउरी र चमेरो संरक्षण गर्न लागिएको प्रमुख थपलिया बताउँछन् ।
एक घर एक चिउरी -थपलिया
एक घर एक चिउरीको बोट अवधारण बनाउँदै छौं । चिउरी नरोप्ने चेपाङलाई गाउँपालिकाबाट प्रवाह हुने सेवाबाट बञ्चित गरिने समेत उनले बताए । चिउरी र चमेरो चेपाङ समुदाय र बेनीघाट रोराङको पहिचान हो । चिउरी र चमेरो संरक्षणका लागि अब पालिका सरकार निर्मम बन्छ । चिउरीको विरुवा लगाउनै पर्छ भने चमेरो मार्न पाईदैन उनले बताए ।
यो वर्ष ५ हजार विरुवा लगाउँदैं छौं –घिमिरे
प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरेका अनुसार वर्षका लागि ५ हजार विरुवा पालिकाले १० वटै वडाका चेपाङ समुदायलाई प्रदान गरिने छ । वर्ष देखि पालिका आफैले नर्सरी बनाएर सामुदायीक वन पाखा पखेरा जहा चिउरी हुन्छ त्यहाँ पठाईने उनले बताईन् ।
चिउरी र चमेरो संरक्षण कार्यविधि सार्वजनिककार्यक्रममा चेपाङ अगुवाहरुको सहभागिता रहेको थियो । कार्यविधिमा विरुवा खरिद तथा ढुवानीका लागि ४ लाख, चिउरी विरुवा नर्सरी स्थापनाका लागि ३ लाख, सामाग्री, प्रकाशन, उत्पादन, पाठ्यक्रमको विकासका लागि १ लाख, संरक्षणका लागि बालक्लव १ लाख र विविध खर्च ४५ हजार खर्च हुने जनाईएको छ ।