नीलकण्ठमा ३२५ नयाँ विद्यार्थीको कोटा, मर्ज सँगै भर्नामा सिण्डिकेट

Avatar photo
नारायण सिलवाल
बिहिबार, बैशाख ६, २०८१

धादिङ । नीलकण्ठ नगरपालिकाले सदरमुकाममा रहेका दुई ठुला (नीलकण्ठ मावि र बालमन्दिर मावि) सहित इजारा अविलाई मर्ज गरे सँगै नीलकण्ठ ३ मा अब एउटा मात्रै सरकारी मावि रहेको छ । वडामा भएको एउटा मात्रै सरकारी माविमा पनि नयाँ विद्यार्थी भर्नामा कोटा तोकिदा अभिभावकहरु निजी स्कुलमा जानु पर्ने वाध्यता जवरजस्त पैदा भएको छ ।

बैशाख १ गते नीलकण्ठ नगरपालिकाले सरदमुकामका दुई ठुला मावि सहित तीन विद्यालय मर्ज गरी शिक्षामा ऐतिहासिक काम गरेको नगर प्रमुख भिमप्रसाद ढुङ्गाना र उप प्रमुख दिपक विश्वकर्माले दावी गरेका थिए । मर्ज पछि विद्यालयको नामाकरण समेत हुन नसकिरहेको बेला अहिले विद्यार्थी भर्नामा समस्या देखिएको छ । विद्यालयको भौतिक पूर्वाधार र शिक्षक दरवन्दीका कारण जनाउँदै अहिले ३२५ जना नयाँ विद्यार्थी मात्रै भर्ना गरिने जनाईएपनि ६ सयको हाराहारीमा नयाँ विद्यार्थीले आवेदन फर्म भरेका छन् । उनीहरु मध्य बैशाख ७ गते कोटा अनुरुपको विद्यार्थी छनोट गरिने बताईएको छ ।

सदरमुकाम बस्ने बाहेक अरुको फर्म एसेप्ट गरिएको छैन । अन्यलाई आफू नजिकको सरकारी विद्यालयमा पढ्नु भन्दै फर्म फर्काईने गरिएको छ । पुराना र नयाँ ३२५ जना विद्यार्थीलाई कक्षा १ देखि ५ सम्म बालमन्दिरमा र ६ देखि १२ सम्म हालको नीलकण्ठ माविको भवनमा पढाईने तयारी गरिएपनि अझै कक्षा कोठाको अभाव सँगै शिक्षक अपुग रहेको बताईएको छ ।

विद्यालय मर्ज हुँदा १७ जना शिक्षकको जागरि गएको छ भने ३४ जना चाहिनेमा ५ जना मात्रै नगरपालिकाले स्थायी शिक्षक पठाएको छ । यस्तो स्थीतिमा नयाँ विद्यार्थी भर्ना कोटा तोक्न वाध्य भएको नीलकण्ठ माविका प्रधानाध्यापक ध्रुव अधिकारी बताउछन् । शिक्षक छैनन्, कक्षा कोठा छैन त्यसैले हाल अरु विद्यार्थी थप्न नसकिने उनी बताउँछन् ।

भौतीक पूर्वाधार र शिक्षक व्यवस्थापन विनै नीलकण्ठका प्रमुख/उप प्रमुखले भने जस्तै यो ऐतिहासिक निर्णय किन भयो ? सरकारीमा आफ्ना नानी बाबुलाई पढाउँछु भन्दा पनि हामीलाई बन्चित गरिएको भन्दै विरोध सुरु भएको छ भने बालमन्दिरका अभिभावकहरुले विद्यालय मर्जको निर्णय खारेजीको माग गर्दै धादिङबेसी सदरमुकाममा विरोध पर्दशन समेत गरेका छन् । फाईल तस्वीर