मुख्यमन्त्री जम्कट्टेलद्वारा ढोला मण्डलीमाईको पुजा

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख ४, २०८१

धादिङ । आफ्नो भाकल अनुसार बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ ज्वालामुखी गाउँपालिका स्थित ढोला मण्डलीमाईको मन्दिरमा पाठी बलि दिएर पुजा सम्पन्न गरेका छन् ।

हरेक मंगलबार पाठीको वली दिईने यस मन्दिरमा आज मुख्यमन्त्री जम्कट्टेल बिहानै पुजा आजा गर्न पाठी सहित मन्दिर पुगेका थिए । स्रोतका अनुसार आज पहिलो बलि नै मुख्यमन्त्रीको भाकलको पाठी रहेको थियो ।

ढोला मण्डली बारे जनाकारी
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । करिब वि. सं. १७५० साल ताका ढोला मण्डली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो । रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।

रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो । अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे ।

त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यसपछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ । त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खान नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।

कसरी पुग्ने ढोला मण्डलीमाईको मन्दिर
मण्डली जाने आउने ३ वटा बाटोहरू रहेका छन् । पहिलो बाटो धादिङबेसी, धौखोला हुँदै मण्डलीसम्म आइपुग्छ । दोस्रो बाटो गाउँ हुँदै झर्ने पुरानो बाटो हो भने तेस्रो बाटो मुरलीभन्ज्याङ हुँदै मण्डलीमाईको थानसम्म आउने गर्दछ । यहाँ जानआउन मोटरबाटोको प्रयोग गर्न सकिने र जिल्ला सदरमुकामबाट ८ किमीको दूरीमा रहेको छ ।