धादिङ मंसिर २१ । धादिङको ज्वालामुखी गाउँपालिका स्थित ढोला मण्डली माईको प्रसाद ग्रहणका लागि पूर्व सभामुख एवम् माओवादी केन्द्रका स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा ढोला पुगेका छन् ।
हरेक मंगलबार पाठी बलि चढाई पुजा गरिने यस मन्दिरमा चढाईएको पाठीको मासु महिलाले खान नहुने, ढोला भन्दा अन्यत्र लगेर खान नहुने अनौठो चलन रहेको यस मन्दिरमा उच्च स्तरको नेता सहभागि भएको यो पहिलो पटक भएको दावी गरिएको छ ।
कस्को भाकल पुरा गर्न कस्ले मण्डली माईको मन्दिरमा वलि दिन लगेको थियो र प्रसाद ग्रहण गर्न उनी गएका हुन्, नखुले पनि महरा ढोला मण्डलीमाईको प्रसाद ग्रहणका लागि गएको जिल्ला प्रहरी कार्यालय धादिङले पुष्टि गरेको छ ।
माओवादी केन्द्रका उच्च स्तरका नेताकृष्ण महरा कालुपाण्डे राजमार्ग हुँदै ढोला पुग्दा पनि धादिङका अधिकाँश नेताहरु महरा आएको बारे अनविज्ञ छन् । किन महरा धादिङका नेता तथा कार्यकर्तालाई थाहा नदिई सुटुक्क मण्डली खान पुगे खुलेको छैन ।
ढोला मण्डली बारे जनाकारी
ढोला मण्डली थानको आफ्नै किम्वदन्ती छ । करिब वि. सं. १७५० साल ताका ढोला मंडली थानको वरीपरी रहेको जंगलमा रुख काट्न गएका एकजना सिकर्मीले रुख कट्न खोज्दा रुख काटिएन । जती प्रयास गर्दा पनि रुख काटिएन बरु बञ्चरो नै बाङ्गो भयो । रुख नकाटिए पछि हैरान भएर उनी घरतिर लागे । अर्को दिन बञ्चरो मर्मत गरेर पून रुख काट्न गएका उनले अचम्मको दृश्य देखे । उनले जुन रुख काट्ने भनेर बञ्चरो हिर्काएका थिए, त्यो रुखबाट रगत बग्न थाल्यो ।
रुखबाट रगत वगेको देखेर उनी डराउदै घर फर्किए । राती सपनामा कसैले उनलाई भन्यो, ‘म ढोला मण्डली माई हुँ, तिमीहरुले मेरो अपमान गरेका छौ, यदी मेरो सम्मान गर्ने हो भने हरेक मंगलबार पाठीको वली चढाउ’ । सपनाको कुराले ति सिकर्मीको होस हवासै उढ्यो । अर्को दिन उनी बिहानै मन्दिर भएको ठाउमा पुगे ।
त्यहाँ उनले मन्दिरको छेउमा रहेको पीपलको रुखमा बेरिएर रहेको अवस्थामा एउटा सर्प देखे । सर्प देखे पछि उनी झस्किए । त्यस पछि उनलाई सपनाको कुरा पुरै विस्वास भयो । त्यही सर्प नै देबी रहेछ । त्यो घटना पछि हरेक मंगलबार मंन्दिरमा पाठीको बली चढाइने गरेको त्यहाँ काटिएका पाठीको मासु महिलाले खानै नहुने र घरमा समेत लैजान नमिल्ने चलन छ ।
(यस समाचारमा महरा सँगै विना मगर पनि ढोला मण्डली मन्दिर गएको भनेर उल्लेख गरिएको उल्लेख गरिएको थियो । तर विना मगर सहभागि नभएको पुष्टिभएकोले अहिले सच्याईएको छ । सम्पादक) फाईल तस्वीर