एसइईमा चोरी, एक हजार मोबाइल बरामद

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १९, २०८०

काठमाडौं । आचारसंहिताविपरीत एसइईको परीक्षा हलमा मोबाइलै बोकेर जाने र चिट चोर्ने गरेको डरलाग्दो प्रवृत्ति देखिएको छ । ‘डिजिटल’ चिट चोरीका घटना प्रश्नपत्रको गोपनीयता र अनुशासित परीक्षाका लागि चिन्ताको विषय हो । यसबाहेक एसइईमा अनुशासनविपरीतका अरू धेरै घटना पनि सार्वजनिक भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा दिने विद्यार्थी मात्रै नभएर त्यहाँ खटिने कर्मचारीलाई समेत मोबाइल फोनमा प्रतिबन्ध लगाएको छ । तर, कैयौँ विद्यार्थीले मोबाइल फोनबाटै चिट चोरेको पाइएको छ । उसको उदाहरण हो–परीक्षा सुरु भएयता रौटहतका विभिन्न केन्द्रबाठ एक हजार मोबाइल बरामद भएको परीक्षा बोर्डले बताएको छ ।

मधेशका अन्य जिल्लामा पनि मोबाइल फोन बोकेर जाने विद्यार्थी भेटिएका छन् । आइतबार परीक्षामा सप्तरीका केन्द्रमा मोबाइल हेरेका ७१ परीक्षार्थी परीक्षा हलबाट निकालिएका छन् । परीक्षा सुरु भएयता तीन दिनमा सिराहा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट दुई सय ५२ थान मोबाइल र २१ थान स्मार्ट घडी बरामद भएको छ । नक्कली परीक्षार्थीसहित तीनजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । १६ चैतमा नै सिराहाकै जनता मावि गोलबजारमा एक विद्यार्थीको मोबाइलबाट प्रश्नपत्र बाहिरिएको भेटिएको छ ।

करिब १५ हजार विद्यार्थी अनुपस्थित
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा निरीक्षक नन्दलाल पौडेलका अनुसार यसपटक एसइईमा ३.५४ प्रतिशत (करिब १५ हजार) विद्यार्थी अनुपस्थित छन् । ‘यसपटक देशभरका विद्यालयका कक्षा १० मा भर्ना भएका विद्यार्थी संख्या पाँच लाख चार हजार ४१४ हो । यसमध्ये रजिस्ट्रेसन फारम भर्ने विद्यार्थी संख्या र प्रवेशपत्र लिने विद्यार्थी संख्या चार लाख ७५ हजार मात्रै हो । तर, त्यसमध्ये पनि १५ हजार विद्यार्थी परीक्षामा अनुपस्थित छन्,’ उनले भने, ‘कामको खोजी र पारिवारिक समस्याका कारणले उनीहरू परीक्षा दिनबाट वञ्चित भएका हुन सक्छन्,’ परीक्षा बोर्डले ती विद्यार्थीको अनुपस्थितिबारे सोधखोज थालेको छ । नयाँ पत्रिकाबाट