आऊ जाग जगाउ सभ्य समता

Avatar photo
Dhadingpost
बिहिबार, चैत्र ८, २०८०

त्यत्रो युद्ध भयो गयो समरको, बिक्छौँ त्यसैका भर
पायौँ शुद्ध घडा खडा पियुषको, भन्ने त कौनै छ र ?
टुक्रामा रमिता सदैब रहने, भन्ने कतै क्यै छ र ?
यस्तै चाल रह्यो भने जगतमा, बन्दैन हाम्रो घर

माओवाद थियो कसी रहरको, कानूनको के थियो ?
आस्था युद्ध थियो बिचार कसिलो, मुद्धा यसैको थियो
हाम्रो शान थियो मीयो समरको, सज्जा थियो सुन्दर
के भो आज फणा ढले पछि कठै ?, बन्दैन हाम्रो घर

नारीका भर भै दलीतहरुको, साथी भएकै बेला
लाखौँ दीनदुखि असायहरुको, साथी भएकै बेला
जो सम्मान हिजो थियो जगतमा, आस्था थियो सुन्दर
आस्था आज कहाँ गयो के हुन गो, बन्दैन हाम्रो घर

सच्चा नीति नयाँ बिचार बलियो, नेतृत्वको साथ थ्यो
जस्तै बज्र परोस् सहेर घरमा, भतृत्वको साथ थ्यो
आफ्नै भाइ फुटे, जुटौँ न नफुटौँ ! भन्दैन कोही तर
लुट्नेले लुटिगो लुटेर फुटिगो, बन्दैन हाम्रो घर

हाम्रो नीति छँदै थिएन धनको, थुप्रो बनाई दिने,
हाम्रो नीति छँदै थिएन सुनकै, झुप्रो बनाई दिने
मौकामा सुनका महल छ जसको, त्यै माथि नै छन् तर
यस्तै हाल रहे अनन्त तकमा, बन्दैन हाम्रो घर

आऊ जाग जगाउ सभ्य समता, जुट्दै नयाँ ढङ्गले
आऊ हात समाउ बृद्ध जनको, सेवा गरौँ शौखले
त्यत्रो युद्ध बिसाइ शान्ति सँगले, बस्दै गरेको पल
शिल्पी सीप कला विकास भरिद्यूँ, होस् भावना निर्मल

नेपाली जनप्रगतिशील मञ्च युरोप महाधिवेशन २०२४ को अबसरमा सिर्जना रफवाचन गरिएको