एमाले बैठक २२ प्रस्ताव पारित गर्दै सकियो

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ११, २०८०

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक बिहीबार समापन भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले पार्टी जीवनमा दूरगामी प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्दै विभिन्न समसामयिक २२ प्रस्तावहरू पारित गरेको छ ।

बैठकको निर्णयमा गठबन्धन सरकारको राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरु सङ्कटग्रस्त बन्दै गएको, मुलुकको अर्थतन्त्र मन्दीमा फँस्दै गएको, मुलुक तस्करी र भ्रष्टाचारको गहिरो दलदलमा फँस्दै गएको उल्लेख छ ।

यसैगरी, ललितपुरको बालकुमारीका दोषीहरुलाई कारबाही गर्न, मृतकहरुका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ भने मिटरब्याज पीडितहरु न्यायको बैठक मिटरब्याज पीडितहरुका मागहरुप्रति ऐक्यबद्धता जाहेर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विभिन्न स्थानहरुमा भइरहेको सहकारी सदस्यहरु र लघुवित्त पीडितहरुको आन्दोलनप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । बैठकले दुग्ध उत्पादक किसानहरुका समस्याहरु अविलम्ब समाधान गर्न र जलवायु परिवर्तनका असरहरुबाट नागरिकहरुको रक्षा गर्ने विषयमा गम्भीर कदम चाल्न माग गरेको छ ।

बैठकमा नौ समूहको छलफलबाट निकालिएका निष्कर्षलाई सुझावका रूपमा प्रस्तुत गरिएको जानकारी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले छ ।

स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेसबाट चन्द्रेश्वर मण्डल, बागमतीबाट कैलाश ढुङ्गेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ–आफ्नो समूहको तर्फबाट सुझाव प्रस्तुत गर्नुभएको थियो ।

सुझावमा प्रमुख प्रतिपक्षी दलको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन र विकास र समृद्धिको जनताको चाहनालाई मूर्त रूप दिन संसद र सडकबाट जनतालाई अनुभूति हुने गरी भूमिका निर्वाह गर्नुपर्नेलगायत रहेका छन् । बैठकमा पार्टी अनुशासन, आर्थिक पारदर्शिता, नैतिक आचरणका विषयहरू कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिइएको छ ।

बैठक समापनमा अध्यक्ष ओलीले भन्नुभयो, ‘‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराले दृढ अठोट र राष्ट्रिय सङ्कल्प बोकेको छ । नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा माथि उठाउन सङ्कल्प गर्नुपरेको छ ।’’ उहाँले एमालेको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरूपमा कार्यान्वयन गर्न बैठकलाई आह्वान गर्नुभयो ।

यसैगरी, महासचिव शंकर पोखरेलले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै बार्षिक कार्ययोजना कार्यान्वयनको तहमा छौं, पार्टी सदस्यता नवीकरण, व्यवस्थित पार्टी स्कुल सञ्चालन, प्रचार काम व्यवस्थापन, जनप्रतिनिधिहरूको कामको संयोजन, संसदीय फाँटको कामको संयोजन, कार्यालय व्यवस्थापन, शुद्धिकरणको प्रभावकारिता, नयाँ पुस्तामा पार्टी कामको विस्तार, हिरक महोत्सवको व्यवस्थापन, कार्यालय भवन निर्माण र आगामी उपनिर्वाचनका तयारीका विषयमा नीतिगत निर्देशन दिनुभएको थियो । गोरखापत्रबाट