स्वमूल्याङ्कनमा बेनीघाट रोराङ देशभरमा दोस्रो

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३, २०८०

धादिङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि अनुसार स्वमूल्यांकनमा धादिङको बेनीघाट रोराङ ९९.७५ प्रतिशत अंकका साथ ७५३ स्थानीय तह मध्य द्वितिय भएको छ भने धादिङकै नीलकण्ठ नगरपालिका ९७ प्रतिशत अंकका साथ पाँचौं भएका छन् ।

प्रथम मधेश प्रदेशको महोत्तरी गाउँपालिकाले १०० प्रतिशत अंकका साथ देश कै पहलिो बन्यो भने धादिङको बेनीघाट रोराङ द्वियि हुँदा खैरहनी नगरपालिका चितवन ९८.५ अंकका साथ तृतिय, रत्ननगर नगरपालिका चितवन ९८ अंकका साथ चौंथो हुँदा धादिङ कै नीलकण्ठ नगरपालिका पाँचौं भएको हो ।

कसरी हुन्छ मूल्यांकन ?
स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंबाट गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७’ जारी गरेको थियो । कार्यविधिले स्वमूल्यांकनका विभिन्न १० वटा विषयक्षेत्र र तीन सूचक निर्धारण गरेको छ । ती विषयक्षेत्र र सूचकहरूमा स्थानीय तह स्वयंले आफ्नो स्थिति मूल्यांकन गर्छन् ।

कार्यविधिमा टेकेर मन्त्रालयले लिजा प्रणाली विकास गरेको थियो । कार्यविधिले निर्धारण गरेका विभिन्न सूचकहरूमा आफ्नो स्थिति स्थानीय तह स्वयंले प्रणालीमा प्रविष्ट गर्न सक्ने गरी प्रणाली विकास गरिएको छ । यसका लागि सबै स्थानीय तहलाई अलगअलग युजर र त्यसको ‘लगइन पासवर्ड’ दिइएको छ । सम्बन्धित कार्यपालिकाबाट निर्णय गराएर कार्यविधिमा तोकिएका सूचकमा अंकभार निर्धारण गरी स्थानीय तहले सफ्टवेयरमा विवरण अपलोड गर्छन् ।

स्थानीय तहले आफैँ गरेको मूल्यांकनको गुणस्तर परीक्षण गर्ने व्यवस्था पनि छ । स्थानीय तहले गरेको स्वमूल्यांकन नतिजाको गुणस्तर सुनिश्चितता परीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आफैँ, सम्बन्धित जिल्ला समन्वय समिति वा तेस्रो पक्षलाई जिम्मेवारी दिए गर्न सक्ने व्यवस्था कार्यविधिमा छ ।

स्वमूल्यांकनका लागि समयसीमासहित कार्ययोजना नै कार्यविधिमा उल्लेख छ । जसअनुसार १५ मंसिरभित्र स्वमूल्यांकनको प्रारम्भिक नतिजा तयार गर्ने, मंसिर मसान्तभित्र प्रारम्भिक नतिजा पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने र जिससबाट प्राप्त पृष्ठपोषणसमेत मिलाएर तयार भएको प्रारम्भिक नतिजा प्रमुख प्रशासकीय अधिकृतले छलफलका लागि १५ पुसभित्र कार्यपालिकामा पेस गर्ने व्यवस्था छ । पुस मसान्तभित्र कार्यपालिकाबाट अनुमोदन गरी पुस मसान्तभित्रै स्वमूल्यांकनको अन्तिम नतिजाको समग्र समीक्षा गर्ने र कार्यपालिकाबाट अनुमोदन भएको सात दिनभित्र मूल्यांकनको नतिजा कार्यालयको वेबसाइटमा राख्ने तथा सूचनापाटीमा प्रकाशन गर्नुपर्छ । यसको समयसीमा माघ पहिलो सातासम्म छ । स्वमूल्यांकनपछि त्यसको नतिजा लगत्तै बस्ने गाउँ/नगरसभामा जानकारीका लागि पेस गर्ने व्यवस्था कार्यविधिमा छ । स्वमूल्यांकन नतिजा प्रणालीमा प्रविष्ट गरी सार्वजनिक रूपमै हेर्न मिल्ने बनाइएको छ । लिजाको सफ्टवेयर प्रणाली एकैचोटि सबै स्थानीय तहको स्वमूल्यांकन हेर्न मिल्ने गरी विकास गरिएको छ ।

यस्ता छन् मूल्यांकनका सूचक र विषयक्षेत्र
स्वमूल्यांकनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वय छन् । यी छुट्टाछुट्टै विषयक्षेत्रहरूको अलगअलग पूर्णांक तोकिएको छ ।

यी प्रत्येक विषयक्षेत्रलाई तीनवटा सूचकमार्फत मूल्यांकन गरिन्छ । ती सूचकहरू समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति छन् । समग्र स्थितिमा स्थानीय तहको समग्र अवस्था दर्शाउने सूचक, प्रक्रियागतमा स्थानीय तहको दैनिक प्रशासन र सेवा प्रवाह तथा स्थानीय सरोकारका विषय सम्बोधन हुने खालका प्रक्रियाउन्मुख सूचक र परिमाणात्मकमा तुलना गर्न, मापन गर्न र संख्यात्मक रूपमा उल्लेख गर्न सकिने प्रकृतिका नतिजामूलक सूचकहरू पर्छन् । यी सूचकहरूलाई क्रमशः २१, ३४ र ४५ प्रतिशत अंकभार दिइएको छ ।स्वमूल्यांकन नतिजालाई स्थानीय तहको कार्यसम्पादन सूचकको आधारको रूपमा समेत उपयोग गर्न सकिने व्यवस्था कार्यविधिमा छ ।