धादिङका श्याम र आरम्भ बागमती प्रदेशको जारी पीएम कप छनोटमा

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २०, २०८०

धादिङ । धादिङ जिल्लाका दुई खेलाडी श्याम त्रिपाठी र आरम्भ तिमल्सिनाले फरक-फरक जिल्लाबाट छनोट भई बागमती प्रदेशको पीएम कप छनोट खेलिरहेका छन् । श्यामले त्रिभुवन युनिभर्सिटीबाट र आरम्भले भक्तपुर जिल्लाबाट प्रदेश छनोटका लागि खेलिरहेका हुन् ।

श्याम त्रिपाठी को हुन् ?
श्याम त्रिपाठी धादिङ जिल्ला क्रिकेट संघको सिनियर खेलाडी हुन् । बेनीघाट रोराङ गाउँपालिका निवाससी उनले सन् २०१४ बाट क्रिकेट खेल्न थालेका हुन् । उनले हाल सम्म साना ठुला गरी १०० भन्दा बढी प्रतियोगिता खेलि सकेका छन् । यु १९ को राष्ट्रिय टिममा समेत परेका श्यामले २०१५, १६ र १७ मा पोखराबाट खेले । एपीएफबाट समेत खेलेका उनले एपीएफबाट खेल्दा उनीको टिमले फाईनल खेलेको थियो । यस्तै श्यामले बागमती प्रदेश स्तरीय प्रतियोगितामा धादिङबाट नियमित खेल्दै आएका छन् ।

आरम्भको क्रिकेट
धादिङ सिद्धलेकका गाउँपालिका निवासी आरम्भ तिमल्सिना जारी बागमती प्रदेशको पीएमकपका लागि भक्तपुरबाट छनोट भएका हुन् । २०७६ सालमा स्कुल क्रिकेट लिगबाट खेल्न सुरु गरेका उनले अहिले सम्म सानाठुला गरी पाँच दर्जन भन्दा बढी क्रिकेट प्रतियोगिता खेलि सकेका छन् । उनी ओसिस क्रिकेट एकेडेमीबाट यू-१४ र यू-१६ च्याम्पियन बन्न सफल भएका थिए । बागमती प्रदेश स्तरीय प्रतियोगितामा धादिङबाट नियमित खेल्दै आएका छन् ।

बागमती प्रदेशको पीएम कप छनोट दुई ग्रप बनाएर काठमाडौंको मुलपानी मैदान र चितनको गौतमबुद्ध रंगशालमा जारी छ । फाईनल पुस २४ गते चितवनमा हुने छ । धादिङले क्यानको सदस्यता प्राप्त नगरेका कारण यस प्रतियोगितामा भाग नपाएका कारण धादिङका खेलाडीहरु अन्य जिल्लामा छनोटको लागि जानु परेको थियो ।