एक वर्ष पहिले: मेरो बाबु ! लाऊ यो मोबाइल हेर अनि खाना खाऊ है !
अहिले: कत्ति मोबाइल हेरेको ? खाना खानुपर्दैन ? स्कुल जाने बेला भैसक्यो, जतिबेलापनि मोबाइलमा झुण्डेको छ, झुण्डेको छ । खुरुक्क खान खान आइज त ।
माथि उल्लेखित वार्तालापको अंश अहिले आम अभिभावकको मुखमा झुण्डिएको छ । अझ भनौँ, अहिले सबै घर–घरमा साझा समस्याको रुपमा देखिएको समस्या भनेको बालबालिकामा मोबाइलको बढ्दो प्रयोग हो ।
पेशाले म एक शिक्षक । सामुदायिक विद्यालयका बालविकास (ECD) देखि कक्षा १० सम्मका बालबालिकाहरु र उनीहरुका अभिभावकहरुसँग दैनिक रुपमा साक्षात्कार गरिरहनु पर्ने हुन्छ । सबैजसो अभिभावकको गुनासो भनेकै छोराछोरीले पढेनन्, चौबिसै घण्टा मोबाइल मात्र चलाइ राखे भन्ने हुन्छ । अझ गत वर्ष एक जना कक्षा १० मा पढ्ने विद्यार्थीको अभिभावकको गुनासो थियो, ‘मेरो छोराले स्कुलबाट जाने बित्तिकै झोला फालेर कोठामा पस्छ, मोबाइल चार्जमा राखेर नै चलाउन, गेम खेल्न थाल्छ । यतिसम्म कि खाना खाने बेलामा समेत भान्सामा आउँदैन, थालमा हालेको खाना लिएर कोठामा नै जान्छ । हामीले हाम्रो छोराको अनुहार समेत राम्रो सँग देख्न पाएनौँ । लौ न सर स्कुलमा तपाईँहरुले यसो गाली गरिदिनु पर्यो ।’
सुरुवातमा मैले उहाँको कुरा गम्भिर भएर सुनेँ, अनि बिस्तारै बोलेँ, ‘बाबुलाई मोबाइल कसले किनिदिएको हजुर ?’ उहाँले भन्नुभयो, ‘किन्न त हामीले नै किनेर दिएका हौँ । पहिले त हामीले भनेको मान्थ्यो, तर अहिले छोरा हामीले भनेको सुन्दै नसुन्ने भयो ।’
मैले २०५९ सालमा सूर्यज्योति मा.वि.बाट एसएलसी परीक्षा दिँदा समेत प्रविधिको नाममा हाम्रो हातमा मुस्किलले एउटा साइन्टिफिक क्याल्कुलेटर हुन्थ्यो । त्यो पनि अत्यन्तै कठिनताका साथ हामीले प्राप्त गरेका हुन्थ्यौँ । कक्षा १० को फाराम भर्नलाई फोटो खिच्न समेत ५/६ घण्टा लगाएर गोरखा सदरमुकाम सम्म आउनुपर्ने बाध्यता थियो ।
तर अहिले समय बदलिएको छ । हिजो मुस्किलले घरमा रेडियो नहुनेहरूको घरमा पनि छोराछोरीहरुको हातहातमा स्मार्ट फोन र ल्यापटप आइसकेको छ । समयको परिवर्तनसँगै विश्वमा सूचना तथा सञ्चार प्रविधिमा विज्ञानले अचम्मैको फड्को मारिसकेको छ । तर प्रविधिले फड्को मारेर ठुलो परिवर्तन भइसकेको अवस्थामा हामी अभिभावकहरु के कति परिवर्तन भएका छौँ त ? हामीले हाम्रा बालबालिकाहरुलाई समय सापेक्ष हुर्काउन बढाउन सकेका छौँ कि छैनौँ त ?
अहिले सबैको हात हातमा स्मार्ट फोन छ । विगतमा फोटो खिच्नका लागि क्यामेरा, गीत तथा समाचार सुन्नलाई रेडियो, हेर्नलाई टेलिभिजन, इन्टरनेट चलाउनलाई कम्प्युटर, हिसाब गर्नलाई क्याल्कुलेटर जस्ता अलग अलग सामाग्रीहरुको आवश्यकता पर्दथ्यो । तर सुरुवातमा ‘कुराकानी (Call) र सन्देश आदान–प्रदान (Messaging)’ का लागि तयार भएको मोबाइलमा हाल लगभग प्रविधिका सबैजसो कार्यहरू गर्न मिल्दछन् । हजार रूपैयाँ देखि लाखौँ रूपैयाँ सम्मका मोबाइल फोनहरुमा अहिले कम्पनीहरुले पत्याउनै नसकिने गरेर सेवा सुविधाहरु दिइरहेका छन् । माथि उल्लेख गरिएका कार्यहरूका लागि अब एउटा सामान्य स्मार्टफोन नै पर्याप्त भइसकेको छ ।
अबको सूचना प्रविधिको युगमा हामीले हाम्रा बालबालिकाहरुलाई चाहेर/नचाहेर पनि मोबाइलबाट टाढा राख्न सक्दैनौँ र हुँदैन पनि । विशेष गरी हामीले हाम्रा बालबालिकाहरुलाई सानैदेखि नै मोबाइलमैत्री वातावरण बनाइदिनु पर्ने हुन्छ । तर यसका लागि सुरु देखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ ।
अभिभावकको मुख्य कमजोरी के हो भने बच्चा सानो छँदा रोएको बेलामा फकाउनका लागि, खाना खान नमान्दा खेरी, कुनै कुरामा झगडा ग¥यो भने, आफुलाई काम गर्दा बिचमा आएर काममा बाधा पु¥यायो भने ‘भुलाउनका लागि’ मोबाइल दिने गर्दछौँ । तर बिस्तारै बच्चामा सबै कुरा भुलेर त्यही मोबाइलमा मात्र रमाउने बानी पर्दछ । फलस्वरुपमा उसमा विभिन्न शारीरिक, मानसिक तथा सामाजिक समस्याहरु देखिन थाल्दछन् ।
धेरै मोबाइलमा भुल्ने बालबालिकाहरुको आँखा तथा कान कमजोर हुने, शारीरिक आलस्यता हुने, अरुले बोलाउँदा र बोल्दा झर्कने लगायतका समस्याहरु देखिन थाल्छन् । बिस्तारै बच्चामा मोबाइलको लत बसेपछि मोबाइल चलाउन नपाउँदा छटपटी तथा चिढचिढाहट हुने, एकोहोरो टोलाइरहने, नबोल्ने जस्ता दीर्घकालिन समस्याहरु देखिन थाल्छन् । मोबाइलमा मात्रै केन्द्रित भएको बालबालिका अन्य बाहिरी वातावरणमा सामाजिकीकण हुन समेत समस्या देखिन्छ । साथै मोबाइल इन्टरनेटमा आउने विभिन्न अश्लिल साइटहरुको प्रयोगले बालबालिकाहरुमा आपराधिक प्रवृत्ति बढ्ने तथा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुने समेत गरेको पाइन्छ ।
बालबालिकामा मोबाइलको बढ्दो प्रयोग (दुरुपयोग) रोक्ने भनेको उनीहरुमा मोबाइल प्रयोगको सही बानी विकास गराउने नै हो । यसका लागि सबैभन्दा पहिलो काम भनेको अभिभावकले उनीहरुलाई मोबाइल चलाउन दिँदा प्रत्यक्ष निगरानीमा निश्चित समय मात्र चलाउन दिने गर्नुपर्दछ । सानो उमेरका बालबालिकाहरुका लागि मोबाइललाई ‘बच्चा भुलाउने/फकाउने साधन’ बनाउनु हुँदैन । बरु त्यसका लागि अन्य विभिन्न खेलौनाहरुको प्रयोग गराउनु पर्छ ।
त्यसमा मुख्य कुरा के हो भने अभिभावक आफै बच्चासँग बसेर खेल्नुपर्छ । बिस्तारै बच्चा ठुलो भएसँगै खेलहरुमा परिवर्तन गराउनु पर्छ साथै उनीहरुलाई दैनिक जीवनसँग जोडिएका विभिन्न क्रियाकलापहरुलाई खेलको माध्यमबाट सिकाउनु पर्दछ । उदाहरणका लागि ३/४ वर्षको एउटा बच्चालाई भाँडाकुटीको प्रयोग गरेर चिया खाना पकाई खेल्ने, पुतलीको आमा बाबा दाइ दिदी बनाउने, खाना पस्कने, खाना खानु अगाडी हात धोएको अभिनय गर्ने, खाना खानका लागि दाइदिदीलाई बोलाए झैँ गराउने कार्य गराउन सकिन्छ । हेर्दा सामान्य जस्तो लागेपनि यस्तो क्रियाकलापले बच्चालाई हात धुने देखि लिएर आदरसत्कार गर्ने सम्मका कुरा सजिलैसँग ख्यालख्यालमै खेलको रुपमा सिकाउन सकिन्छ ।
हाम्रो अर्काे समस्या के हो भने हामी चाहिँ खाटमा उपरखुट्टी लगाएर मोबाइल चलाउँछौँ, अनि बच्चालाई पढ्–पढ् भन्छौँ । आफु चाहिँ यतापट्टी कोठामा ठुलो आवाज बनाएर फिल्म हेछौँ, अनि पल्लो कोठामा छोराछोरीलाई पढेन भनेर गाली गर्छाैँ । हामीले बच्चालाई पढाउने हो भने मुख्य कुरा हामी आफुपनि पढ्नैपर्ने हुन्छ । घरमा विभिन्न कथा कविताका साहित्यिक पुस्तकहरु ल्याउने, छोराछोरीलाई साथमै राखेर उक्त पुस्तकका बारेमा छलफल गर्ने गराउने, विभिन्न चर्चित व्यक्तिका जीवनीहरु सुनाउने आदि ग¥यौँ भने उनीहरुमा बिस्तारै पढ्ने बानी बस्दछ ।
बालबालिकाहरुसँगै बसेर टेलिभिजन कार्यक्रमहरु हेर्ने, उक्त टेलिभिजनमा आएका समाचार तथा कार्यक्रमहरुका बारेमा बालबालिकासँग बसेर छलफल गर्ने गरियो भनेपनि त्यसले बालबालिकाहरुमा राम्रो प्रभाव पार्दछ । बच्चालाई निश्चित समय तोकेर मात्रै टेलिभिजन हेर्न दिने गर्नुपर्दछ । मोबाइलको प्रयोगमा पनि त्यही तरिका अपनाउनु पर्दछ । समय-समयमा बालबालिकाहरुले मोबाइलमा के कस्ता क्रियाकलापहरु गरिरहेका छन्, त्यसका बारेमा जानकारी राखी राख्नुपर्दछ । यसका साथै उनीहरुको विद्यालयमा के कस्ता साथीसंगीहरु छ्न, उनीहरुको बारेमा पनि विद्यालयमा शिक्षक तथा अन्य साथीहरु मार्फत जानकारी लिइराख्ने गर्नुपर्दछ ।
बालबालिकाहरुलाई बेलाबेलामा मोबाइलका फाइदा बेफाइदाहरुका बारेमा सम्झाइ राख्नुपर्दछ । हरेक दिन बेलुका छोराछोरी सँगै बसेर खाना खाने, खाना खाएपश्चात सबैजना एकैठाउँमा बसेर दिनभरको कार्यहरूको समीक्षा गर्ने गर्नाले एकातर्फ छोराछोरीहरुले उनीहरुका लागि बाबुआमाले गरेको संघर्ष बुझ्न थाल्छन् भने अर्का तर्फ एक अर्काबिच खुलेर कुरा गर्ने बानीको विकास भइ सामिप्यता बढ्दछ । छोराछोरीलाई डरत्रासमा होइन, मायामा राखेर साथी बनेर उनीहरुलाई नजिक राखियो भने उनीहरुले कहिल्यै गलत बाटो तर्फ पाइला बढाउन सक्दैनन ।
अभिभावकहरु भन्ने गर्नुहुन्छ, ‘मेरो छोरा÷छोरीले परीक्षामा ए प्लस ल्याएको छ, तर के गर्नु, एक गिलास पानी सारेर ल्याउ न भन्यो भने, आ… सक्दिन आफै ल्याउनु नि भन्छ’ । यसको मतलब के हो भने हामीले हाम्रा बालबालिकाहरुलाई उचित शिक्षादिक्षाका साथमा संस्कार पनि सिकाउनु जरुरी छ र यसको सुरुवात घरबाट नै गराउनु पर्दछ । विद्यालयमा केहि सिमित घण्टा कक्षाकोठामा साथी तथा शिक्षकसँग बिताएपनि बाँकी सम्पूर्ण समय बालबालिकाले घरमा नै बिताउने हुँदा उक्त समय अत्यन्तै महत्वपूर्ण हुन्छ ।
छोराछोरीहरुलाई जतिबेला पनि पढ् पढ् भन्नुको साटो निश्चित समय तालिका बनाउन लगाएर खेल्ने, भान्साकोठामा सहयोग गर्ने, आफ्नो सामान तथा कोठाहरुको सरसफाइ गर्ने, कपडा धुने, करेसाबारीहरुमा गोडमेल मलजल गर्ने, साथीसर्कलसँग छलफल तथा सामूहिक खेलहरु खेल्न प्रेरित गर्ने गराउनु पर्दछ । यस्ता हरेक क्रियाकलाप गर्दा गराउँदा अभिभावकले प्रत्यक्ष÷अप्रत्यक्ष निगरानी गर्ने, आवश्यक पृष्ठपोषण दिइराख्ने गर्नुपर्दछ । एउटा भनाई नै छ, ‘बाबु आमाको नजरमा छोराछोरी कहिल्यै ठुला हुँदैनन्’ । यसको मतलब के हो भने हामीले जहिले पनि उनीहरुलाई ध्यान दिइराखेको हुनुपर्दछ । ‘यो नगर’ भनेर भन्नु भन्दा यसो गर्दा अझ राम्रो हुन्छ भनियो भने उनीहरुमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।
हामी ६ महिना वा वर्षदिन सम्म खान पुग्ने खेतबारीको फसल त नबिग्रियोस् भनेर दिन रात खेतबारीमा जाने, पानी लगाउने, मलजल गर्ने, गोडमेल गर्ने, मुसा किराहरु लागे नलागेको ध्यान दिने गर्दछौँ भने बालबालिकाहरु भनेको त हाम्रो पुस्ता हुन्, हाम्रो भविष्य हुन् । समग्र समाज र राष्ट्रको बलियो टेको हुन् । आज उनीहरु राम्रो हुनु भनेको देशको मुहार राम्रो हुनु हो । देश विकासमा फड्को मार्ने हो भने आफ्नो घरमा भएका बालबालिकाहरुलाई उचित संस्कार तथा बानी व्यवहारयुक्त शिक्षा दिनु पर्दछ । यसका लागि हामी अभिभावकले आफ्नो घरबाट आफुबाट नै सुधार गर्न जरुरी छ ।
(लेखक सुनौलो भैरवी माध्यमिक विद्यालय, नीलकण्ठ–७, धादिङका शिक्षक हुन् )