नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ६, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरुभएको छ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले गरेका हुन् । उद्घाटन पूर्व ११ बजे बाजागाजा सहित धादिङबेसी पुछारबजारबाट र्‍याली निकालिएको थियो ।

नीलकण्ठ नगरपालिका सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यता, नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रहरी प्रमुख गौतम मिश्र,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिका संघका केन्द्रिय सल्लाहकार सरोज अधिकारी,नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला लगायतको आतिथ्यता रहेको थियो ।

जिल्ला छनोट, प्रदेश छनोट र राष्ट्रिय छनोटमा परेका खेलाडीको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने
उद्घाटन कार्यक्रममा नगर प्रमुख भिम ढुङ्गानाले जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगितामा छनोट हुने नीलकण्ठ नगरपालिकाका खेलाडी विद्यार्थीहरुको सम्पूर्ण खर्च नगरपालिकाले व्यहोर्ने घोषणा गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ससमेत रहेका ढुङ्गानाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड यो वर्षपनि नीलकण्ठले जित्नेमा आफु ढुक्क रहेको बताएका थिए ।

गत वर्ष नलिकण्ठ नगरपालिकाले माघ १३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । २७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय मध्य २१ वटा माविहरुले मात्रै भाग लिएका थिए । जसमा १७ स्वर्ण सहित नीलकण्ठ मावि प्रथम बन्यो भने बालमन्दिर ७ स्वर्ण, चन्डेश्वरी र एड्भान्स एकेडेमीले ५–५ स्वर्ण पदक जितेका थिए । गत वर्ष नीलकण्ठ नगरपालिकाबाट छनोट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता समेत जितेका थिए । फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक जित्दै प्रथम भएको थियो ।