शिक्षण नै संसारकै उत्कृष्ट पेसा

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०८०

शिक्षक शब्दमा प्रयोग भएको अक्षर  शि ले `शिखरमा लैजाने मान्छे` , क्ष ले `क्षमा गर्ने ब्यक्ति` र क ले `कमजोरी दूर गर्ने ब्यक्ति´ लाई पनि जनाउँन सकिन्छ । शिक्षक शब्द गुरु शब्दसँग समान अर्थ राख्छ। यहाँ `गुरु´ को `गु´ ले अंधकार र `रु´ ले तेज लाई जनाउँछ। ज्ञान रुपि प्रकाश दिएर अंधकारलाई हटाउने  ब्यक्ती नै गुरु मानिन्छ ।

शिक्षक त्यो हो जसले सिकाइका लागि प्रेरणा दिने,बाटो देखाउने निर्देशित गर्ने, हौसला प्रदान गर्ने  र ज्ञानलाई माया गर्ने गर्दछ । कहिले शिक्षकलाई आफू जलेर अरुलाई उज्यालो बनाउने बत्तीसगँ तुलना गर्ने गरिन्छ । कहिले नदिमा डुङ्गा खियाउने माझी जस्तै शिक्षक पनि हो भन्ने गरिन्छ । शिक्षक तीनवटा `प` प्रविधि, पेडागोजी र परिवर्तित ज्ञानको ज्ञाता हो भनिन्छ ।

संसारमा शिक्षकहरू आफ्नो पेसाप्रति गौरवबोध गर्ने गर्छन् । हामीकहाँ यसको ठीक उल्टो छ । हाम्रो समाजमा डाक्टर, इन्जिनियर, पाइलट, व्यापारी तथा अन्य पेसाकर्मीलाई आदरका रूपमा हेर्ने गरिन्छ तर शिक्षण पेसालाई हेयको दृष्टिले हेर्ने गरिन्छ । डाक्टर, इन्जिनियरलगायतका पेसाकर्मी उत्पादन गर्ने अन्ततः शिक्षक नै हुन् र शिक्षकजस्तो पवित्र पेसा अरू हुनै सक्दैन । शिक्षण पेसा एउटा तपस्या हो । एउटा बालकलाई समाज र राष्ट्रको असल नागरिक बनाउने काम शिक्षकको हो ।

एउटा शिक्षक सधैँ बालबालिका, समाज र सिकारुका लागि पथप्रदर्शक बन्न सक्नुपर्दछ । बालबालिकाको जीवन बनाउने महान् लक्ष्य लिएर अघि बढ्नुका साथै आफ्नो विषय र लक्ष्य जहिले पनि सिक्ने सिकाउने नै हुनुपर्दछ । आफूले अँगालेको शिक्षण पेसालाई संसारकै उत्कृष्ट पेसा सम्झी पेसासँग सन्तुष्टि लिन सके मात्र आदर्श शिक्षकका रूपमा स्थापित हुन सकिन्छ । शिक्षक समग्रमा सिकारुका लागि उदाहरणीय र समाजका लागि अनुकरणीय बनी प्रस्तुत हुन सक्नुपर्दछ ।

लेखक : दिपेश बसौला, मंगलादेवी मा.वि नेत्रावती डबजोङमा विज्ञान विषयको रुपमा कार्यरत छन्   । उनी पाठ्यक्रम विकास केन्द्र को विज्ञान विषयको विज्ञ समेत हुन् ।