सरकारी अनुदान लिएर घर बनाउने बागमतीमा बढी

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०८०

काठमाडौं । देशभर करिब ६० प्रतिशत घर एकतले रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जनगणनाको बाँकी विवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । नेपालभर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले रहेको उल्लेख छ । अर्थात्, देशभर ४५ लाख १७ हजार ६ सय ४५ घर एकतले रहेका छन् ।

तथ्यांकअनुसार देशभर दुईतले घर २८.७८ प्रतिशत, तीनतले घर ९.१७ प्रतिशत र चारतले घर १.३ प्रतिशत रहेका छन् । त्यस्तै, पाँचदेखि साततले घर ०.६४ प्रतिशत, ८ देखि ९ तले ०.०१ प्रतिशत र १० भन्दा बढी तला भएका घर ०.००३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

मधेश प्रदेशमा एक तला भएका घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत रहेका छन् । पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी अर्थात् २.३४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ  ।

घरनिर्माणमा सरकारी अनुदान कतिले लिए ?
देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ । सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । नयाँ पत्रिकाबाट