शेखर–एमाले गठबन्धनले पायो औपचारिकता

Avatar photo
Dhadingpost
सोमवार, अशोज २९, २०८०

काठमाडौं । प्रधानमन्त्री र कांग्रेस सभापतिसँग गठबन्धन कायमै राख्ने सहमति गरेका डा. शेखर कोइरालाले एमालेसँग घोषित सहकार्य अगाडि बढाएका छन् । उनको समूहबाट कोशीमा मुख्यमन्त्री बनेका केदार कार्कीले एमाले सांसदलाई मन्त्री बनाएर यसलाई औपचारिकता दिएका छन् ।

कोइरालाको कदमले कांग्रेसको संस्थापन पक्ष सशंकित बनेको छ । कांग्रेसको संस्थापन पक्ष र सत्तागठबन्धन डा. कोइरालाले कोशीमा चालेको कदमको अन्य प्रदेश र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा मन्थनमा जुटेका छन् । विश्लेषकहरू यो कांग्रेसको शेखर समूह र कोशीका मुख्यमन्त्रीले लिने रणनीतिमा भर पर्ने बताउँछन् ।

संविधानको धारा १६८ को उपधारा (५) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै उनले एमालेका रामबहादुर रानामगर र कांग्रेसका आफ्नो समूहका शमशेर राईलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका छन् । काठमाडौंमा डा. कोइरालालाई भेटेर विराटनगर पुगेलगत्तै कार्कीले एमालेलाई सरकारमा सहभागी गराउने कदम चालेका हुन् ।

गठबन्धनले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने सहमति जनाएको छ । तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने–नदिने, सरकारमा सहभागी हुने–नहुनेलगायतका विषयमा ठोस निर्णय भएका छैनन् । तर, कोशीको पछिल्लो कदमप्रति कांग्रेसको संस्थापन पक्षको प्रतिक्रिया अलि फरक छ ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादव नेताहरूबीच गठबन्धन जोगाउन सहमति भए पनि जटिलता रहेको बताउँछन् । कांग्रेस, गठबन्धन र मुख्यमन्त्री कार्कीका लागि अबको बाटो सहज नभएको उनको टिप्पणी छ । उनका अनुसार मध्यावधि अझै टरेको छैन । मध्यावधि रोक्नेसम्म कोइरालाको कदम स्वीकार्य भए पनि अगाडि उनले लिने रणनीतिमा कांग्रेस संस्थापनको नजर रहनेछ ।

‘कांग्रेसले एमालेसँग गठबन्धन गरेको छैन । तर, कोशीमा कांग्रेसको विद्रोही र एमाले मिलेर सरकार बनेको छ । त्यसकारण कोशीले जटिलता निम्त्याएको छ,’ उनले भने, ‘एमालेले पहिलादेखि नै गठबन्धनमा बल्छी हाल्न खोजेकै थियो, कोशीमा सफल भएको छ । त्यसको प्रभाव अरू प्रदेश र केन्द्रमा थोरबहुत पर्छ । कांग्रेस, मुख्यमन्त्री र गठबन्धनलाई सजिलो छैन । मध्यावधिमा जाने सम्भावना टरेको छैन ।’

कोइराला समूहले कोशीमा आवश्यकताका आधारमा एमालेसँग सहकार्य भएकाले अरू प्रदेश र राष्ट्रिय राजनीतिमा असर नपर्ने दाबी गरेको छ । शेखर–गगन समूहनिकट केन्द्रीय सदस्य मधु आचार्य कोशीको अन्य प्रदेश र केन्द्रीय राजनीतिमा पर्ने–नपर्ने संस्थापनको भूमिकामा भर पर्ने बताउँछन् । ‘मुख्यमन्त्रीलाई सबै दलले समर्थन गर्नु र वातावरण तयार गर्नुको विकल्प छैन । पार्टीमा पेलेर गएको परिणाम कोशीको विस्फोटन हो । कोशीमा त्यही रूपमा सभापतिज्यू कसरी अगाडि बढ्नुहुन्छ त्यसको आधारमा अरू प्रदेश र केन्द्रको समीकरणमा असर देखिन्छ,’ आचार्यले भने, ‘कोशीमा मध्यावधि रोक्न सबै दल तयार छन् । फरक परिस्थितिमा सर्वदलीय सहमतिको सरकार बनाउन लाग्नुबाहेक विकल्प छैन ।

कोइरालानिकट केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल कोशीको घटनालाई आवश्यकताको रूपमा लिनुपर्ने टिप्पणी गर्छन् । ‘कोशीमा सरकार गठनको अन्तिम विकल्पमा आवश्यकताका आधारमा एमालेसँग मिलेर सरकार बनाउने बाटो तय भएको छ । अरू प्रदेश र केन्द्रमा यो परिस्थिति छैन, त्यही रूपमा कोशीको असर पर्दैन । उहाँ केन्द्रमा रहेका गठबन्धन फेरबदल गर्ने पक्षमा हुनुहुन्न,’ पोखरेलले भने ।

कोशीमा कोइराला एक्लै बढेपछि इतर समूहमा पनि अविश्वास बढेको छ । स्रोतका अनुसार पछिल्लो समय कोइराला र महामन्त्री थापाबीच संवादहीनताको अवस्था छ । दुई नेताबीच कोशीको कुनै संवाद छैन । कोशीका विषयमा कोइरालाले सीमित नेताहरूसँग मात्र छलफल गरेका थिए । जसकारण महामन्त्री थापा कोइरालासँग रुष्ट छन् ।

आफ्नो प्रस्तावमा वकालत नगरेको भन्दै कोइराला महामन्त्री थापासँग रुष्ट छन् । महामन्त्री थापाले यसबारे कुनै धारणा तथा टिप्पणी गरेका छैनन् । ‘उहाँहरूबीच विगत केही समयदेखि नै दूरीको अवस्था थियो । केन्द्रीय समिति बैठकमा पनि डा. सापले महामन्त्रीको आलोचना गर्नुभएको थियो । लामो समयदेखि डा. सापले पनि टिमको मिटिङ राखेर छलफल गर्न खोज्नुभएको देखिँदैन थियो । भएका मिटिङ पनि औपचारिकतामा मात्र सीमित थिए । यसले अवस्था थप चिसिएको छ । कोशीमा स्पष्ट रूपमा उहाँहरू फरक–फरक धारमा देखिनुभयो । दूरी बढ्दै गएको छ,’ स्रोत भन्छ ।

केन्द्रीय सदस्य आचार्यले कोशीका कारण आफ्नो समूहलाई कुनै फरक नपर्ने र कोशीको विषयमा इतर समूहमा निरन्तर संवादबाट यो विषय टुंगो लाग्ने बताए । ‘आफ्नो प्रदेश भएकाले प्रत्यक्ष रूपमा शेखर कोइराला देखिनुभएको हो । अप्रत्यक्ष रूपमा शेखर–गगन समूहको मिसन कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्छ, अरू दलको भर परेर हुन्न भन्ने नै हो । यसमा महामन्त्री गगनको असहयोग भन्ने होइन’, आचार्यले भने, ‘अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रदेश भएकाले उहाँको सक्रियता देखिनु अस्वाभाविक होइन । तर, यसबीचमा हाम्रो समूहमा संवादको कमी भएको अवश्य हो । अब निरन्तर संवादबाट बाँकी विषय टुंगो लगाउँछौँ र समूहलाई सशक्त बनाएर जान्छौँ ।’

माओवादी सचिव गणेश शाह कोशीको विषयले गठबन्धनमा शंका जन्माएको र गठबन्धनले कांग्रेस नेतृत्वको सरकारका रूपमा मानेर जाने सम्भावना रहेको बताए । ‘कांग्रेसभित्र शब्दमा विद्रोह थियो, अहिले उहाँहरू (शेखर समूह) पार्टीमै बसेर एक्सनमा जानुभएको छ । कांग्रेसमा भएको विद्रोह पार्टी नफुटाई संस्थापनलाई धम्क्याउने प्रकृतिको छ । अध्यक्ष प्रचण्डले गठबन्धनको सरकार भनिसक्नुभएको छ । तर, शंका कायमै छ,’ शाहले भने, ‘अब गठबन्धनले पनि भित्तामा पुर्‍याउने होइन, गठबन्धनमा नै रहेको कांग्रेसको नेतृत्वमा बनेको सरकार हो भनेर लिने र समर्थन गर्ने सम्भावना छ । यद्यपि, पार्टीहरूले निर्णय गरिसकेका छैनन् । विद्रोही कांग्रेसले लिने रणनीतिले भोलिको बाटो तय हुन्छ ।’ नयाँ पत्रिकाबाट