ज्वालामुखीको खवर: तेलमा स्थानीय जनप्रतिनिधिको झेल

Avatar photo
Dhadingpost
बुधबार, अशोज २४, २०८०

धादिङ । ज्वालामुखी गाउँपालिका, धादिङले आर्थिक वर्ष २०७९/८० मा इन्धनमा मात्र ६७ लाख ७४ हजार ७४७ रुपैयाँ खर्चियो । आर्थिक वर्षमा २०७८/७९ मा यस्तो खर्च ४८ लाख ८७ हजार थियो, अर्को वर्ष २० लाख रुपैयाँ बढी खर्चिएपछि इन्धन खर्चमाथि प्रश्न उठेको छ ।

अध्यक्ष यमनाथ दनै र उपाध्यक्ष धर्मबहादुर अर्याल चढ्ने दुई वटा गाडीमा १६ लाख ३२ हजार रुपैयाँको तेल हालेको हिसाब गाउँपालिकामा सार्वजनिक भएको छ । ३२ वटा मोटरसाइकलका लागि इन्धनमा २२ लाख ८९ हजार खर्च गरेको छ ।

गाउँपालिकाका प्रवक्ता राजु लोप्पाका अनुसार ७ जना वडाध्यक्षका साथै शाखा प्रमुख, वडा सचिव र कर्मचारीलाई मोटरसाइकल दिइएको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी अनुगमनमा जाँदाको इन्धन खर्च छुट्टै छ । यसका लागि मात्र ६ लाख ६० हजार बराबरको इन्धन खर्च भएको गाउँपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । चार मुख्य र विभिन्न शाखा सडकमा नाला बनाउने, बाटो सफा गर्ने काममा प्रयोग भएको डोजरमा तेल हाल्न २१ लाख ९२ हजार रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।

१ करोड १५ लाख हाराहारी आन्तरिक राजस्व उठाएका गाउँपालिकाले कानुनतः इन्धनमा मात्र ६७ लाख ७४ हजारभन्दा बढी खर्चिएको छ, जसको ठूलो हिस्सा कानुन विपरित छ । किनकि बागमती प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा इन्धन सुविधा नै छैन । ऐनले स्थानीय जनप्रतिनिधिलाई मासिक सुविधा (तलब), सञ्चार, दैनिक भ्रमण, बीमा मात्र दिने कल्पना गरेको छ । अनलाईनखवरबाट