आदमघाट–मिलनटार सडक कालोपत्रे गर्न सुरु

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २८, २०८०

काठमाडौं । धादिङको आदमघाटबाट किराञ्चोक जाने एक मात्र सडक आदमघाट–मिलटार सडक कालोपत्रे गर्न सुरु भएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रादेशिक सडक डिभिजन कार्यालय धादिङले २०८० साल असार १३ गते नाना कन्स्ट्रक्सन प्रालि धादिङसँग सम्झौता गरेको हो। नाना कन्स्ट्रक्सनले २० करोड ४९ लाख ८१ हजार १० रुपियाँमा जमिनको काम, साइड ड्रेन, टेवा पर्खालसहित ४.२ किलोमिटर कालोपत्रे गर्न सम्झौता गरेको कम्पनीका प्रमुख नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सम्झौता अनुसार २०८१ साल मङ्सिर १८ गते सडक कालोपत्रे गर्ने कार्य सम्पन्न हुने छ । काम गर्न अवरोध नआएमा, निर्माण सामग्री सहज अवस्थामा उपलब्ध भएमा तोकिएको समयमै काम सक्ने उहाँले बताउनुभयो ।

साबिकको किराञ्चोक गाविसलाई राजमार्गसँग जोड्न २०४९ सालदेखि पृथ्वी राजमार्गमा पर्ने आदमघाटदेखि दक्षिणपट्टि महाभारत लेकसँग जोड्ने गरी यो सडक निर्माण सुरु गरिएको थियो। गजुरी गाउँपालिका–६, आदमघाटदेखि मिलनटार चौतारासम्म २.७ किलोमिटर यसअघि नै कालोपत्रे गरिएको छ। अहिले आदमघाटदेखि तीन किलोमिटर दुरीलाई शून्य बिन्दु मानेर मिलनटारदेखि पर्खालेसम्म ४.२ किलोमिटर सडक कालोपत्रे गर्न सुरु गरिएको हो ।

सडक बनाउन सुरु गर्दा आदमघाट–लामाचिरा भनेर सुरु गरेको भए पनि अहिले आदमघाट, पर्खाले, बरभन्ज्याङ, मजुवा थुम्कीडाँडा, चौतारासम्म पुगेको छ। आदमघाट–चौतारा सडकखण्डको लम्बाइ ३५ किलोमिटर रहेको छ। यो सडकको स्तरोन्नति तथा कालोपत्रे हुँदा महाभारत लेकमा बसोबास गर्ने किसानलाई धेरै ठुलो राहत मिल्ने स्थानीय सोनासिङ रुम्बाले बताउनुभयो ।

यस सडकले महाभारत लेक क्षेत्रका बासिन्दाको आर्थिक समृद्धिको मुहान फुटाउने पूर्ववडाध्यक्षसमेत रहेका रुम्बाको बुझाइ छ । मुरारी अधिकारीको यो समाचार गोरखापत्रबाट लिईएको हो