सिप विकास केन्द्र गजुरीबाट तालिम लिएका ४७ प्रतिशत रोजगारीमा

Avatar photo
Dhadingpost
आइतवार, भदौ १७, २०८०

धादिङ । व्यावसायिक तथा सिप विकास केन्द्र गजुरीबाट तालिम लिएकामध्य ४७ प्रतिशत रोजगारीमा रहेका छन् । केन्द्र स्थापना भएको १४ वर्षमा विभिन्न ३५ विधामा तालिम हासिल गर्ने ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुष रहेका छन् । तालिम हासिल गरेकामध्य ४७ प्रतिशत रोजगार तथा उद्यममा सक्रिय रहेको व्यावसायिक तथा सिप विकास केन्द्रका प्रमुख पुरुषेत्तम पाण्डेले बताए ।

आर्थिक वर्ष २०६६/६७ मा व्यावसायिक तथा सिप विकास केन्द्र स्थापना भए पश्चात सिप सिकेर रोजगार तथा उद्यम गर्नेको संख्या बढेको छ । रोजगार तथा उद्यम गर्नेले पनि लगानी र सिप अनुसार कमाइमा सन्तुष्टी प्राप्त गरेका छन् । आव २०७९/८० मा विभिन्न किसिमका तालिम लिएर रोजगार तथा उद्यममा संलग्न तीन सय जनामा सर्वेक्षण गरिएको थियो । ती मध्ये ९५ जनाले मासिक २० हजार रुपैयाँसम्म र १४६ जनाले मासिक ३० हजार रुपैयाँसम्म कमाइ हुने गरेको बताएका छन् ।

४० जनाले मासिक ५० हजार रुपैयाँसम्म र १९ जनाले एक लाख रुपैयाँसम्म कमाइ हुने गरेको बताएका छन् । केन्द्र स्थापनाको १४ वर्षमा नौ हजार ७२३ जना महिला र पुरुषलाई विभिन्न स्थानमा पुगेर तालिम दिएको केन्द्रले बताएको छ । तालिम लिएका मध्ये ४७.५० प्रतिशत रोजगार तथा व्यवसायमा रहेको प्रारम्भिक अनुमान छ । केन्द्रबाट इलेक्ट्रिसियन र प्लम्बिङको तालिम लिएका गल्छी गाउँपालिका वडा नं. ७ का इश्वर अधिकारी सर्वोच्च अदालमा करार सेवामा कार्यरत छन् ।

उनी इलेक्ट्रिसियन र प्लम्बिङमा त्यहाँ कार्यरत छन् । केन्द्रबाटै तालिम लिएर गजुरी बजारमा मोवाइल पसल तथामर्मत गर्दै आएका राजेश पाठक पनि तालिमले उत्साह बढाएको बताउँछन् । थाक्रे गाउँपालिका ११ का नरेन्द्र थापा प्लम्बिङ तालिमपछि रोजगार मिलेको बताउँछन् । १४ वर्षघि तालिम लिएको उनले बताए । अहिले उनी अन्य व्यक्तिलाई पनि साथमा लिएर काम गरिरहेका छन् । सबै यूवाहरुलाई सिपमूलक तालिम दिनु पर्ने थापाले बताए ।

किर्तिपुर ७ चोभार भाजुगलकी प्रमिला सुनामले परम्परागत रुपमा गर्दै आएको कामलाई सिपमा परिणत गरेकी छिन् । उनको तालिमको उद्देश्य प्रमाण पत्रसँगै महिला लघुउद्यम कर्जा लिने रहेको थियो । तर,तालिम लिएपछि प्रमाणपत्रबाट बैंकले बिना धितो दिने भनेको सहुलियत ऋण अहिलेसम्म नदिएको उनले बताइन् । बैंकले ऋण दिए आफ्नै पसल खोल्ने उनी बताउँछिन् । केन्द्रबाट ब्यूटिसियन तालिम लिएर गजुरी बजारमा ब्यूटीपार्लर सञ्चालन गरीरहेकी गंगा श्रेष्ठ आफूले तालिम ढिलो लिएकोमा पश्चताप गर्छिन् ।

पहिल्यै तालिम लिन पाएको भए अहिले सेवा किन्न सहज हुने उनको भनाइ छ । गजुरी गाउँपालिकाका बासु सुवेदीले वाइल्डिङ इलेक्टिसियन तालिम लिए पश्चात आफू उद्यममा लागेको र अरुलाई पनि रोजगारी दिएको बताए । आफूले वाइल्डिङ इलेक्टिसियन तालिमबाट हासिल गरेको आधारभुत जानकारी र सिपबाट पाँचसय घरमा काम गरिसकेको बताउँछन् । तालिम लिएकाहरू सबै रोजगार तथा उद्यमी बन्न नसक्नुमा सरकारले सरल रुपमा सस्तो ब्याजदरमा ऋण दिन नसक्दा सिर्जना भएको हो । राजेन्द्र बस्नेतको यो समाचार कारोवार दैनिकबाट लिईएको हो ।