दुई महिनामै डेढ अर्ब नाफा सुनिश्चित गरेको आयल निगम निरन्तर मूल्यवृद्धि गर्दै

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १५, २०८०

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ३१ असारदेखि पूर्ण स्वचालित प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न थालेपछि करिब एक अर्ब ६८ करोड नाफा सुनिश्चित गरेको छ । आयल निगमलाई कहिल्यै घाटा नहुने, तर उपभोक्ता महँगीको मारमा पर्ने गरी तयार गरिएको नयाँ सूत्रका कारण निगमले एक महिनायता पेट्रोलियम पदार्थको मूल्यमा ठूलो दरले वृद्धि गरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेका कारण इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबार नयाँ मूल्य बढाएर पठाएको छ । निगमका अनुसार आइओसीले पठाएको मूल्यसूचीमा पेट्रोल ३.१७ रुपैयाँ, डिजेल २.४८ रुपैयाँ र मट्टीतेल करिब १४ रुपैयाँ प्रतिलिटर बढेर आएको छ । त्यस्तै, हवाई इन्धन प्रतिलिटर १४ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ८६ रुपैयाँ ४५ पैसाले बढेर आएको प्रवक्ता मनोज ठाकुरले बताए ।

निगमले बिहीबार बिहानबाट लागू हुने गरी पेट्रोल चार रुपैयाँ र डिजेल तीन रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासको मूल्य दुई सय ३५ रुपैयाँ प्रतिसिलिन्डर वृद्धि गरेको छ । मूल्यवृद्धिपछि ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ पुगेको छ । जुन अहिलेसम्मकै सबैभन्दा महँगो हो । ‘३१ असारदेखि अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्ने नीति लागू गरिएको छ । बिहीबार आइओसीबाट मूल्य बढेर आएका कारण नेपाली बजारमा पनि मूल्यवृद्धि गर्न बाध्य भएका हौँ,’ प्रवक्ता ठाकुरले भने ।

मूल्यवृद्धिपछि पेट्रोल एक सय ८२ रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय ७० रुपैयाँ प्रतिलिटर पुगेको छ । यो काठमाडौं उपत्यकाको मूल्य हो । उपत्यकाभन्दा तराईमा २.५० रुपैयाँ र सुर्खेत तथा दाङमा एक रुपैयाँ प्रतिलिटर सस्तो हुने गरेको छ । यसरी मूल्य निर्धारण गर्दा आयल निगमलाई आगामी १५ दिनमा २६ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ ।
यसअघि १–१५ भदौसम्म ४१ करोड रुपैयाँ नाफाको प्रक्षेपण गरिएको थियो भने साउन महिनामा एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको थियो । साउन १ देखि १५ सम्म ५२ करोड र १६ देखि ३२ साउनसम्म थप ४९ करोड रुपैयाँ नाफा निगमले कमाएको थियो ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले स्वचालित मूल्य प्रणाली लागू गरेपछि अन्तर्राष्ट्रिय भाउअनुसार घटबढ हुनु स्वाभाविक भएको बताए । ‘अन्तर्राष्ट्रिय भाउअनुसार आइओसीले हामीलाई जुन मूल्य पठाउँछ, सोहीअनुसार नेपाली बजारमा पेट्रोलियमको मूल्य समायोजन हुने गरेको छ,’ उनले भने, ‘यसलाई अन्यथा लिनुहुन्न ।’

अन्तर्राष्ट्रिय बजारमा सामान्य वृद्धि
अन्तर्राष्ट्रियस्तरमा कच्चा तेलको भाउमा भने सामान्य दरमा मात्रै हेरफेर भएको छ । १६ अगस्ट (३१ साउन)मा ८१.१४९ डलर प्रतिब्यारेल रहेको कच्चा तेलको भाउ बिहीबार साँझ ८२.४६३ डलर प्रतिब्यारेलमा कारोबार भएको छ । यो १५ दिनको अवधिमा अधिकांश समय कच्चा तेलको भाउ घटेकोसमेत थियो । ६ भदौ (२३ अगस्ट)मा भने कच्चा तेलको भाउ ७८ .२६ डलर प्रतिब्यारेलमा झरेको थियो । अहिले कच्चा तेलको प्रशोधन लागत बढेकाले मूल्यमा असर परेको आयल निगमका प्रवक्ता ठाकुरले बताए । उनका अनुसार पहिले अधिकतम ११ डलरसम्म रहेको कच्चा तेलको प्रशोधन शुल्क बढेर ३३ डलर प्रतिब्यारेलसम्म पुगेकाले लागतमा असर परेको हो ।

एक महिनामै पेट्रोल १८र डिजेल २४ रुपैयाँ महँगियो
आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणालीको हवाला दिँदै एक महिनामै पेट्रोलमा १८ रुपैयाँ र डिजेलमा २४ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिसकेको छ । बिहीबारबाट लागू हुने गरी पेट्रोलमा चार र डिजेलमा तीन रुपैयाँ मूल्यवृद्धि गरेको निगमले यसअघि ३० साउनमा पनि पेट्रोल र डिजेलको मूल्य क्रमशः पाँच रुपैयाँ र १४ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको थियो । त्यसअघि १६ साउनमा समेत पेट्रोल नौ र डिजेल सात रुपैयाँ प्रतिलिटर वृद्धि गरेको थियो ।

सबैभन्दा धेरै खपत हुने डिजेल र पेट्रोलमा निगमले क्रमशः २ र २.५ प्रतिशत नाफा जोडेर उपभोक्ता मूल्य निर्धारण गर्दै आएको छ । कुल पेट्रोलियम पदार्थको खपत परिमाणमा डिजेलको हिस्सा ५० प्रतिशत र पेट्रोलको हिस्सा २४ प्रतिशत छ । यसरी ७४ प्रतिशत हिस्सा ओगट्ने पदार्थमा नाफा राख्दा निगमले स्वचालित प्रणाली लागू गरेयता निरन्तर नाफा आर्जन गर्दै आएको छ । ग्यासमा भने नाफा–घाटा नराखी मूल्य तोकिने गरेको छ ।

भारतमा ग्यासको मूल्य दुई सय भारु घट्यो
नेपालमा २ सय ३५ रुपैयाँले बढ्यो

भारतमा ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय भारु अर्थात् तीन सय २० रुपैयाँले घटेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबारबाट लागू हुने गरी घरायसी प्रयोजनको ग्यास सिलिन्डर (१४.२ किलो)को मूल्य भारु दुई सयले कटौती गर्ने निर्णय गरेको थियो । मूल्य घटेपछि दिल्लीमा ग्यासको मूल्य प्रतिसिलिन्डर नौ सय तीन भारु निर्धारण भएको छ ।

सरकारको यो निर्णयले भारतका ३३ करोडभन्दा बढी ग्यास प्रयोगकर्ताले लाभ लिएको भन्दै खुसी व्यक्त गरेका छन् । गरिब जनताका लागि सन् २०१६ देखि सञ्चालित ‘उजाला योजना’अन्तर्गतका लागि भने चार सय भारु प्रतिसिलिन्डर मूल्य घटाउने निर्णय भएको छ ।

भारतमा जनतालाई महँगीबाट राहत दिन सरकारले ग्यासको मूल्य कटौती गरेको घोषणा गरिरहेका वेला नेपालमा महँगीको मार खेपिरहेका जनतामाथि भने सरकार स्वामित्वको आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर दुई सय ३५ रुपैयाँ गरेर उपभोक्ताको ढाड सेकेको छ । आइओसीले प्रतिसिलिन्डर एक सय ८६ रुपैयाँ ४५ पैसा मूल्य बढाएर पठाएको र यसमा करलगायतका अन्य खर्च जोडेर प्रतिसिलिन्डर १८ सय ९५ पु¥याइएको निगम प्रवक्ता मनोज ठाकुरले बताए । नयाँ पत्रिकाबाट