धादिङका १४१ मावि मध्ये ४८ वटामा मात्रै विद्यालय नर्स

Avatar photo
Dhadingpost
बिहिबार, साउन ३२, २०८०

कछुवा गतिमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम

धादिङ । बागमती प्रदेश सरकार (साविक ३ नम्बर) प्रदेशले ०७५ साल देखिनै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अगाडी बढाएपनि अझै प्रभावकारी भएको देखिएको छैन । विद्यालयमा बालबालिकालाई पोषिलो आहार, अतिरिक्त क्रियाकलापका साथै मानसिक, शारीरिक स्वास्थ्यको रेखदेखका लागि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अघि सारेको हो ।

कछुवा गतिमा अगाडी बढेको प्रदेशको यो कार्यक्रममा धादिङका १४१ माध्यामिक विद्यालय मध्ये ४८ वटा विद्यालयले मात्रै विद्यालय नर्स पाएका छन् । अझै ९३ वटा सरकारी माध्यामिक विद्यालयहरु विद्यालय नर्स विहिन छन् ।

धादिङमा नीलकण्ठ नगरपालिकामा २९ मावि मध्ये ६ वटा, धुनीबेसीको १० मावि मध्ये ४ वटा, ज्वालामुखीको १२ मावि मध्ये ४ वटा, त्रिपुरासुन्दरीको ११ मावि मध्ये ४ वटा, रुबीभ्यालीको ४ मावि मध्ये २ वटा, गंगाजमुनामा ११ मध्ये ३ वटा, खनियाबासमा ६ मावि मध्ये २ वटा, सिद्धलेकमा १३ मावि मध्ये ३ वटा, गजुरीमा १० मावि मध्ये ४ वटा, गल्छीमा ७ मावि मध्ये ३ वटा, थाक्रेमा १३ मावि मध्ये ५ वटा, बेनीघाट रोराङमा १० मावि मध्ये ५ वटा, नेत्रावती डवजोङमा ५ मावि मध्ये ३ वटामा मात्रै विद्यालय नर्स कार्यरत छन् ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम बागमती प्रदेशको समाजिक विकास मन्त्रालयको कार्यक्रम हो ।बागमती प्रदेशमा १ हजार ५२२ मावि तहका विद्यालय छन्। जसमध्ये ४ सय ८६ नर्सहरु हाल विद्यालयमा कार्यरत छन् भने ३३ विद्यालयमा नर्सहरु पठाउने रहेका मन्त्रालयले जनाए छ । ५ सय १९ विद्यालयमा नर्स खटाए पनि प्रदेशमा अझै १ हजार ३ वटा विद्यालयमा नर्स पुगेका छैनन् ।