संस्मरणः धादिङमा भूमिगत हुँदा

Avatar photo
Dhadingpost
बिहिबार, साउन ३२, २०८०

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २०५२ साल फागुन १ गतेबाट सञ्चालन गरेको जनयुद्ध विभिन्न आरोहअवरोह पार गरी अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आएको हो । २०५८ सालको सरकार-माओवादी शान्ति वार्ताको समयमा माओवादी जनयुद्धको प्रचार मात्र भएको ग्रामीण बस्तीहरुमा आकर्षण बढ्दै मानिसहरु सङ्गठित हुन थालेका थिए । नुवाकोट वागेश्वरी चोकदेमा पनि जनयुद्धको प्रचार बढिरहेको थियो ।

मानिसहरु सङ्गठित हुन थालेका थिए । हामीभन्दा अग्रज अभिभावकहरु पार्टीमा सङ्गठित भएका थिए । ममा पनि भर्खर भर्खर सामाजिक, राजनीतिक चेतना जागृत हुनथालेको मानसपटलमा माओवादी जनयुद्धको सकारात्मक प्रभाव पर्न थाल्यो । गाउँका अग्रज अभिभावकहरु श्रीकृष्ण अधिकारी, पुष्प लामिछाने, उपेन्द्र अधिकारी, जानुका नेपाल, जयराम अधिकारी लगायतका व्यक्तिहरु पार्टीमा भूमिगत हुनु भएको थियो । घरमा भेटघाटमा आउँदा छलफल हुँदा चासो गर्थे । एक पटक वागेश्वरी स्कुलमा अखिल क्रान्तिकारीको स्कुल एकाइ कमिटी गठनका लागि चोकदेको ३ थुम्कीमा जयराम अधिकारीले हामीलाई भेला गराउनु भयो । त्यसपछिका दिनहरुमा गाउँ जनमिलेसिया सदस्य, अखिल (कान्तिकारी) मा सङ्गठित हुँदै जनमुक्ति सेनाहरुका लागि खाद्यान्न संकलन अभियानमा जोडिँदै काम गर्न थालेँ । दिनहरु बित्दै थिए हामीहरु स्कुल जाँदा, गाईबस्तु चराउन जंगल जाँदा पनि जनयुद्धको बारेमा छलफल, कुराकानी गर्दथ्यौँ । कतै टाढाबाट कोही नयाँ नौलो मान्छे आयो भने पनि कतै पार्टीकै साथीहरु आउनु भयो कि भनेर खुसी हुन्थ्यौँ ।

२०५८ सालमा वागेश्वरी हल्दे गाउँमा जाँडरक्सी, जुवातास विरोधी अभियानका क्रममा घटना घटन पुगेको रहेछ । त्यसपछि गाउँमा सेना प्रहरीको गस्ती बढ्न थाल्यो । सङ्गठित भएका दाइ दिदीहरूको भागाभाग भयो । एक दिन धादिङ जिल्लामा कार्यरत हुनु भएको उपेन्द्र अधिकारी र आशा नेपाल घर भेटघाटमा आउनु भएको रहेछ । देशैभरि जनयुद्धको प्रभाव विस्तार हुँदै गएको छ । सेना प्रहरीले पनि माओवादीको नाममा जनतालाई पनि गिरफ्तारी गर्ने, हत्या गर्ने अनि बेपत्ता गर्ने काम गरिरहेको छ । तिमीहरु पहिलेदेखि नै सङ्गठित हुँदै घरमा नै बसेर पार्टीलाई सहयोग गरिराखेका छौं । कुनै पनि समयमा गिरफ्तार गर्न सक्छ । गिरफ्तार हुनुभन्दा पार्टीमा भूमिगत हुनु राम्रो हो के गर्छौ ? भनि सोध्नु भयो । के गर्ने भन्ने बारेमा हामी अम्बिका नेपाली, विष्णु लामिछाने र म भएर सल्लाह गर्यौ ।

धेरै समयको छलफलपछि हामी सबैको निचोड भूमिगत हुने भयौं । २०५९ साल चैत्र महिना स्कुलमा वार्षिक परीक्षा भैरहेको थियो । हामीहरु तीनै जना परीक्षा दिन घरबाट हिँडेका स्कुल पोसाकमा नै जनयुद्धमा भूमिगत भयौं । घरबाट हिँडेको हामी दुई दिनमा धादिङको सत्यवती आइपुग्दा जिल्लाको बैठक रहेछ । रसुवाको माधव लामिछाने, काभ्रेका पेमा लामा अनि धादिङका नेताहरु शेरबहादुर भण्डारी, रामबहादुर भण्डारी नुवाकोटको रचना, काठमाडौंकी रक्षा तामाङ, धादिङ एस.टि.एफ. (स्पेसल टास्कफोर्स) का कमान्डर दिपक बस्नेत लगायतकाहरुसँग भेट भयो ।

धादिङबेसीबाट उत्तरी क्षेत्र पर्ने फुलखर्क, गुम्दी सातदोबाटे, दार्खा, झार्लाङ, बोराङ, लापा, तिप्लिङ र धादिङको अन्तिम उत्तरी भूगोल नेबेर हिन्दुङलगायतका भूगोलमा हाम्रो कार्यक्षेत्र थियो । पार्टीमा भूमिगत भएको ३ महिनापछि लापाको जङ्गलमा हामीलाई फौजी तालिम र प्राविधिक तालिम दिइएको थियो । लापा सरकारी सुरक्षा निकायको पहुँचबाट धेरै नै टाढाको भूगोल र जनमुक्ति सेनाहरुको लागि फौजी तालिम लिन उपयुक्त भूगोल पनि रहेछ ।

२०५८ सालको शान्ति वार्ताको समयमा त्यतिखेरको मध्यकमान्डको केन्द्रीय फौजी प्रशिक्षण जनमुक्ति सेनाका प्रमुख कमान्डर तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका दोस्रो उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ)को कमान्डमा त्यही स्थानमा चलेको रहेछ । हामीलाई फौजी तालिममा सरकारी शाही सेना तथा प्रहरीसँग जम्काभेट भएमा वा भिडन्त भएमा आफूसँग भएको ग्रिनेड कसरी प्रहार गरेर आफू सुरक्षित हुने अनि (प्राविधिक सामान) हाते बम, कुकर बम, कमन्डलु बम कसरी बनाइन्छ भन्ने बारेमा सिकाइएको थियो ।

रमाइलो लाग्ने कुरा धादिङबेसीबाट खच्चडले बोकेर ल्याएका समानहरुका लापाको लापाको घरैपिच्छे पसल हुन्थे । विकास यातायातको हिसाबले अत्यन्तै विकट । तिप्लिङ नेबेर हिन्दुङका जनताको भौगोलिक विकटताका कारण दैनिक जीवन अत्यन्त दुखलाग्दो थियो । भाषा पनि नबुझ्ने जनतासँग सहकार्य गरेर राजनीतिक छलफल गर्ने । सङ्गठन बनाउने काम गरियो । जनताले अत्यन्त माया गरेर त्यहीँको उत्पादन आलु, आटो खान दिन्थे । चामल, नुन, तेल, दाल, मसला लगायतका अति आवश्यक खाद्यान्नहरु धादिङबेसीबाट खच्चडले ३/४ दिन बोकेर लैजानु पर्दथ्यो । हामीलाई त्यतिखेर फुलखर्कका हरिचन्द्र अधिकारी, गुम्दीका रामेश्वर सिंखडा, दिनेश सिंखडा, दार्खा स्कुलका प्रधानाध्यापक धर्म सिंखडा बृचेतका जंगबहादुर तामाङ सरले नजिकबाट सहयोग गर्नु हुन्थ्यो ।

जनतासँग श्रममा जोडिएर पार्टीको प्रचार गर्ने, सङ्गठन बनाउने । सरकारी सेना प्रहरीको ब्यारेकबाट टाढाको भूगोल भएको कारण लडाइँबाट फर्केका जनमुक्ति सेनाहरुको समीक्षात्मक बैठक, आराम तथा लडाइँका घाइते बिरामीहरुको व्यवस्थापन रेखदेख, जनमुक्ति सेनाहरुले लगाउने युनिफर्मलगायत बम बनाउने सामानहरु धादिङबेसीलगायत विभिन्न इलाकाबाट खच्चडले बोकेर ल्याएको हुन्थ्यो ती सामानहरु पनि हाम्रै सम्पर्कमा आउँथे I हामीमार्फत सबै ठाउँमा पुऱ्याउने भूमिका हाम्रो इलाकाको हुन्थ्यो । जनमुक्ति सेनाहरु एउटा इलाकाबाट अर्को इलाकामा जाँदा रूट गाइडको जिम्मेवारी पनि हामीमा हुने गर्दथ्यो ।

२०६२ सालमा ने .क.पा. (माओवादी) को ऐतिहासिक चुनवाङ बैठकमा सहभागी हुन पूर्वी कमान्ड इन्चार्ज रामबहादुर थापा बादलको टिम पूर्वबाट पैदल हिँडेर नुवाकोट हुँदै धादिङमा हाम्रो इलाकामा आइपुग्दा उहाँको त्यो टिमको सेल्टर पनि हाम्रो इलाकामा भएको कारण व्यवस्थापनमा हामी पनि खटिएका थियौँ । केही दिनअघि दार्खाको एक दलित परिवारको घरमा हामीसँगै एउटै भान्सामा खाना खाएर छुट्टिनु भएका नुवाकोटमा लोकप्रिय नेता भरत ढुङ्गाना र वैकुण्ठ पोख्रेललाई हेलिकप्टरमा आएको शाही नेपाली सेनाले गुम्दीको दोबाटेबाट गिरफ्तारगरी हत्या गरेर खोलामा फालेको घटना सम्झिँदा अहिले पनि आङ सिरिङ्ग बनाउँछ ।

गुम्दी सातदोबाटे चोकमा नुवाकोट घर भएकी गायत्री अधिकारी कस्मेटिक पसल चलाएर बस्नु भएको थियो । हामी प्राय दिदीको पसलमा जाने गर्दथ्यौँ । २०६२ साल कार्तिक २४ गते बिहान म पनि दिदीको पसलमा थिएँ ।
खाना पकाएको छु खाएर जानू है भन्नु भयो ।
तरकारी के हो नि ? मैले सोधें ।
मासु पकाएको छु । दिदीले भन्नु भयो ।
मलाई अहिले सन्चो छैन दिदी । म आज मासु भात खान्नँ ।
अहिले गएँ भनेर हिडें ।
म हिँड्ने बित्तिकै धादिङबेसीबाट शाही सेना गस्ती गर्दै आएको रहेछ ।
जनमुक्ति सेनामा कार्यरत नुवाकोट नर्जा घर भएकी गंगा तामाङ र रोल्पाकी शोभा बुढामगरलाई गिरफ्तार गर्यो । मासु नखानाले म त्यो दिन गिरफ्तार हुनबाट जोगिएको थिएँ ।

सामन्तको नाइके ज्ञानेन्द्र शाहीले शासनसत्ता हातमा लिएर जनतामाथिको दमन बढाउँदै लगेपछि शाही सेनासँगैको लडाइँ घनीभूत हुँदै जाँदा जनमुक्ति सेना नेपालको फर्मेसनमा सङ्ख्या अपुग हुन थालेपछि पार्टी केन्द्रले सङ्गठनमा रहेका साथीहरुलाई जनमुक्ति सेनाको फर्मेसनमा स्थानान्तरण गर्ने योजना अनुसार म पनि २०६२ साल पुसबाट जनमुक्ति सेना नेपाल वासु स्मृति ब्रिगेडमा कार्यरत हुनका लागि धादिङ जिल्लाबाट बिदा भएँ ।
(लेखक: पूर्व जनमुक्ति सेना नेपालका प्लाटुन कमान्डर हुनुहुन्छ । )

(यो संस्मरण हामीले जनयुद्धमा धादिङ पुस्तकबाट साभार गरेका हौं । ०५२–०६२ को अवधिमा धादिङमा राज्यपक्ष र माओवादी पक्षबाट मारिएकाहरुको जिवनी, संस्मरण ऐतिहासिक तस्वीर समेटिएको जनयुद्धमा धादिङ पुस्तक पढ्न इच्छुकहरुले 9851191181 मा सम्पर्क गर्न सक्नु हुनेछ । –सम्पादक)