नीलकण्ठ माविबाट शर्मिलाले ल्याईन कक्षा १२ मा ३.८३ जीपीए

Avatar photo
Dhadingpost
बुधबार, साउन ३१, २०८०

धादिङ । नीलकण्ठ माध्यामिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएकी शर्मिला श्रेष्ठले ३.८३ जीपीए ल्याएकी छिन् । उनले ल्याएको यो जीपीए जिल्ला कै प्रथम भएको नीलकण्ठ माविले दावी गरेको छ ।

यस्तै नीलकण्ठ माविबाटै सेलिना तामाङले ३.७५, आयुष अर्यालले ३.७५, रबि भट्टले ३.६९ जीपीए ल्याएका छन् । नीलकण्ठ माविबाट ४८६ जनाले १२ को परिक्षा दिएका थिए भने आर्थिक वर्ष ०८०/०८१ मा परिक्षा दिनका लागि ५४३ जना कक्षा १२ मा अध्ययन गरिरहेको प्रधानाध्यापक ध्रुव अधिकारीले धादिङपोष्टलाई बताए ।

नीलकण्ठ मावि एसईई २०७९ को नतिजामा पनि जिल्ला कै सर्वोत्कृष्ट भएको थियो । एसईईमा नीलकण्ठबाट पुष्पादेवी पौडेलले ३.९५ जीपीए, अभिशेक तामाङले ३.९२ जीपीए, आसुतोश अधिकारी र भगवान पौडेलले ३.९० जीपीए ल्याएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले सर्वाजनिक गरेको कक्षा १२ को नतिजा अनुसार देशभरबाट करिब ५१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९ प्रतिशत भने नन ग्रेडेड भएका छन् । परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए ।

ननग्रेड विद्यार्थीका लागि असोजमा ग्रेडवृद्धि परीक्षा
कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि आगामी असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा हुने भएको छ । नतिजामा दुई विषयसम्म नन ग्रेड ल्याएका विद्यार्थीले उक्त परीक्षामा भाग लिन पाउने छन् । यस पटकको नतिजा अनुसार १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एक विषयमा मात्र एनजी आउनेको संख्या भने ७९ हजार पाँच सय ८४ रहेको छ ।

कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै अंग्रेजीमा १ लाख ९ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । कक्षा १२ मा सबै विषयमा ३५ प्रतिशत अंक ल्याएमात्र ग्रेडेड वा उतीर्ण हुने व्यवस्था छ । नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने बोर्डले जनाएको छ । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुन परीक्षण गराउन सक्ने पनि ब्यवस्था छ ।