धादिङमा खोप अभियान जारी अहिले सम्म १ हजार ५५ पशुलाई लम्पी स्कीन विरुद्ध खोप लगाईयो

Avatar photo
Dhadingpost
सोमवार, साउन २९, २०८०

धादिङ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचालन गरेको साताव्यापी खोप अभियान अन्तरगत बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो । जसमा धादिङमा १ हजार ५५ पशुलाई खोप लगाईएको छ ।

आगामी साउन ३२ गतेसम्म संचालन हुने उक्त खोप अभियान अन्तर्गत ५० हजार पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइने लक्ष्य रहेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । उनका अनुसार यस अभियान अन्तरगत धादिङका ५ वटा धुनीबेसी नगरपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका ३ हजार ७५० पशुलाई खोप लगाईने छ ।

जारी यस अभियान अन्तरगत मकवानपुरका २ हजार ४४, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको छ ।