धादिङमा डेंगु बढे सँगै डेंगु नष्ट अभियानमा तिब्रता

Avatar photo
Dhadingpost
शनिबार, साउन २७, २०८०

धादिङ । धादिङ जिल्ला बागमती प्रदेशमा नै डेंगु प्रभावित जिल्ला मध्य पहिलो जिल्ला हो । धादिङमा साउन १ देखि २५ गतेको रेकर्ड हेर्ने हो भने ६७२ पुरुष र ६१४ महिला गरि १ हजार २८६ जनालाई डेंगु भई सकेको छ ।

धादिङको थाक्रे बाहेका सबै पालिकामा डेंगु फैलिएको छ जस मध्य सदरमुकाम धादिङबेसी रहेको नीलकण्ठमा मात्रै यो अवधीमा ११२२ जनालाई डेंगु भई सकेको छ ।

डेंगु नियन्त्रणका लागि धादिङका सबै पालिकाहरुले यतिबेला जनचेताना सँगै डेंगु लामखुट्टे नष्ट अभियान चलाई रहेका छन् । यसै क्रममा थाक्रे गाउपालिकाको वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा “लामखुट्टेको बासस्थान खोजी गरौं र नस्ट गरौं, डेङ्गी रोगबाट बचौं र बचाऔं” भन्ने मुल नाराका जनप्रतिनिधि,स्वास्थ्य कर्मी, शिक्षक विद्यार्थी र स्थानिय नागरिक लगायतको सहभागितामा डेङ्गी रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम भएको छ ।

यस्तै शुक्रबार नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र ईलाका प्रहरी कार्यालय खानीखोला धादिङको सहकार्यमा ईलाका प्रहरी कार्यालय खानीखोला कार्यालय परिसर वरपर औषधी छरिएको छ ।

त्यसै गरी गंगाजमुना गाउँपालिकाले पनि शुक्रबार विभिन्न ठाउँहरुमा जनचेतना सँगै डेंगु नियन्त्रणका कार्यक्रमहरु संचालन गरेको छ ।