काठमाडौं । गत वर्ष सन् २०२२ मा ५४ हजार सात सय ५४ मा संक्रमण भएर ३२ जनाको ज्यानसमेत लिएको डेंगु नियन्त्रणमा यसपालि पनि सरकार चुकिरहेको छ । सन् २०२३ का सुरुवाती पाँच महिना स्थिर रहेको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबन्दा जुनयता ह्वात्तै बढेको हो ।
पुसयता अर्थात् जनवरीदेखि हाल (२५ साउन)सम्म ११ हजार १५७ जनामा डेंगु संक्रमण भएकामा आठजनाको मृत्यु भएको सरकारी तथ्यांक छ । जनवरीदेखि मेसम्म मासिक औसत एक सय ५० लाई संक्रमण भएकोमा जुनदेखि ह्वात्तै बढेर एक हजार दुईजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्यांक छ ।
जुलाईमा त अझ अघिल्लो महिनाभन्दा पाँच गुणाभन्दा बढी अर्थात् पाँच हजार ६ सय ८३ लाई डेंगु भयो भने चालू महिना अगस्टको नौ दिनमै तीन हजार दुई सय ६९ लाई संक्रमण भइसकेको छ । पछिल्लो समय भइरहेको तीव्र संक्रमण हेर्दा १५ भदौदेखि उच्च बिन्दुमा पुग्ने स्वास्थ्य सेवा विभाग, इडिसिडीलगायतको प्रक्षेपण छ । मंसिरसम्म ६० हजारभन्दा बढी संक्रमित पुग्ने अनुमान छ । बुधबारसम्म ७१ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको रेकर्ड छ । गत वर्ष हुम्ला र मुस्ताङबाहेक ७५ जिल्लामा फैलिएको थियो ।
गत वर्ष सबैभन्दा बढी काठमाडौंमा फैलिएको डेंगु यसपालि हालसम्म सुनसरीमा धेरै देखिएको छ । तर, काठमाडौंमा पनि पछिल्लो समय तीव्र बन्ने संकेत देखिएको छ । सुनसरीमा हालसम्म ६ हजार ४१ मा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा दुई सय ५१ (काठमाडौंमा एक सय ५१, ललितपुरमा ५६ र भक्तपुरमा ४४)मा देखिएको छ ।
मोरङमा एक हजार तीन सय ४४, धादिङमा एक हजार २७, कास्कीमा दुई सय २५, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२, झापामा एक सय ८२, संखुवासभामा एक सय दुई, कञ्चनपुर ६७, धरानमा ९६ जनामा डेंगु संक्रमण भएको छ भने अन्य जिल्लामा फाट्टफुट्ट संक्रमण देखिएको छ । कालीकोट, हुम्ला, मुगु, प्युठान, धनुषा र सोलुखुम्बुमा भने डेंगु संक्रमण देखिएको छैन ।
अघिल्लो बर्खामा ठूलो क्षति पु¥याएको र यसपालि हिउँददेखि नै संक्रमण सुरु भएर पछिल्ला महिना तीव्र बनिरहेको डेंगु नियन्त्रणमा सरकार भने चुकेको छ । डेंगु फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानलाई प्रभावकारी बनाउन सकेको छैन, पर्याप्त जनशक्ति नै परिचालन छैनन् । आवश्यक बजेट विनियोजन र स्वयंसेविका परिचालन गर्नसमेत सकेको छैन । सडकका खाल्डाखुल्डी, मोटरसाइकल वर्कसपमा राखिएका टायर, घरघरमा भाँडाकुँडालगायतमा पानी जम्ने र त्यहीँबाट डेंगु फैलाउने लामखुट्टे विस्तार हुने गरेको विज्ञहरू बताउँछन् ।
स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखा प्रमुख डा. अनुप बास्तोला डेंगु नियन्त्रणमा ध्यान नदिए गत वर्षभन्दा ठूलो महामारीको रूप लिन सक्ने बताउँछन् । ‘डेंगुलाई राजनीतिक तह र स्थानीय तहले गम्भीर रूपमा लिएका छैनन्, जे–जति काम भएका छन्, ती सब देखावटी मात्रै छन्,’ उनले भने, ‘रणनीति नै बनाएर डेंगु नियन्त्रणमा नलागे गत वर्षभन्दा ठूलो महामारीको रूप लिन सक्छ । यसबारे स्वास्थ्य संस्था र स्थानीय सरकारबीच समन्वयमा कमजोरी भइरहेको छ । अबको चार–पाँच महिना डेंगु संक्रमणको उच्च जोखिम छ ।’
हाल काठमाडौंका ठूला अस्पतालहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार, वीर अस्पतालमा दुई र वित्रि शिक्षण अस्पतालमा चारजना डेंगुका बिरामी उपचारका लागि भर्ना भएका छन् । अस्पतालमा आउने अधिकांश बिरामी भर्ना गर्नुपर्ने खालका हुँदैनन् भने धेरै बिरामी त अस्पताल नै आउँदैनन् । वीर अस्पतालका मेडिसिन विभाग प्रमुख डा. सुरेन्द्रलाल श्रेष्ठले अहिले नै डेंगु संक्रमण उच्च बिन्दुमा नपुगेको, तर १५ भदौदेखि भयावह बन्न सक्ने बताए । ‘संक्रमण दर अहिलेसम्म त सामान्य अवस्थामै छ । पछिल्लो समय भइरहेको तीव्र संक्रमणप्रति सचेत भएर नियन्त्रणमा नलागे १५ भदौदेखि भयावह अवस्था निम्तिन सक्छ,’ उनले भने । सिभिल अस्पतालका निर्देशक विधाननिधि पौडेलले डेंगुका लक्षण बोकेर ओपिडीमा आउने बिरामी बढ्दै गएको बताए ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेंगु संक्रमण उच्च बिन्दुमा पुग्ने देखिएकाले रोकथामका लागि सरकारी निकाय र नागरिक समाज नै जागरुक हुनुपर्ने बताए । लामखुट्टेको वासस्थान खोज्ने र लार्भा नष्ट गर्नतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘डेंगु संक्रमणका लागि सबै निकायले चासो दिनुपर्छ,’ उनले भने, ‘समयमै सावधानी नअपनाए भयावह रूप लिन सक्छ ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले नै लागिपर्ने हो भने यस वर्ष डेंगु नियन्त्रण हुन सक्ने बताउँछन् । ‘सुनसरीलगायतका जिल्लामा डेंगु फैलिएको छ, तर काठमाडौंमा अहिले नै व्यापक अवस्था छैन, अहिले नै लार्भा नष्ट गर्नतिर लाने हो भने यस वर्ष डेंगु नियन्त्रण हुन सक्छ,’ उनले भने, ‘तर, सरकारी निकायले यसमा खासै ध्यान दिएका छैनन् ।’ स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने व्यवस्था मिलाइएको बताए । उनका अनुसार डेंगु संक्रमण रोकथामका लागि मातहतका निकायमा निर्देशन जारी भइसकेको छ भने यसका लागि मन्त्रालयले डेडिकेटेड टिम तयार पार्नसमेत लागेको छ ।
सुनसरीमा उच्च संक्रमण, उपत्यकामा फैलँदो
गत वर्ष सबैभन्दा बढी काठमाडौंमा फैलिएको डेंगु यसपालि हालसम्म सुनसरीमा धेरै देखिएको छ । तर, काठमाडौंमा पनि पछिल्लो समय तीव्र बन्ने संकेत देखिएको छ । सुनसरीमा हालसम्म ६ हजार तीन सयमा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा दुई सय ५९ (काठमाडौंमा एक सय ५३, ललितपुरमा ५९ र भक्तपुरमा ४७)मा देखिएको छ ।
मोरङमा एक हजार तीन सय ९३, धादिङमा एक हजार एक सय १०, कास्कीमा दुई सय २५, धनकुटामा दुई सय २३, दार्चुलामा एक सय ९२, झापामा एक सय ८२, संखुवासभामा एक सय दुई, कञ्चनपुर ६७, धरानमा ९६ जनामा डेंगु संक्रमण भएको छ भने अन्य जिल्लामा फाट्टफुट्ट संक्रमण देखिएको छ । कालीकोट, हुम्ला, मुगु, प्युठान, धनुषा र सोलुखुम्बुमा भने डेंगु संक्रमण देखिएको छैन ।
१९ वर्षअघि नेपाल भित्रिएको थियो डेंगु, वर्षमा एउटा मात्रै केस
नेपालमा डेंगु १९ वर्षअघि ०६१ (सन् २००४) मा भित्रिएको थियो । एक वर्षमा एउटा मात्रै केस देखिएको थियो । बीचमा केही वर्ष संक्रमण रोकिएकोमा गत वर्षदेखि पुनः संक्रमणदर उच्च बिन्दुमा पुग्न थालेको हो । सन् २००५ मा एउटै पनि केस देखिएन भने २००६ मा ३२, २००७ मा २७, २००८ मा १० र २००९ मा ३० जनामा संक्रमण देखियो ।
सन् २०१० मा नौ सय १७, २०११ मा ७९, २०१२ मा एक सय ८३, २०१३ मा ६ सय ८६, २०१४ मा तीन सय ५६ र २०१५ मा एक सय ३५ मा डेंगु देखिएको सरकारी तथ्यांक छ । त्यस्तै, सन् २०१६ मा एक हजार पाँच सय २७, २०१७ मा दुई हजार एक सय ११, २०१८ मा आठ सय ११, २०१९ मा १७ हजार नौ सय ९२, सन् २०२० मा पाँच सय ३०, २०२१ मा पाँच सय ४० र २०२२ मा ५४ हजार सात सय ८४ मा संक्रमण पुष्टि भयो । यस वर्ष अगस्ट ९ सम्म ११ हजार १ सय ५७ लाई डेंगु भइसकेको छ ।
अबको चार–पाँच महिना उच्च जोखिम छ : डा. अनुप बास्तोला, प्रमुख, स्वास्थ्य सेवा विभाग, उपचारात्मक महाशाखा
डेंगुलाई राजनीतिक तह र स्थानीय तहले गम्भीर रूपमा लिएका छैनन्, जे–जति काम भएका छन्, ती सब देखावटी मात्रै छन् । रणनीति नै बनाएर डेंगु नियन्त्रणमा नलागे गत वर्षभन्दा ठूलो महामारीको रूप लिन सक्छ । यसबारे स्वास्थ्य संस्था र स्थानीय सरकारबीचको समन्वयमा कमजोरी भइरहेको छ । अबको चार–पाँच महिना डेंगु संक्रमणको उच्च जोखिम छ । नयाँ पत्रिकाबाट