किराञ्चोक कालिका: एक परिचय

Avatar photo
Dhadingpost
शनिबार, साउन २०, २०८०

श्री किराञ्चोक (रण) कालिकादेवी आद्यशक्ति भगवतीको अनन्त स्वरूप हुन् । धादिङको गल्छी गाउँपालिका-४ (साविक पश्चिम १ नं धाई किराञ्चोक, पाल्चोक गाउँ पन्चायत, बरेनी गाविस) स्थित किराञ्चोक कालिका किरानचोक र यस वरीपरीका वासीन्दाहरुका इष्टदेवी समेत हुन् । बैरेनी मासटारबाट ६ किलोमिटर र महेसदोभान बजारबाट १० किलोमिटर दक्षिणतर्फ रहेको यस मन्दीर धार्मिक सँगसँगै ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ ।

हामी वर्तमानमा प्रवेश केहि बेरमा गरौँला, प्रथमत: अतितलाई आह्वान गरौँ ।

कालिकाको उत्पतिका दुई कथा:
कालीको उत्पति सम्बन्धि दुई वटा तर्कहरू देखिन्छन् । एउटाले किराँती राजाहरूले माता कालीको उपासना गरि कालिकाको स्थापना गरेको बताउँछन् भने अर्काथरिले कालुराम जोशी र उनका सन्ततिले माता कालीको स्थापना गरेको बताउने गर्दछन् ।

पहिलो तर्कको चर्चा गर्नुपूर्व ‘किराँतचोक कि किराञ्चोक ?’ भन्नेबारे चर्चा गरौँ ।
१.१. किराँतचोक कि किराञ्चोक ?

प्रथम किराँत राजा यलम्बरका सन्तान दरसन्तानको ३२ औँ पुस्तासम्म अर्थात् १९९८ वर्षसम्म शासन गरेका किराँतीहरू नै हाल ‘किराञ्चोक’ भनिने यस भूमिमा आएको विश्वास गरिन्छ (गोपालराजवंशावलीले १९३५ वर्ष बताएको छ) । हाल कालिका देवी बसेकी थुम्को मुनिको बस्न लायक जमिनमा उनीहरू आई बसी आफ्नो प्रभाव वृद्धि गए । अन्यत्र सरह यहा पनि टाकुरे राजाको रूपमा उनीहरूको शासन चल्दै गयो ।

यहाँ एउटा चोक देखिन्छ, जो किराँतहरूले नै बनाएको प्रष्ट हुन्छ । ज्यामिरेचौर, वडारे, रातमाटे गाउँतिर जाने बाटो; चिन्नेखार्क, अदुवाबारी तिर जाने बाटो; कार्कीडाँडा, सिरबानीतिर जाने बाटो र कालिकाको स्थान (थुम्को) तिर जाने बाटो गरि यहाँ ४ वटा बाटोहरूको केन्द्र देख्न पाइन्छ, जहाँ हाल पनि एउटा वरको बोट रहेको छ । यहि वरको बोट रहेको स्थानलाई ‘किराँतचोक’ भनिदा भनिदै ‘किराञ्चोक’ हुन् गएको विश्वास गरिन्छ । किराञ्चोकबाट अदुवाबारीतिर जाँदा भेटिने आवसीय क्षेत्रमा किराँत राजाहरूको महल रहेको एवं सोहीबाट राजकाज चलेको हुनुपर्ने अड्कल प्रा.डा.रामचन्द्र गौतमले गरेका छन् (स्रोत: गौतम, किराञ्चोक कालिका भगवती- एक चिन्तन, श्री किराञ्चोक (रण-कालिका), स्मारिका-२०७७) गौतमले यस भेगमा राता, बलियाँ इँटाको टुक्राटुक्री अझै पनि भेटिएकाले किराँतकालीन पुरातात्त्विक अवशेषहरूको खोजीका लागि उत्खनन कार्य गरिनुपर्ने समेत बताएका छन् । कार्की डाँडाको पुच्छरमा रहेको कामी डाँडामा पनि यस्ता पुराना इँटाहरू देखिएकाले यस क्षेत्रको पुरातात्त्विक उत्खनन अत्यावश्यक देखिन्छ । त्यहाँ भेटिएका केहि इँटाहरू गौतमको घरमा समेत रहेको ई. धुर्व अधिकारिले बताएका छन् (स्रोत: अधिकारी, कालिका मन्दिर: हिजो र आज, श्री किराञ्चोक (रण-कालिका), स्मारिका-२०७७)

१.२. कालिका देवीको उत्पति:
एउटा शब्द छ- ‘मत्स्य न्याय’, जसको उल्लेख कौटिल्यको अर्थशास्त्रमा भेटिन्छ । यो एक दर्शन नै हो । ‘मत्स्य न्याय’ नामको यस दर्शनका अनुसार ठुला माछाले साना माछालाई खाइदिन्छ, यसकारण सचेत हुनुपर्दछ । ‘मत्स्य न्याय’को सिद्धान्त हरेक राज्य, शासक र विधिमा देखिन्छन् । किराञ्चोकमा पनि यस कुरा देखिन पुगेको हुनुपर्दछ ।

यस कुराको उल्लेख किन पनि गरेको भन्दा, यस भू-भागमा आई राज्य संचालन गरिरहँदा समयक्रममा ठुला माछाले साना माछालाई खान थाले अर्थात् दु:ख दिन थाले । किराँत शासकहरू एवं जनताहरू बाह्य खराब शक्तिबाट शोषित हुँदै गए । ‘यस्ता अवान्छित कर्मबाट दुखित, पीडित एवं चिन्तित किराँतराजाहरू र सर्वसाधारण जनता समेत एकीकृत भई दुर्श्कर्ममा प्रवृत्त दुर्जनहरूको विनाश गरि सज्जनहरूको रक्षा एवं रन्जन गर्नुको साथै सुखमया तथा शान्तमय समाजको स्थापनाका लागि शक्तिको अधिष्ठात्री देवी माता कालीको विधिपूर्वक उपासना आराधना गर्दै मन्त्रपूर्वक आह्वान गर्न लागे (स्रोत: ऐ.) ।’ उनीहरूको टप र प्राथनाबाट प्रसन्न भई कालिका उत्पन्न भइन् । उनीबाट अजेय, अमोध शक्ति र सुभार्शीवास प्राप्त गरि राजा र जनता दुवैथरिले दुर्जनहरूको प्रतिकार गरे । यस क्रममा कालिका थुम रणसङ्ग्राममा रुपान्तरण भयो र अन्तत: देवी कालिकाको आशीषले दुर्जनहरूको हार भयो । ‘रणको माध्यमबाट दुर्जनहरूको विनाश गरि सज्जनहरूको रक्षा गर्ने…कालिका किराञ्चोकको थुम्कोमा रणकालिका नामले पर्ख्यात भई स्थिररुपले रहेकी छन् (स्रोत: ऐ.) ।’ किराँतकालमा नेपालका विभिन्न ठाउँहरूमा किल्ला बनाएर त्यहाँ देवीको थान वा मौलो स्थापना गर्ने चलन व्याप्त रहेको देखिन्छ, जसले यहाँ पनि निरन्तरता पाएकै छ ।

२.१. कालुराम र उनको वंश:
कालिका देवीलाई तत् स्थानमा स्थापना गर्ने श्रेय स्थानीय अधिकारीका वंश पुरुष कालुराम जोशीलाई जान्छ । जोशीका सन्तान कसरी अधिकारि भए त ? यसबारेमा एउटा रोचक प्रसंग छ:

१२ औँ शताब्दीताका भारतमा भएको मुसलमान आक्रमणबाट जोगिन नेपाल आएका काश्यप गोत्रीय कालुराम जोशी कालिकाको थुम्कोदेखि केहि तलको जमिनमा आई बसेको यस सम्बन्धमा प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । गौतमका अनुसार, जोशीले यहाँ आइसकेपछी ब्राम्हणकी कन्यासँग विवाह गरे । उनीहरूको बर्धन, माधव, पराशर र धनराज गरि चार भाई छोरा जन्मिए । छोरारू यथा समयमा वेदादी शास्त्रको गहन अध्ययन गरि विलक्षण प्रतिभाले सुसम्पन्न भए ।

एकदिन चार भाईलाई काठमाडौं हेर्ने/देख्ने इच्छा भएछ । मल्लकालीन काठमाडौंमा राजाले ठुलो यज्ञ सुरु गर्दै थिए । चार भाई पनि त्यहिँ पुगेछन् । यज्ञ गराउने पुरोहित ब्राह्मणहरूले मन्त्र पाठ गर्दै यज्ञकुण्डमा समिधा स्थापन गरि अग्निबाट जोगाउन एउटा पात्रमा आगोको भुंग्रो मगाई स्थापित समिधा माथि खन्याई आगो बाल्न ठीक पारेछन् । बाहिरबाट ल्याएर्को आगो खन्याएर बाल्न लागेपछी ती चार भाई ब्राम्हणले राजाका पुरोहितलाई यसो गर्नु शास्त्र विरुद्ध हुने एवं अशुभ कर्म रहेको बताएछन् । उनीहरूले वेद मन्त्रद्वारा यज्ञकुण्डमा अग्नि उत्पति गर्नुपर्ने बताएछन् । तर, राजाका पुरोहितलाई त्यसो गर्न आउदैन थियो । राजाले मर्म बुझेर चार भाईको परिचय जान्न-बुझ्न खोजे । पहिचान खुलेपछि तिनै चार भाईलाई यज्ञ सम्पन्न गराउने अधिकार प्रदान गरेछन् । अधिकारप्राप्त उनीहरूले वेदमन्त्रले अग्नि उत्पति गरि अग्निमा हवानादी गरि यज्ञ सम्पन्न गरेछन् ।

राजाले खुसी भई ब्राह्मणहरूलाई पूर्वमा टुकटिङ, वाइगाउँ, पश्चिममा दरियालखोला, उत्तरमा त्रिशूलीगङ्गा, दक्षिणमा डकाह भञ्ज्याङदेखिको लेकशृंखलासम्मको भूभागको सनद (दान) पत्र जारि गरिदिए । राजाले नै उनीहरूको विवाह समेत गरिदिए । रहंदाबस्दा, कालुराम जोशीका अनगिन्ती छोरा, नाती, पनाती भएक । त्यस्तैमा त्यो परिवारलाई आफ्नो वासस्थान माथिको थुम्कोमा किराँत राजाकै पालामा समुत्पन्न भएकी कालिका माताको पूजा आरती गर्ने/गराउने प्रबल इच्छा बधाई गयो । यज्ञ गर्ने अधिकार पाएका कारण अधिकारी थर प्राप्त गरेका कालुरामका विद्वान् छोराहरूले आफूले दाङ पाएको जग्गा मध्येबाट बेल्टार दुम्सीकोटमा बार्षिक ६ मुरी, सिर्वानीमा ६ मुरी र सिउँडिनीमा ३ मुरी समेत गरि वर्षको जम्मा १५ मुरी धान आउने खेत समेत गुठी राखेर कालिकाको नाममा दानपत्र गरिदिए । पछि राजा जयस्थिती मल्लले अधिकारीहरुलाई विर्ता र देवीको गुठी पनि राखेको थिए । हाल ती गुठीका जग्गाहरु रैकरमा परिणत भई सकेको देखीएको छ ।

पछि, सन्तानहरूको बसाइसराइ बढ्ने क्रममा राजाले दिएको दान्पत्र र कालिकाको नित्य पूजाआजाको सुव्यवस्थाको लागि राखिएको गुठीको कागजपत्रको जिम्मा सिर्बानीतिर बस्ने जानेलाई दिइएको रहेछ । ती कागजपत्रहरू वि.सं. २००९/१० सम्म सिर्वानीको सुविदार हेमराज आधिकारीको जिम्मामा रहेको, पछि पं भवनाथ अधिकारिको जिम्मामा आएको, पछी पद्यनाथ अधिकारिमा आएको र पद्यनाथको घर चोरी हुँदा हराएको र तत्पश्चात नभेटिएको पाइन्छ (स्रोत: गौतम, किराञ्चोक कालिका भगवती- एक चिन्तन, श्री किराञ्चोक (रण-कालिका), स्मारिका-२०७७)

कालिकाको उत्पतिलाई पुष्टि गर्ने सन्दर्भमा किराञ्चोक रातमाटेका एक विद्वान यसो भन्छन्- ‘स्थानीय स्तरमा हेर्दा हाम्रो किराञ्चोक क्षेत्रमा प्रवेश गरेका हिन्दु समुदायमा दुइटा देवताप्रति विशेष आकर्षण देखिन्छ । एउटा देवी शक्तिको रूपमा किराञ्चोक कालिकालाई राखेको देखिन्छ । अर्को लामाचिरामा रहेको महादेवस्थान छ । अरु देवताहरू घरभित्र पूजाकोठामा थन्किए भएन दुई देवताले खुल्ला चौतारी भेट्टाए । (स्रोत: विष्णु अधिकारि, शक्तिपीठका रूपमा देवी मन्दिरहरू, श्री किराञ्चोक (रण-कालिका), स्मारिका-२०७७)

कालिकाको उत्पतिका सम्बन्धमा प्रा. डा. रामचन्द्र गौतमको तर्क यसप्रकार रहेको छ, “किराँतचोकबाट किराञ्चोक रहन गएको हो भन्ने कुरा चाहिँ वास्तविक हो, यथार्थ हो । किराँतहरू टाकुरे राजाको रूपमा त्यहाँ नरहेको भए वरको बोट नजिकैको चौबाटोको नाम किराञ्चोक हुने थिएँ । किराञ्चोक नभएको भए कालिकाको नाम पनि किराञ्चोक कालिका हुने थिएन ।..कालुराम जोशी भारतबाट आई कालिकाको पूजाआजाको निरन्तरताको निम्ति १५ मुरी धान आउने खेत गुठी राखेका थिए भन्ने निर्णय गर्न सकिन्छ (स्रोत, गौतम, सोही) ।’

पृथ्वीनारायण शाहले गरेको कालिकाको उपासना:
पहिलो नुवाकोट आक्रमणबाट हार व्योहोरेका पृथ्वीनारायण शाहले बनारस गई, काश्यप गोत्र धारण गरेका थिए । बनारसको मणिकर्णिका घाटमा सोझै आई किराञ्चोक कालिका भगवतीको श्रद्धा-भक्तिक साथ् पूजा उपासना, आराधना गरि रणकालिकाबाट अजेय शक्ति अमोध बल र आशीर्वाद प्राप्त गरेका शाहले नुवाकोटको रंगसङ्ग्राममा विजय प्राप्त गरेको प्रा.डा. गौतमले बताएका छन् ।

पृथ्वीनारायण शाहले नुवाकोट दोश्रो आक्रमण गर्न जाँदा यहि बास बसेका र नुवाकोट जितेमा बलि चढाउँछु भनेका थिए भन्ने विश्वास गरिन्छ । मध्यरातमा आफ्नो सेनासहित त्रिशूली तरी शाहले नुवाकोट आक्रमण गरेका र युद्धमा विजय हासिल गरेपश्चात उनले आफ्नो वचन पुरा गरेका बताइन्छ । अरु सर्वसाधारणले पृथ्वीनारायाणको अभियानलाई सघाउन पूजा बलि गरे । यस क्रममा यहाँ दिइएको बलि (रक्त) बग्दै कोड्खोलो (पहिले कोतखोलो) मा आएको थियो । कोतखोलो हुँदै कोड खोलो भएको विश्वास गरिन्छ । देवी आव्हान गरि रणमा गएका र विजय पनि भएका कारण पृथ्वीनारायण शाहले यसको नामको अगाडि रण थपिदिएको पनि बताउने गरिन्छ ।

मुख्य किरानचोक र यस वरीपरीका वासीन्दाहरुका इष्टदेवी रहेका कारण यसलाई ‘किराञ्चोके रणकालीका’ भन्ने गरिन्छ । धादिङवासीहरूले जुनसुकै पूजा-उत्सव एवम् धुपधुवाँर गर्दा ‘किरानचोके रणकालिका’ भनेर स्मरण गर्ने गरेको यद्यपि पाइन्छ । ‘किराञ्चोके कालिका माईलाई पहिलो आरती हरेराम पहिलो आरती’ आदि भन्ने गरिन्छ ।

यस भेगमा ससना धार्मिक कृत आ-आफ्ना गह्र्मा गरिने तर सामुदायीक प्रकृतिका धार्मिक पूजापाठ समुदाय मिलेर आफ्नै गाउँमा गरिन्छ भने विशेष धार्मिक कृत्यहरू कालिका मन्दिर र परिसरमा गर्ने चलन यद्यपि प्रचलित छ । यस्ता धार्मिक कार्यमा प्रयोग भएका फूलपातीहरू डोलामा सजाएर वाद्यवादन सहित त्रिशूलीमा लाग्ने विसर्जन गर्ने चलन अद्यापि प्रचलित छ (स्रोत: शालिग्राम अधिकारि, सोही)

केहि लोक विश्वासहरू:

१. कालिका मन्दिर वरपर बाघ सुतिरहेका हुन्थे: कथनअनुसार, बिहान ४ बजे नै पूजारी पूजा गर्न जाँदा कालिका थानअगाडि ठुला-ठुला बाघहरू सुतिरहेका हुन्थे । पूजारीले आएर ‘छट तिमीहरू, म पूजा गर्न आएको’ भन्नेबित्तिकै लुसुक्क उठेर जान्थे । पूजारीलाई केहि गर्दैन थिए । बाघ देवीका वाहन भएकाले यो विश्वास प्रचलित हुन् आएको होला । (स्रोत: तारनाथ गौतम, श्री किराञ्चोक कालिका विधि व्यवहार, श्री किराञ्चोक (रण-कालिका), स्मारिका-२०७७) कालिकाको पूजा आरतीमा तलमाथि परेको खण्डमा गाउँतिर बाघले दु:ख दिने, गाईवस्तुहरू खाइदिने, एब्लुका साँझ पर्नासाथ बाघहरू गाउँ नजिक आएर कराउने गर्ने गरेको उल्लेख समेत गौतमले गरेका छन् ।

२. रक्तकालिका देवी: बाहै शताब्दीताका पुर्व तर्फको केहि तल रहेको पटांगिनी वा पाटाहरुमा किसानहरुले खेतीपाती गर्न खनजोत गर्दा जमिनबाट रगत आएकोले तान्त्रिकहरुले तन्त्रशक्तिबाट विचार गर्दा उनै किराञ्चोक कालिकाको मन्दिर स्थापना गरि पुजा गर्नुपर्ने कुरा देवीबाट स्वप्नमा सुचना दिएपछि मन्दिर स्थापना गर्दा तिनै देवीलाई रक्तकालिका देवी समेत भनिएको भन्ने किवंदन्त पनि छ ।

३. केहि मानिसहरूले पर्यावरणमा असर पर्ने गरि कालिकास्थान परिसर भित्रका रुख बिरुवा काट्ने कुकृत्य गरेछन् । तिनीहरूलाई सचेत गराउन कालिकाले आफ्नो वाहन (बाघ)लाई पठाई गोठका सम्पूर्ण पशुधन समाप्त पारिदिएको भनाइहरू छन् (स्रोत: शालिग्राम अधिकारी, किराञ्चोक कालिका: जानश्रुति र यथार्थ, सोही)

पूजाआजा:
यस कालिकामन्दिरको पूजा-आरति नित्य निरन्तर चलाउनका लागि कार्की डाँडामा बस्न गएका कालुरामकै वंशजलाई जिम्मा दिइएको छ । उनीहरूले पूजा गर्ने एवम् पुजारी नियुक्त गर्ने गरेका छन् । जात्रामात्रा व्यवस्थित गर्ने, कालिकाको भौतिक सम्पतिको संरक्षण गर्ने, कालिकाको स्थान वरपर स्थल भत्किए-बिग्रिएमा मर्मरसम्भार गर्ने, मन्दिर परिसर सफासुग्घर राख्ने, दशैँ आदि अवसरमा पाठपूजा एवम् पशुपन्छीको बाली दिन जाने भक्तजनहरूका निम्ति समुचित प्रबन्ध मिलाउने, गुठि राखिएको जग्गा कमाउने र यसबाट आयस्ता आए-नआएको विचार गर्ने, कोतपूजा, मौलो पूजाको व्यवस्थाको मिलाउने, कोतघरमा दशैंमा दुर्गापूजा गर्ने, जमरा राख्ने, पशुबली चढाउने प्रबन्ध गर्ने, चैतेदशैंमा पनि कोतपूजा- बलीपूजाको व्यवस्था गर्ने चलन छ । देवीको पूजा गरेर फर्किएकाहरूले घरमा आई जुंगेफुल, करवीरको फूल, अक्षेता आदि प्रसाद घरका बच्चाबच्ची र वयोवृद्धलाई लगाइदिने गर्दथे ।

पूजारीलाई मङ्सिर पूर्णिमाको जात्राको समयमा मात्रै होइन अघिपछि पनि पाठपूजा गर्न आउनेहरूले ल्याएर चढाएको चामल पैसा र बाह्रघरे बाहेकका मानिसले बलि दिएका बोका, भेडा आदि पशुको काँधो र एउटा डुंडीखुट्टो पनि दिने प्रचलन थियो । पूजारीलाई जूठो सूतक आदि अड्काउपड्काउ पर्दा पूजाआजा चलाउनुपर्ने र कालिकाको विषयमा जहिले पनि रेखदेख, सुग्घर सफा गर्नुपर्ने भएकाले बाह्रघरेले बलि दिएको पशुको काँधो चाहिँ पूजारीले लिने गरेको थिएन (स्रोत: प्रा.डा. रामचन्द्र गौतम, ऐ.)

‘कार्कीडाँडा सिरुवानी बस्ने ब्राम्हणहरूलाई ‘बाह्रघरे’ भनिन्थ्यो । उनीहरू देवीको पूजा-परम्परालाई सहयोग गर्ने, पूजारीलाई सहयोग गर्ने, पूजारीलाई जुठो-सुत्केरो पर्दा पुजारी नचोखिएसम्म कालिकाको पूजा घरघर पालो लगाएर गने गर्दथे । अरु गाउँहरूबाट पनि आवश्यक सहयोग गर्ने थिति थियो । पूजारीले पनि आसपासका अन्य गाउँहरूमा घुमेर पूजा सामाग्री संकलन गर्दै निरन्तर चोखोनितो सहित कालिकाको पूजा गर्ने गर्दथे । (स्रोत:स्रोत: तारानाथ गौतम, श्री किराञ्चोक कालिका विधि व्यवहार, श्री किराञ्चोक (रण-कालिका), स्मारिका-२०७७)

बाह्रघरेले गरेको काम २५/३० वर्षअघिसम्म सामन्यरूपमा नै चलिरहेको थियो तर अहिले बाह्रघरेले गर्दै आएको कोटको मैदानमा रहेको कोट घरमा गरिने कोट पूजा र कालिकाको पूजाआजाको रेखदेखमा पनि निष्क्रियता मात्रै होइन कमी नै आएको देखिन्छ ।

जलधारा: ‘कालिका मन्दिरको एउटा पूजा परम्परा ‘जलधारा’ पनि हो । खेतीपातीको समय अर्थात् वैशाख/जेठमा पानी नपरेको खण्डमा ‘पानी परोस्’ भन्ने आकांक्षासहित गाउँभरिका व्यक्तिहरूले पैसा उठाएर बोका किन्ने र बोका बलि सहीत ‘हे देवी जल देऊ’ भनेर जल झार्ने गरिन्थ्यो । मलाई जानकारी भएसम्म त्यसरी जलधारा गरेको दिन कहिले त् अन्धाधुन्ध पानी पर्थ्यो । (स्रोत: ऐ.)

कटुवाले प्रथा:
बडादशैंमा कालिकाको कोतघरमा पूजाआजा, टीका-जमरा पछि मात्र विजयादशमीको दिन गाउँलेहरूलाई घरघरमा टिका जमाउन कतुवालेलाई सूचना गर्न लगाउने, दशैंमा गाउँघर वरिपरिका बाटाघाटा, धारा पानी, सफा गर्ने काम आदिका निमिति कटुवालेलाई उर्दी गर्न लगाउने, प्रकोप आदि विपदमा र असाधारण समस्याहरू आइपर्दा कोटको मैदानमा जनता उपस्थित गराउने काममा र माता कालिकाको विशेष पूजा गर्नुपर्दा कटुवालेले उर्दीपुर्दी गर्ने, कटुवाललले काम गरे बापत उसलाई किराञ्चोकका ‘प्रत्येक घरधुरीले वार्षिक एक पाथी अन्न’ दिनुपर्ने चलन रहिआएको थियो, हाल सो परप्परा नासिएको छ । यसप्रकार पूजाआजा एवम् अन्य मन्दिर व्यवस्थापनको जिम्मेवारी कार्की डाँडाका ‘बाह्र घरे’ अधिकारिको थियो । बाह्रघरेमा कटुवाल समेत पर्दथ्यो कार्कीडाँडाको सेतोपैराका ‘गोरे सार्की’ एक समय कटुवाल रहेको तथ्य भेटिन्छ, उनी अघि र पछि को-को कटुवाल थिए खोजीको विषय रहेको छ ।

मङ्सिर पूर्णिमामको भव्य जात्रा:
कालिका मन्दिरमा लाग्ने मङ्सिर पूर्णिमामको जात्रा अत्यन्त भव्य हुने गर्दथ्यो । जात्रा कति भव्य हुन्थ्यो भने, आफू बस्ने ठाउँ ओगट्न भक्तजानहरू गुन्द्री आदि लिएर आउने गर्दथे । यस ऐतिहासिक जात्रालाई नेपाल सरकार पन्चाङ्ग निर्णायक समितिबात र्प्काषित हुने पन्चाङ्ग (पात्रो)ले र नेपाल संस्कृत विश्वविद्यालयद्वारा प्रकाशित गरिने पात्रोले पनि निकै महत्त्व दिएर ‘धादिङ किराञ्चोक कालिका भगवती जात्रा’ भनि लेख्ने गरेको पाइन्छ ।

जात्राको कुरा गर्नुपर्दा, किराञ्चोक र आसपासका गाउँका महिला र पुरुषहरू दिनभर जाग्राम बसेर साँझ कालिका मन्दिर वरपर बत्ती बाल्थे, जसलाई दीपदान भनिन्छ । कसैले तामाको दियोमा, कसैले मानोमा महादीप, कसैले बाँसको लौरोमा पिउरी बेरेर धागोले बाँधेर कागजको झल्लर समेत राखेर सिंगारीवरी महाबत्ति बाल्ने गर्दथे । मन्दिरबाट ल्याइएको बत्त्तिले आफ्नो बत्ती सल्काउने गर्दथे । बत्ती सल्काईसकेपछि पण्डित पुरोहितको वचनले स्थापित दीपकलश गणेशको संकल्पपूर्वक पूजाआजा गरिन्थ्यो । त्यसपछि वचन भनें, अन्य ब्राम्हण एवं कन्या ,केटीहरूलाई पनि टिकाटाला, दानदक्षिणा दिने गरिन्थ्यो । बालिएको बत्तीको संरक्षण गरि रातभर जाग्राम बस्ने र सो अवधिमा नाचगान, भजन-कीर्तन गरिन्थ्यो । बिहान भएपछी बत्ती सेलाउने काम हुन्छ (स्रोत: गौतम, सोही) ।

जात्राको अर्को रौनक के थियो भने, वर्ष दिनभित्रमा कुनै गाउँमा कुनै पक्षसँग झगडा-विवाद भयो भने त्यसको जवाफ लिने समय कालिकाको जात्रा हुन्थ्यो । वर्ष दिनसम्मको रिसइबी साँध्ने, मान्छेलाई कुटपिट गर्ने र जित्ने उद्देश्यसहित जात्रा आउने मानिसको कमी हुँदैनथ्यो । तारानाथ गौतमका अनुसार, ज्यामिरे चौरका रणबहादुर (अमृते), अज्स्लाई रिफेल समेत भनिन्थ्यो । ठुलो जीऊ भएका उनी जात्रामा आएपछि केहि मानिसको सातो जान्थ्यो । (स्रोत: ऐ)

गौतमका अनुसार जात्राको अर्को आकर्षण भजन गीत र बालुन हुन्थ्यो । देवताहरूका चरित्रलाई टुक्काहरू मिलाएर ‘नारायण हरिहरि; भन्ने लयमा खैंजडी, मजुरा, कर्तल आदि बजाएर रातभर भजन भनेर नाच्ने चलन थियो । लामो लयमा देवलकै गाथा गएर भजन जस्तै तर लय बेग्लै लामो गरेर बालुन (लयलाई बेसरी तन्काउँदै- खै ? खै ? देवको तिम्रो बालो हेरौं । काखैमा लिएर बसौँ ।) गाइन्थ्यो । जात्राका तन्नेरीहरूले काँठतिरको लामो लय मिश्रित दोहोरि गीत गाउथे । उनीहरू झ्याउरे गीत पनि गाउने गर्दथे ।

जात्रा अर्को रौनक यहाँ लाग्ने हाटबजार पनि हो । कार्कीडाँडामा एक रेग्मी ब्राम्हण थिए, त्यहाँ खानेकुरा (चुरोट आदि) किन्न पाइन्थ्यो, अन्य पसल थिएन । तर जात्राकोस समयमा गल्छीतिरका व्यापारीहरू टीका, चुरा, धागो, सिन्दुर, मिश्री, नरिवल आदि बेच्न ल्याउने गर्दथे । उनीहरू मन्दिर पटाङ्गिनी छेउछाउमा स्याउला छाप्रो बनाएर पसल राख्थे । पानीको अभाव हुनाले अँधेरी कुवाबाट तामाको घ्याम्पामा पानी ल्याई व्रतालु र जात्रालुलाई पानी खुवाउने चलन थियो । पानी बोकेर खुवाए धन कमाइन्छ भन्ने विश्वास थियो त्यतिबेला ।

‘जात्रालु र बत्ती बाल्ने भक्तालुहरूले कालिकामाईलाई चढाएको भेटी/नैवैध, दियो कलश थापेको चामक पैसा निकै हुने गर्दथ्यो । कति हुन्थ्यो भनेर नगनिए पनि चामल चाहिँ ३ मुरीसम्म हुने गरेका कुरा त्यहाँ वरिपरीका हामी सबैलाई थाहा छ (गौतम, ऐ.) । यो जात्रा अहिले पनि लाग्दछ तर पुरानो रौनक देख्न भने पाइदैन । सम्पदा संरक्षण समृद्धिको आधार हो भन्ने बुझ्न र बुझाउन ढिला भइसको यस समयमा किराञ्चोक कालिकाको पुनर्निमाण र संरक्षण सम्पदा संरक्षणको नयाँ अध्याय बन्नेछ विश्वास लिन सकिन्छ ।

गुठि भोज:
संवत फेरिएर नयाँ सुरु भएपछी वर्षभरिमा पूजारीलाई गाउँलेहरूले देवीको पूजा गर्नको लागि दिएका अक्षताहरू बचाएर र पूजारीका तर्फबाट १ छाक घरको एक जनालाई बोलाएर गुठि भोज समेत खुवाइन्थ्यो । यो प्रक्रिया पूजारी र बाह्रघरेहरूको सम्बन्ध बनिरहोस् भन्नका लागि गरिएको पाइन्छ । यस्तो गुठि भोजमा पहिले फर्सी र मासको दाल पकाइन्थ्यो । हाल गुठि भोज देख्न पाइदैन । किराञ्चोक सात बीस गाउँ (अर्थात् १४० गाउँ) को रूपमा पनि सर्वप्रचलित रहँदै आएको छ ।

मन्दिरको पुनर्निमाण र क्षमापूजा:
किराञ्चोक कालिका जीर्ण हुँदै गइरहेको थियो । १० वर्ष अघि (२०७० मार्ग १५ गते) कालिका माताको मन्दिर जीर्णोदार गर्ने कुरा उठ्यो । यस कार्यमा स्थानीयताबासीले अग्रसरता लिए । त्यसपछि अनौपचारिक बैठकमा आय-व्यय पारदर्शितालाई प्राथमिकतामा राखेर कार्य विभाजन गरि निमार्ण कार्य सुरु गर्ने निर्णय गरियो । ई. धुर्व अधिकारिको सक्रियता एवं प्ररिरूप (डिजाइन) मा पुरातात्त्विक महत्त्वसहितको मन्दिर निर्माण गर्न पुरातत्व विभागबाट प्रथम चरणमा ५ लाख प्राप्त भएको र तत्कालिन वैरेनी गाउँ विकास समितिबाट बिनियोजित १ लाख २७ हजार रुपैँयाको लागतमा मन्दिरको निर्माणकार्य अघि बढेको पाइन्छ । हालसम्म पुरातत्व विभागबाट करिब ७० लाख रकम विनियोजित भई प्यागोडा शैलीमा मन्दिरको पुनर्निमाण कार्य सम्पन्न भएको छ ।

२४ मंसिर २०७७ मा मन्दिरमा पूनः निर्माणपछि पहिलो पटक क्षमा पुजा एवम् कालिका मन्दिरको बारेमा लेखिएको स्मारिका समेत विमोचित गरिएको थियो । सो अबसरमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम, पूर्व प्रशासक ताराना गौतम, लगायतकाको सहभागिता रहेको थियो ।

मन्दिरको वर्तमान अवस्था:
ई. ध्रुव अधिकारीका अनुसार, परम्परागत इँटा (दची इँटा) र लोकल इँटा प्रयोग गरि गाह्रो लगाइएको छ भने काठमा बुट्टा कुँदेर झ्यालढोका बनाइएको छ । छानामा सालको काठ प्रयोग गरि ताम्रपत्रले छाइएको छ भने गजुर पनि तामाकै रहेको छ । मन्दिरको चारै कुनामा बुट्टादार टुंडाल छ । मुठलमा तामापाता लगाई छानामा रहेका मुसीमा हावाबाट बज्ने घन्टी राखी यस मन्दिरलाई ऐतिहासिक र पुरातात्त्विक महत्त्व झल्काउने प्रयत्न गरिएको छ । मन्दिर परिसरमा रहेका देवस्थलहरूमा मूर्ति बनाई स्थापना गर्ने गर्ने काम भएको छ भने मन्दिर परिसरमा भ्यूटावर, पुजारी घर, शौचालय, वनभोज स्थल र सिंढीयुक्त बाटाहरू आदि निर्माण सम्पन्न भएको छ ।

वर्तमान अवस्था:
अहिले मन्दिरसंगै भ्यूटावर निर्माण भएको छ । मन्दिरसम्मै ग्राभेल बाटो पुर्याइएको छ । मन्दिरमा दर्शनका लागि जानेहरूले प्राकृतिक सौन्दर्यले लोभ्याउने गर्दछ । आनारिक र बाह्य पर्यटकहरू यहाँ आइरहेका छन् । यस ठाउँमा पिच भइदिएमा थप दर्शनार्थी एवम् पर्यटकहरूलाई आकर्षित गर्न सकिन्थ्यो । यस मन्दिरको प्रचारप्रसारमा यथेष्ट ध्यान दिन सकिएमा ७७ जिल्लाकै दर्शनार्थीहरूको आगमन हुने देखिन्छ ।

धादिङ जिल्ला बैरेनी गाउँ विकास समिति वडा नम्बर ३ स्थित उच्च सुन्दर थुम्काको वरीपरी चारैतिर सल्लेरी वन जंगल, साल र अन्य जंगली बुट्यान र बृक्षहरुले ढाकिएको मनोहर स्थानमा श्री किराञ्चोक कालिका भगवतीको अत्यन्त महत्वपुर्ण धार्मिक एंव ऐतिहासिक मन्दिर रहेको छ । मन्दिरको पश्चिमतिर बेल्खु, गर्दुवा, दरियाल खोलाको नागवेली बहाव, पुर्वतर्फ चिरौदी खोलाको सुन्दर स्वरुप तथा उत्तरतर्फ पवित्र धार्मिक ऐतिहासिक त्रिशुली नदी एवं साना ठुला पहाडी श्रृङखला र गणेश हिमाल अन्नपुर्ण लगायत विभिन्न हिमश्रृङखलाहरुको मनमोहक प्राकृतिक रमणीय दृश्य यस मन्दिरको थुम्काबाट चारैतिर देख्न पाइन्छ ।

प्रचार-प्रसारको अभाव:
मन्दिर निर्माण तथा आवश्यक भौतिक निर्माण पश्चात यसको संरक्षण, व्यवस्थापन एवं प्रचारप्रसारको कार्य अगाडि बढाउनुपर्ने हुन्छ । भौगोलिक रूपमा मनमोहक यस स्थानमा खानेपानी र विद्युतको अभाव यद्यपि देखिएको छ । यस स्थलको महत्त्व र महिमा बुझी थप पर्यावरणमैत्री, पुरातत्वक मर्यादा सहितका गतिविधिहरू अगाडि सार्दै प्रचारप्रसारमा जोड दिने सकेमा यसले धार्मिक पर्यटन टेवा दिने नै थियो, धादिङकै बलियो चिनारी समेत पस्कने थियो ।

अन्त्यमा,
नेपाल सम्पदा, सभ्यता र संस्कृतिले भरिएको मुलुक हो तर हामीले हाम्रो सम्पदा, सभ्यता र संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकेका छैनौँ । अन्य मुलुकले कृत्रिम संरचना बनाएर लाखौँ पर्यटक आकर्षित गरिरहेका छन् तर हामीकहाँ किराञ्चोक कालिका जस्ता हजारौँ वर्ष पुरानो पुरातात्त्विक, ऐतिहासिक र धार्मिक संरचनाहरू चर्चा-परिचर्चा देखि निकै पर छन् । सम्पदा क्षेत्रलाई ओझेलमा पार्ने संरचना काँटछाँट गर्दै सरकारले नीति, नागरिकले जिम्मेवारीबोध र सामाजिक अभियन्ता तथा सम्पदाविद्ले आवश्यक चेतना जागृत गराएको खण्डमा किराञ्चोक कालिका जस्ता सम्पदाहरू मुलुकको समृद्धिको आधार र अवसर बन्ने पक्कापक्की छ ।

कसरी पुग्ने ?
काठमाडौंदेखि ६० कि.मि. पश्चिम गएपछि पवित्र गण्डकी त्रिशूली नदी र महेश खोलाको दोभान (महेश दोभान) नजिकैबाट दक्षिणतर्फ करिब १० कि.मि. पार गरेर यहाँ पुग्न सकिन्छ । बाटोका ठाँउठाँउमा पर्ने जलका प्राकृतिक कुवा, धारा चौताराहरुले बाटोमा सुन्दर बढाएका छन् ।

लेखक परिचय:
आदर्श अधिकारि : धादिङ किराञ्चोक स्थायी घर भएका अधिकारी हाल नयाँ नैकाप बसोबास गर्दै आइरहेका छन् ।
राजु झल्लु प्रसाद: धादिङ मैधी घर भएका इतिहास र संस्कृतिका विद्यार्थी झल्लु प्रसाद पर्यावरण, इतिहास र संस्कृति सम्बन्धमा विगत ५ वर्षदेखि रिपोर्टीङ गर्दै आइरहेका छन् ।