खो-खो संघ धादिङको अध्यक्षमा उद्धव रिजाल चयन

Avatar photo
Dhadingpost
शनिबार, साउन २०, २०८०

धादिङ । धादिङबेसीमा सम्पन्न भेलाले नेपाल खो-खो संघ धादिङको अध्यक्षमा उद्धव रिजाललाई चयन गरेको छ ।

धादिङ जिल्ला खेलकुद विकास समीतिका अध्यक्ष श्री प्रताप सिंह तामाङको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले खो-खो संघ धादिङको उपाध्यक्षमा सुनिल सिटौला र भक्त बहादुर गुरुङ, सचिवमा गणेश आचार्य कोषाध्यक्षमा सुस्मा पोखरेल र सदस्यहरूमा मनोज श्रेष्ठ, अशोक गुरुङ, शंकर रिजाल, दिपा पूरी, सन्तोष गुरुङ, देव वहादुर गुरुङलाई चयन गरेको छ ।

भेलामा नेपाल खो-खो संघको केन्द्रिय कार्यवाहक अध्यक्ष प्रदीप महर्जनको विशेष आतिथ्यता, मुख्य प्रशिक्षक लक्ष्मीनारायण वैद्य लगायतको आतिथ्यता रहेको थियो । तस्वीर: प्रतापसिंह तामाङको फेसबुकबाट

नेपालमा खो-खो खेल कहिले सुरु भयो ?
नेपालमा २०३८ सालदेखि विद्यालय पाठ्यक्रममा शिक्षा विषयमा खो-खो खेल समावेश गरिए पनि तालिम प्राप्त प्रशिक्षकको अभावमा यो खेलले लोकप्रियता पाउन सकेन । २०४१ सालमा भारतबाट आएका प्रा.भी.डी. बापतले भ्रमणको क्रममा राम्रो खेल प्रदर्शन गरेपछि यो खेलले नेपालमा नयाँ रूप धारण गरेको थियो । २०५१ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो-खो संघको तदर्थ समिति गठन पछि २०५२ सालमा उक्त संघले मान्यता पायो र यस खेलले संस्थागत गतिविधिहरु अगाडी बढाएको थियो ।

संघ गठन भए सँगै भारतको कलकत्तामा भएको पहिलो एसियन खो-खो प्रतियोगितामा नेपालले तेस्रो स्थान प्राप्त गरी सार्क मुलुकमा राम्रो प्रभाव पार्न सफल भएको थियो । त्यसैगरी बङ्गलादेशको ढाकामा सम्पन्न दोस्रो एसियाली खो-खो प्रतियोगितामा नेपालले राम्रो प्रदर्शनका साथ थाइल्यान्डलाई पराजित गर्दै श्रीलङ्कासँग बराबरी गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा भारत प्रथम, बङ्गलादेश द्वितीय तथा श्रीलङ्का तृतीय भएको मा नेपालले चौथो स्थानमा चित्त बुझाउनु परेको थियो ।