लाइभ बैठकको बुमेर्‍याङ

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १२, २०८०

काठमाडौं । गत २ साउनदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बुधबारको अन्तिम बैठकमा सभापति शेरबहादुर देउवाले संक्षिप्त सम्बोधन गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको निर्णयका ’boutमा स्पष्ट पारेका थिए ।

सभापति देउवाले अत्यन्तै संक्षिप्त मन्तव्य राख्दै कम आलोचना भएकोमा धन्यवाद दिए र पुराना कांग्रेसी नेता सूर्यप्रसाद उपाध्यायको पुनस्र्थापनाको निर्णयको जानकारी दिए । महामन्त्री गगन थापाद्वारा प्रस्तुत एजेन्डामाथि झन्डै एकसाता लामो छलफलका आधारमा आवश्यक परिमार्जनसहित पारित गर्ने निर्णय भएको छ । शुरूमा नीति महाधिवेशन गर्ने भनिएतापनि कांग्रेसले आगामी ११ मंसिरदेखि १३ मंसिरसम्म महासमिति भेला गर्ने तय गरेको छ ।

कांग्रेसले सांगठनिक सुदृढीकरणका लागि २० साउनदेखि ३० साउनसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ । अभियानमा सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुने कांग्रेसले बताएको छ । यस्तै २७ साउनमा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ भने १० भदौदेखि २४ भदौसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको छ ।

कांग्रेसले शारीरिक आक्रमण र कालोमोसो दल्ने जस्ता आराजक क्रियाकलापमा संलग्न हुनेको सदस्यता खारेज गर्नेदेखि बागी विजेताको कारबाही फुकुवा, भ्रातृ संस्था दलित संघको केन्द्रीय समिति भंग, सुशासन’bout १५ बुँदे प्रस्ताव पारित र भ्रष्टाचारविरोधी जुनसुकै अभियानमा साथ दिनेसम्मको निर्णय गरेको छ ।

बैठकले बालकृष्ण खाण’bout कुनै निर्णय नलिएपछि महामन्त्री गगन थापाले फरक मत राखेका छन् । उनले खाणलाई निलम्बन गर्नुपर्ने लिखित फरक मत दर्ज गराएका छन् ।

कांग्रेस बैठकले मधेशलाई सुख्खा क्षेत्र घोषणाको माग राखेको छ । महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको भन्दै बैठकले सुख्खा क्षेत्र घोषणाको माग गरेको बताए ।

कांग्रेस विधानअनुसार कांग्रेसको केन्द्रीय समितिको बैठक दुई महिनामा एकपटक बस्नुपर्ने व्यवस्था छ । विधानको कार्यान्वयन हुने गरी बैठक अन्त्य गर्दै देउवाले केन्द्रीय समितिको अर्को बैठक आगामी २ असोजका लागि बोलाएका छन् ।

बहुप्रतिक्षीत कांग्रेस केन्द्रीय समितिको बैठकको विशेषता के रह्यो भने नेपालको इतिहासमै कुनै पनि राजनीतिक दलको केन्द्रीय तहको बैठकको सम्पूर्ण मन्तव्यहरू फेसबुक लाइभमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो । निक्कै लामो समयदेखि स्थगित रहेको केन्द्रीय समितिको बैठकको सन्दर्भ र सभापतिको कार्यशैलीप्रति असन्तुष्ट रहिआएका युवा समुहको खुला विरोधलाई नियाल्नेहरूले यो बैठकमा निक्कै घम्साघम्सी हुने अपेक्षा गरेका थिए । विशेषतः महामन्त्री गगन थापाको ‘नेतृत्व फेर्न पुरै कोशिश गर्ने’ उद्घोषाले त कतिपयले केन्द्रीय समितिको बैठकमा निर्णायक विद्रोह हुनेसम्मको भविश्यवाणी गर्न थालेका थिए । झन्डै एक साता चलेको बैठकले धेरैलाई ‘निराश’ बनायो भन्दा अत्युक्ति नहोला ।

बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव स्वयं सभापति देउवाको तर्फबाट आएको थियो । त्यस्तो प्रस्ताव आउँदा गगन थापालगायत केहीले ‘वक्ताहरूले खुलेर नबोल्ने’ आशंका व्यक्त गर्दै लाइभ प्रसारणको झिनो विरोध गरेका थिए । तर देउवा आफ्नो निर्णयमा अडिग रहे । देउवा समर्थकहरूले भने, ‘भित्र नरम कुरा गर्ने अथवा एउटा कुरा गर्ने तर बाहिर आएर क्यामेराका सामू चाहिँ अतिरञ्जित कुरा बताउने प्रवृत्ति देखिएको हुँदा त्यस्तो क्रियाकलाप अन्त्य गर्न देउवाले यस्तो निर्णय गरेका हुन् ।’

जे होस्, प्रत्यक्ष प्रसारण भयो र सो निर्णयको स्वतन्त्र पर्यवेक्षक एवं विश्लेषकका तर्फबाट पनि स्वागत भयो । राजनीतिक दलहरूको आन्तरिक बैठकहरूबाट प्रेसलाई सकभर टाढै राख्ने र अत्यन्तै नियन्त्रित ढंगबाट सूचना प्रवाह गर्ने परम्परा रहिआएको सन्दर्भमा प्रत्यक्ष प्रसारणको निर्णय ऐतिहासिक नै थियो ।

इच्छुक आमजनता एवं सञ्चारजगतले कांग्रेस बैठकको सम्पूर्ण क्रियाकलाप प्रत्यक्ष हेरे । प्रत्येक वक्ताका वाणी सुने र अनि आआफ्नै ढंगले विभिन्न कोणबाट विश्लेषण गरे । प्रायः सबै श्रोता र समाचार सम्प्रेषकहरूले एउटै निस्कर्ष निकाले– गगन थापा कमजोर भए । हुन पनि दुई तिहाईभन्दा बढी वक्ता केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय र त्यसमा पनि विशेष रुपमा गगन थापालाई लक्षित गरेर आलोचना गरेको देखियो । उनीहरूमध्ये प्रायः सबैको एउटै भनाइ थियो, ‘सभापतिलाई खुइल्याउने र नराम्ररी सार्वजनिक आलोचना गर्ने काम ठिक होइन ।’ केहीले त कांग्रेसको तमाम अकर्मण्यताको लागि महामन्त्रीद्वय नै जिम्मेवार भएकोसम्म भन्न भ्याए । लक्ष्मी खतिवडा र गोविन्दबहादुर शाह जस्ता केन्द्रीय सदस्यहरू त युवा महामन्त्रीद्वयप्रति अत्यन्तै आक्रामक रुपमा प्रस्तुत भए । यस क्रममा सभापति देउवाको मुक्तकण्ठले प्रशंसाका शब्दहरू पनि खर्चिए । तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सफल भएकोमा देउवाको नेतृत्वको भरपूर गुणगान गाउनेहरू त थिए नै, ‘मुखले नबोलिकनै शान्त रणनीतिक चाल मार्फत् गुमेको सत्ता फर्काउन सफल’ देउवाको मुरीमुरी प्रशंसा गर्नेहरू पनि थिए । वास्तवमा नै केन्द्रीय समितिका सदस्यहरूको बोलीलाई हेर्दा र सुन्दा त्यो बैठक देउवामय नै थियो । कांग्रेसमा देउवाको अकण्टक साम्राज्य स्थापित छ र उनी चुनौतीरहित छन् भन्ने नै निष्कर्ष निस्किन्छ यो बैठकका कारबाहीलाई नियाल्दा ।

यी सब दृष्य एवं कर्मलाई देखेपश्चात् कतिपय पर्यवेक्षकहरूले लाइभ बैठक गर्ने देउवाको निर्णय पछाडि लुकेको अन्तर्यलाई बुझे । उनीहरूले भन्न थाले, ‘देउवाले लाइभ गर्नुको पछाडिको कारण त यो पो रहेछ ! उनी पार्टीभित्रको आफ्नो पकडलाई आमजनता सामू देखाउन चाहन्थे ।’ वास्तवमा देउवाको उद्देश्य यो नै थियो भने उनी सफल भएकै हुन् । नेपाली कांग्रेसको वर्तमान संरचनाभित्र शेरबहादुर देउवाले आफ्नो अत्यधिक बहुमत भएको तथ्यलाई प्रमाणित गरिदिए ।

तर यहाँनेर अत्यन्तै सहज प्रश्न उठ्छ– देउवाको पार्टी भित्रको यो संरचनामा ८० प्रतिशतको हाराहारीमा बहुमत छ भन्ने तथ्य जगजाहेर थिएन र ? यो सर्वस्थापित सत्यलाई प्रमाणित गर्न लाइभ बैठकको रणनीति अख्तियार गर्नुपथ्र्याे र ? गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरू स्वयंले के यो कुरा जानेका र मानेका थिएनन् र ?

अब लागौं देउवाको विपक्षी मानिएका गगन थापातर्फ । कांग्रेस केन्द्रीय समितिको बैठकको शुरूवातमै महामन्त्री गगन थापाले आगामी वर्षको सांगठनिक योजना र कार्यक्रम प्रस्तावका रूपमा पेश गरे । हप्ता दिनभरी ‘देउवालाई खुइल्याएको’ आरोप खेपेका थापाको उक्त योजना एवं कार्यक्रमको भने ठूलो विरोध भएन । झिनामसिना थपघट र संशोधनको सुझाव पक्कै आए, तर समग्रमा त्यसको स्वागत नै भयो । स्वाभाविक रूपमा धेरैले कार्यान्वयनमा शंका व्यक्त गरे । योजनाको विरोध लगभग भएन । केही उग्र देउवा पक्षधरले त उक्त कार्यक्रम देउवाको नै भएको भन्ने समेत दावी गरे । हुन पनि सभापति केन्द्रित कांग्रेस जस्तो राजनीतिक दलमा सभापतिको सम्मति र सहमति नभइ कुनै प्रस्ताव आउने कुरो त्यति पाच्य हुन्न । तर अधिकांश केन्द्रीय सदस्यले उक्त प्रस्तावलाई ‘महामन्त्रीको’ नै बताइरहे । देउवा पत्नी डा. आरजु देउवाले त उक्त योजना तथा कार्यक्रमलाई ‘एनजीओको विशलिस्ट जस्तो’ भनेर खुला आलोचना नै गरिन् । आरजु देउवाका बोलीले केही हदसम्म भएपनि शेरबहादुर देउवाको भावनालाई प्रतिनिधित्व गर्छ भनेर मान्ने हो भने गगनद्वारा प्रस्तुत उक्त योजना एवं कार्यतालिकालाई शेरबहादुर देउवाले अपनत्व लिन मानेका छैनन् । अर्थात्, उक्त योजना एवं कार्यक्रम विशुद्ध महामन्त्रीको हो र आम कांग्रेसी कार्यकर्ता एवं मतदाता समेत यही मान्दछन् ।

गगन थापा र उनको युवा जमातद्वारा प्रस्तावित योजना र कार्यतालिका सामान्य परिमार्जनसहित केन्द्रीय समितिको बैठकले पारित गरेको छ । अब कम्तिमा अर्को एक वर्ष उक्त कार्यक्रम कार्यान्वयन गर्न उनीहरूलाई कसैको सहमति वा सहयोगको आवश्यकता पर्दैन । उनीहरूको हात खुलेको छ । कसैलाई भाँजो हाल्ने इच्छा भयो भने प्रशासनिक अड्चन जस्ता चोरबाटो अपनाउनु पर्ने हुन्छ । अब लोकप्रिय देखिएको उक्त कार्यक्रमको सफल कार्यान्वयन भयो भने त्यसको जस कसले पाउँछ ? कतै अर्को एक वर्ष चाहिँ पार्टी संयन्त्र युवा जमातको हातमा सरेको हो ?

अस्ट्रेलियातिर बुमे¥याङ भनिने एक परम्परागत हतियारको प्रचलन रहेछ । लगभग हँसिया आकारको उक्त काठे हतियारको विशेषता चाहिँ घुमाएर टाढा प्रहार गरेपश्चात् त्यो फर्किएर प्रहारकर्ता कहाँ नै फर्किन्छ । भित्तामा भकुण्डो हानियो भने के हुन्छ ? स्वाभाविक रुपमा हान्ने व्यक्तितर्फ नै फर्किन्छ । लाइभ बैठक मार्फत् देउवाले फ्याँकेको हतियार बुमेर्‍याङ भएको त होइन ? राजधानी दैनिकबाट