किन निसानामा छन् गृहमन्त्री श्रेष्ठ ?

Avatar photo
Dhadingpost
बिहिबार, साउन ११, २०८०

काठमाडौं । एक साताको कम्बोडिया यात्रापछि मंगलबार स्वदेश फर्किएका प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाटै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निसाना साँधे। सुन तस्करी प्रकरणलाई लिएर श्रेष्ठमाथि ओली आक्रामकरूपमा प्रस्तुत हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ। ओली कम्बोडिया उड्नुभन्दा अघिल्लो दिन गत साताको बुधबार साँझ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टलभन्दा बढी तस्करीको सुन बरामद गरेको थियो।

भारतबाट ल्याइएका मोटरसाइकल चढ्ने देशमा हङकङबाट ल्याएको मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ को प्रयोजनबारे यसअघि कहिल्यै चर्चा भएन। उक्त ब्रेक सुसहितको सुनको तौल १५५ केजी रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ। बलियो सुरक्षा घेरा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिर आएको अवस्थामा सुन बरामद भएपछि सिंगो मुलुकको ध्यान त्यतातर्फ तानिएको छ। जसको अहिले राजस्व अनुसन्धान विभागले नै अनुसन्धान तथा तहकिकात गरिरहेको छ। यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्। यसरी यति ठुलो मात्रामा तस्करीको सुन बरामद भएपछि एमाले अध्यक्ष ओलीले सुरक्षाको विभागीय जिम्मेवारीमा रहने गृहमन्त्री श्रेष्ठमाथि निसाना साँधेका हुन्।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठकै संलग्नता रहेको आशंका व्यक्त गरे। ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ। उहाँले एयरपोर्टमा सुरक्षा बन्दोबस्त गर्नुभएको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँ आउने, जाने चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ?’ ओलीले पत्रकारसँग भने, ‘अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ।’

ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्री जवाफदेही हुनुपर्ने भन्नेमाथि उल्टै मुद्दा हाल्न लगाइएको भन्दै आक्रोश व्यक्त गरे। उनले भने, ‘गैरजिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुप¥यो उहाँको संलग्नता छ, छैन ? सानोतिनो संलग्नताबाट यो त भएको छैन होला ! उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ?’

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठमाथि आरोप लगाउनेमा ओली पहिलो भने होइनन्। यसअघि एमालेनिकट पत्रकार संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले विमानस्थलबाट गृहमन्त्री श्रेष्ठले नै तस्करीको सुन छुटाएको आरोप लगाएका थिए। सुन बरामद भएकै दिन बस्नेतले आफ्नो फेसबुकमा गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट सुन छुटाएको र अर्थमन्त्री प्रकाशशरण महतले राजस्व अनुसन्धान विभागबाट बरामद गर्न लगाएको सूचना आफूलाई प्राप्त भएको उल्लेख गरेका थिए। त्यसपछि गृहमन्त्री श्रेष्ठको सचिवालयले बस्नेतले गृहमन्त्रीविरुद्ध भ्रम छरेर मानमर्दन गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको थियो। बस्नेतले माफी मागेपछि यो विषय सामसुम भइसकेको छ। बस्नेत आफैंले ‘समाचारको स्रोत गलत परेको’ बताइसकेका छन्।

सुन तस्करी प्रकरणमा प्रतिपक्षी दलबाट मात्रै होइन्, सत्तारूढ दलभित्रैबाट पनि गृहमन्त्री श्रेष्ठ आलोचनाको केन्द्रमा छन्। यो विषय प्रतिनिधिसभा बैठक, संसदीय समिति र पार्टीका बैठकमा पनि उठेको छ। सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा श्रेष्ठको संलग्नता आशंका गर्छन्। शर्माले यसप्रकरणमा अर्थमन्त्री महत पनि दोषी भएको बताएका छन्। सांसद शर्मा यस विषयमा पहिलोपटक शुक्रबार संसद्को कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा बोलेका थिए। बैठकमा उनले विमानस्थलबाट भइरहेको सुन तस्करी रोक्न नसकेकोमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका थिए।

सुन तस्करीको विषय कांग्रेस केन्द्रीय समिति बैठकमा पनि उठेको छ। कांग्रेस बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ र सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम जोडिएर आएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन्।

‘एक महिनाको बीचमा २९ पटक सुन भित्रिएको छ। सुन काण्डमा नारायणकाजी र कृष्णबहादुर महराको पनि नाम आएको छ। अब हामीले गृहमन्त्रीको राजीनामा माग्ने कि नमाग्ने ?’ केन्द्रीय सदस्य बस्नेतले प्रश्न गरे, ‘कांग्रेसभित्र कांग्रेसलाई नै खुइल्याउने प्रवृत्ति बढेको छ। तर सत्तारुढ दलका नेताहरूको कमजोरी देखाउन हाम्रा नेताले सक्दैनन्।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ पर्दा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिन जाने कांग्रेस नेताहरू माओवादी केन्द्रका उच्च तहका नेता नै सुन तस्करीमा मुछिँदा बोल्न नसकेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन्।

‘मन्त्रीहरूको सेटिङमा सुन तस्करी’
सुन तस्करीबारे बुधबार संघीय संसद्मा पनि कुरा उठेको छ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी र सत्तारूढ दलका सांसद्ले सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठमाथि निसाना साँधेर उनको राजीनामा मागे। प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नसक्ने जनाएको छ। प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री श्रेष्ठलाई नैतिकताका आधारमा पदमा बस्न नसुहाउने बताए। ‘गृहमन्त्रीको मातहतमा सुन तस्करी भएको छ। उहाँले म कारबाही गर्छु भन्नुहुन्छ, कोट र टारको कुरा गर्छु भन्नुहुन्छ,’ गिरीले भने, ‘कुन नैतिकताको धरातलमा उहाँलाई गृहमन्त्रीको पदमा बस्न सुहाउँछ ? दुईसय क्विन्टल बढी सुन तस्कर भएको छ, मन्त्रीहरूको सेटिङमा। यस विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बन्नुपर्छ। सभामुखबाट रुलिङ हुनुपर्छ।’

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद शर्माले पनि गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागे। दुवै मन्त्रीले राजीनामा नदिए आफू संसद्मै आमरण अनशन बस्ने चेतावनीसमेत उनले दिए। उनले भने, ‘अनुसन्धानको प्रक्रियामा सहज बनाइदिन अर्थमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ। उहाँहरूले हामीलाई थाहा छैन भन्न पाउनुहुन्न।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सुन तस्करी प्रकरणबारे प्रतिनिधिसभामा आवाज उठाए। रास्वपाका सभापति रवि लामिछानेले सरकारले ठुला प्रकरणलाई गिजोल्न मात्रै उठान गरेको तर निष्कर्षमा पु¥याउन नसकेको दाबी गरे। ‘क्विन्टलका क्विन्टल तस्करीको सुन आउनु र मान्छे पक्राउ पर्नु सामान्य भइसक्यो। यसमा हुने सेटिङबारे जनताले थाहा पाइसके,’ उनले भने, ‘यस्ता घटनामा दोषी भन्दै कर्मचारी सरुवा गरिन्छ। सरुवा भनेको कारबाही हो ? सरुवा गरिएको कि पुरस्कार दिइएको ? तुरुन्त बर्खास्त गर्नुपर्ने हो कि साटफेर गर्नुपर्ने हो ?’ रास्वपाले सुन तस्करी प्रकरणमा छानबिनको माग गर्दै ‘जरुरी सार्वजनिक महŒवको प्रस्ताव’ पनि संसद् सचिवालयमा दर्ता गराएको छ।

यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करको जरोसम्म पुगेर अनुसन्धान गर्न माग गरे। नेपाल सुन तस्करको ट्रान्जिट भएको दाबी गर्र्दै उनले अरू देशले सूचना दिएका कारण भरियाहरू पक्राउ परेको जानकारी आफूले पाएको बताउँदै उनले भने, ‘सरकारले भरियालाई समातेर तस्कर जोगाउने काम नगरोस्, छानबिन जरासम्म पुगोस्। सुन तस्करीमा अरूको पनि नाम आएको छ। सरकारले उनीहरूलाई पनि पक्राउ गरोस्।’

प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल भने सरकारको बचाउमा उत्रिए। सरकारले भ्रष्टाचारको विषयमा छानबिन गरिरहँदा सलाम गर्नुको साटो आलोचना भएको उनले बताए। ‘गृहमन्त्री र अर्थमन्त्रीका विषयमा पनि केही कुरा उठे। सरकारलाई बधाई पनि दिन चाहन्छु। दिउँसै रात पार्न खोजिएको थियो। रातलाई दिउँसो बनाइँदैछ,’ उनले भने।

गृहमन्त्रीमाथि किन उठ्दैछ प्रश्न ?
नेपालमा अवैध सुन आयातको इतिहास लामै छ। तस्करीको सुन चीन, हङकङ, दुबई र मलेसिया हुँदै नेपाल भित्रिन्छ। जानकारहरूका अनुसार तस्करीको सुन कतिपय अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कतिपय अवस्थामा उत्तरी सीमा नाकाबाट स्थलमार्ग हुँदै भित्रिन्छ। यसरी भित्रिने अवैध सुनको केही अंश नेपालमै खपत हुन्छ भने, धेरैजसो हिस्सा भारतसम्म पुग्छ।

जानकारहरूका अनुसार सुन तस्करीमा आतंकवादी गिरोहदेखि विभिन्न देशको राजनीतिक नेतृत्व, भन्सार कर्मचारी, सुरक्षा अधिकारी, व्यापारिक घरानासम्मको ‘सेटिङ’ हुन्छ। नेपालमा ठूलै तहको सेटिङमा सुन तस्करी भइररहेको दाबी गरिन्छ। विपक्षी दलहरूले सरकारी अधिकारीसमेतको सेटिङमा ठूलो मात्रामा सुन तस्करी भइरहेको आरोप लगाएका छन्।

‘तीन महिनाअघि खुलेको कम्पनीबाट एकपटक होइन्, २२/२३ पटकसम्म त्यसैगरी सामान आयात भएको छ, कसैले छनकसमेत पाएन भन्ने कुरा कसरी पत्याउन सकिन्छ ?’ एमाले सचिव योगेश भट्टराई भन्छन्, ‘गृह प्रशासन गृहमन्त्रीको हातमा हुन्छ। एयरपोर्टजस्तो संवेदनशील ठाउँबाट यसरी सुन तस्करी भइरहँदा न सुरक्षा संयन्त्र न सुराकी कसैले थाहा पाउन्न भनेर कसरी विश्वास गर्ने ?’

एमालेलाई गृहमन्त्री श्रेष्ठ र माओवादी केन्द्रको नेतृत्वमाथि निसाना साँध्ने थप आधार करिब ५ महिनाअघि ‘ई–सिगरेट’ भित्र राखेर ल्याइएको ९ किलो सुन बरामद प्रकरणले दिएको छ। जसमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम जोडिएको छ। राहुलले भन्सार विभागका कर्मचारीलाई फोन गरेर ई–सिगरेट छाडिदिन वा लिलामीमा राखिदिन पटक–पटक आग्रह गरेको कुरा बाहिरिएको छ। ‘उहाँ (राहुल) को नाम स्वयं भन्सारको विभागका कर्मचारीबाटै आएको छ। उहाँले ९० पटक फोन गरेको कुरा खुलिसकेको छ। उहाँ (महरा) छोरालाई सुनको के चासो ? उहाँ सुन व्यापारी त होइन,’ एमाले सचिव भट्टराईले भने, ‘त्यसैले पछिल्लोपटक भित्रिएको तस्करीको सुनमा माओवादीको उच्च नेतृत्वको संलग्नता छ भन्ने बुझिँदैन र ?’

भ्रष्टाचारका घटना छानबिनमा गृहमन्त्री श्रेष्ठले चालेको कदममा ‘ब्रेक’ लगाउन चाहनेले अहिले उनको आलोचना गरिरहेको निकट स्रोत बताउँछ। ‘सुशासन कायम गर्न उहाँ (गृहमन्त्री) दृढ संकल्प लिएर अघि बढिरहनुभएको छ। भ्रष्टाचारजन्य कसुरमा संलग्न माओवादीकै मान्छे भए नि नछाड्ने उहाँले भनिरहनुभएको छ,’ श्रेष्ठनिकट स्रोतले भन्यो, ‘यसबाट तर्सिएका शक्ति अहिले उहाँको विरोधमा लागिरहेका छन्।’

सुन तस्करीमा गृहमन्त्रीको संलग्न रहेको आरोप निराधार रहेको दाबी उनको सचिवालयको छ। ‘सामान एयरपोर्टमा झरेर बाहिरिँदासम्म पनि गृह प्रशासनको भूमिका रहन्न भन्ने कुरा प्रष्ट छ। त्यो विषय अहिलेको प्रकरणले पनि खुलाइसकेको छ,’ सचिवालयका एक सदस्यले भने, ‘बरु अब भन्सार विभागको मात्र भूमिका राख्दा तस्करीले प्रश्रय पाउने देखियो। प्रहरी पनि त्यहाँ राख्नुपर्छ भन्ने गृहमन्त्रीको धारणा छ।’ नगरिक दैनिकबाट