धादिङ । डिभिजन वन कार्यालय धादिङबेसी नजिकै मंगलबार राती भेटिएको लोपोन्मुख वन्यजन्तुमा पर्ने सालकलाई प्राकृतिक वासस्थानमा पुनर्स्थापना गर्ने तयारी गरिएको छ ।
डिभिजन वन कार्यालय धादिङका अनुसार पुच्छरको टुप्पादेखि मुखको चुच्चोसम्म २ फिट २ ईन्च लम्बाई र २ केजी ८० ग्राम तौल भएको भाले कालो सालक (चाइनिज पंगोलिन) कार्यालय नजिक गएराती भेटिएको हो ।
राति नै डिभिजन वन कार्यालय, धादिङको सशस्त्र वन रक्षकहरूले उध्दार गरी डिभिजन वन कार्यालय धादिङमा सुरक्षित राखिएको र नियमानुसार प्राकृतिक वासस्थानमा पुनर्स्थापनाको तयारी गरिएको जनाईएको छ ।
लजालु र धेरै तस्करी हुने स्तनधारी जन्तुमा सालक पर्ने गर्दछ । यसले कमिला, धमिरा आदि खान्छ । यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित स्तनधारीको रूपमा सूचिकृत गरिएको छ । यसको शिकार गर्नेलाई उक्त ऐनमा कडा सजायँको व्यवस्था छ ।