सिद्धलेकका ८ स्वास्थ्य संस्थाको सेवा बन्द, सेवा नपाई फर्किए स्थानीय

Avatar photo
Dhadingpost
बुधबार, साउन ३, २०८०

धादिङ । वर्षको अन्तिम दिन सिद्धलेक गाउँपालिकाले करारका स्वास्थ्यकर्मी निकालेपछि स्वास्थ्य सेवा र भेटेनरी सेवा बन्द भएको छ । करारका कर्मचारीको सेवा अवधि एक वर्षको हुने भएपनि सिद्धलेक गाउँपालिकाले वर्षको अन्तिम दिन स्वास्थ्य सेवा नै बन्द हुने गरी कर्मचारी निकालेको छ भने भेटेनरी प्राविधिकको करार सम्झौता सकिएकोले काम नगर्नु भनेपछि महामारीको रुप लिएको ‘लम्की स्किन’ उपचार सेवा नै बन्द भएको छ।

सिद्धलेक गाउँपालिकाले २८ जना स्वास्थ्य सेवाका अहेव, अनमी लगायतका कर्मचारीको करार अवधि सकिएको भन्ने सूचना गाउँपालिकाका प्रवक्ता सागर गुरुङले असार ३१ गते प्रेसविज्ञप्ति निकालेर जानकारी गराएपछि गाउँपालिका भित्रका ८ स्वास्थ्यसंस्थाहरु बन्द हुने अवस्थामा पुगेको छ । केही स्वास्थ्य संस्थामा त सोमबार ताला लागेको छ भने केहीमा ज्यालादारीका पालिकाका कार्यकर्तालाई खोल्न लगाइएको पाइएको छ ।

पालिकाले राखेका करारका कर्मचारी हटाउने सूचना गरेका कारण वडा नम्बर ३ को सयपत्री स्वास्थ्य सेवा बिन्दु बन्द भएको छ । स्वास्थ्य सेवा लिन आएका नागरिकहरु अहेव नभएका कारण यतिकै फर्किएको स्थानीय होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । वडा नम्बर ७ मा रहेको आदमटार आधारभूत स्वास्थ्य सेवा केन्द्र पनि बन्द भएको छ। गाउँपालिका अध्यक्षको घर समेत सोही वडामा रहेको छ ।

स्वास्थ्यकर्मी नभएपछि वडा नम्बर १ को बलदेवी आधारभूत स्वाथ्यसेवा केन्द्र, वडा नम्बर ४ को सलाङघाट आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर २ को पात्ले सामुदायिक स्वास्थ्य बिन्दु, वडा नम्बर ५ को बाघबच्छला आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ७ मा रहेको जालपा सामुदायिक स्वास्थ्य बिन्दु, वडा नम्बर ४ को कालिका बर्थिङ सेन्टर समेत प्रभावित भएको छ। यी सबैमा पालिकाले व्यवस्थापन गरी जनताको स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि कर्मचारी राखेर स्वास्थ्य सेवा दिँदै आएकोमा आफ्ना मानिस नभएको भन्दै पालिकाले गलत नजिर बस्नेगरि विना मूल्याङ्कन स्वाथ्यकर्मी हटाएर जनताको स्वास्थ्य सेवामा खेलवाड गरेको सिद्धलेक गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले बताउनुभयो ।

सम्झौता सकिनु अगाडी नै नयाँ कर्मचारी राख्ने हो भने स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयमा गम्भीर भएर नयाँ राख्ने कर्मचारीको व्यवस्थापन गरिसक्नु पर्नेमा गर्न नसके पनि गाउँपालिकाले पहिल्यै गरेको निर्णय सूचना गरेर सार्वजनिक गरिएको गाउँपालिका प्रवक्ता एवं वडा नम्बर २ का वडा अध्यक्ष सागर गुरुङले बताउनुभयो । स्वास्थ्य केन्द्रहरु बन्द नभएको र ज्यालादारीमा कर्मचारी खटाइएको प्रवक्ता गुरुङको भनाइ छ ।

सिद्धलेकमा स्वास्थ्य चौकी ३, आधारभूत स्वास्थ्य सेवा केन्द्र ४, स्वास्थ्य सेवा बिन्दु ५ गरी १२ स्वास्थ्य स.स्थाहरु रहेको छ । स्वास्थ्य चौकी बाहेक स्थानहरु कर्मचारी विहीन भएका हुन् । सिद्धलेकमा कर्मचारीको वर्षको अन्तिम दिन सूचना गरेर हटाएपछि डेंगुको महामारी भएको बेला स्वास्थ्यकर्मी विहीन बनाइएको छ भने भेटेनरी शाखामा पनि ५ जना भेटेनरी प्राविधिक हटाएपछि लम्की स्किन रोगको उपचार नै प्रभावित भएको छ । सिद्धलेकमा गाइभैसी विरामी परिरहेको, केही मरि सकेको अवस्थामा प्राविधिक कर्मचारी हटाएपछि जनताको घरदैलोमा पुग्नेहरु नभएपछि उपचार सेवा नै बन्द भएको छ । अब पालिकामा बस्ने एकजना मात्र भेटेनरी प्राविधिक बाँकी छन्।

कृषि सम्बन्धी प्राविधिक धारका ५ जना र अन्य प्राविधिक धारका ५ जना कर्मचारीको समेत करार सम्झौता नवीकरण गरिएको छैन । स्वास्थ्यसेवा प्रभावित नहोस भनेर हाल काम गरिरहेका कर्मचारीलाई नै स्वास्थ्य संस्था खोल्न आग्रह गरिएको र स्वास्थ्यसेवा जस्तो संवेदनशील क्षेत्र सुचारु गरिएको सिद्धलेक स्वास्थ्य शाखा प्रमुख राम विनय शाहले जानकारी दिनुभयो ।

आम रुपमा वर्षको अन्तिम दिन सूचना गरेर कर्मचारी निकाल्ने काम विधि र नीति तथा आचरण विपरीत भएकोले यस्ता खाले काम बन्द गरी पुराना कर्मचारीको करार सेवा नवीकरण गर्नुपर्ने नेकपा एमालेले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धलेक गाउँपालिका कमिटीले सेवा प्रभावित हुनेगरि गरिएको काम बन्द गर्न माग गरेको छ ।

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा गाउँपालिकामा भेटिनु भएन । उहाँलाई फोन सम्पर्क गर्दा उहाँको भाइ बोलेको भनेर फोन दिन नमिल्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष सबिता अर्यालले करार कर्मचारीको करार सम्झौता नवीकरण नभएको हो । बाँकी कुरा पछि गरौँला भनेर फोन राखिदिनु भयो । प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकोले सम्पर्क समेत हुन सकेन । सिताराम अधिकारीको यो समाचार समाचारपत्रबाट