आज असार १५, कृषिप्रधान देश नेपालका लागि यसदिनले सर्वाधिक महत्व राखेको पाइन्छ । प्रत्येक वर्ष आउने आजकै दिनलाई राष्ट्रिय धान दिवसका रुपमा समेत स्मरण गर्ने गरिएको छ । आजको दिनलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा समेत लिइन्छ ।
असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।
असार १५ मा किन खाइन्छ दही चिउरा ?
परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरुप दहीचिउरा खाने चलन रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।‘माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही चिउरा खाने गरिएको हो’, संस्कृतिकर्मी धौभडेल स्पष्ट पार्छन्। उनले रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दहीचिउरा खाने प्रचलनले महत्व पाएको बताए। ‘असारमा कामको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, उनले थपे, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही चिउरा खाने थिति नै बसेको हो।’