एड्भान्समा पहेँलो सदन दिवस मनाइयो

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ २६, २०८०

धादिङ । प्याब्सन धादिङको सदस्य विद्यालय एड्भान्स एकेडेमीले शुक्रबार पहेँलो सदन दिवस मनाएको छ । पहेँलो सदनका विद्यार्थीहरू र शिक्षकहरूको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा सदनभित्रका विद्यार्थीहरूले आफ्नो नृत्यकला, वक्तृत्वकला, गायन कला प्रस्तुत गर्नुका साथै नाटक मञ्चन समेत गरेका थिए । साथै सदन अन्तर्गतका शिक्षिकाहरू अनिता तामाङ र जस्मिन तामाङले पनि नृत्यकला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले बनाएका क्र्याफ्टहरू पनि प्रदर्शन गरिएको थियो । पहेँलो सदनको प्रिफेक्ट विकास लम्साल र भाइस प्रिफेक्ट जेनिशा राणाले कार्यक्रम सञ्चालन गरेका थिए भने सदनको संयोजक शिक्षक किरन गुरुङको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालयको तर्फबाट प्रिन्सिपल भिम बहादुर श्रेष्ठले सदनको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

पहेँलो सदनभित्र रहेका सम्पूर्ण विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रस्फुटन गर्ने हेतुले एड्भान्स एकेडेमीले यस कार्यक्रम सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल श्रेष्ठले धादिङपोष्टलाई जानकारी दिए । विद्यालयमा अन्य सदनहरूको दिवस पनि यस्तै विशेष कार्यक्रम आयोजना गरी मनाउने गरिएको छ ।