एसियाली योग खेलकुद प्रतियोगिता आज देखि काठमाडौंमा

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २५, २०८०

काठमाडौं । नेपालसहित भारत, भूटान, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का र माल्दिभ्स गरी सात राष्ट्रका खेलाडीले सहभागिता जनाउने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता आज सुरुहुँदै छ भने, माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप भोली देखि हुनेछ ।

नेपाल योग खेलकुद सङ्घको आयोजनामा हुने यी प्रतियोगिता नेपाल भारत मैत्री धर्मशाला तिलगङ्गामा हुनेछ ।दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा नेपालबाट महिला र पुरुष गरी ३६ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । जसअनुसार ८ देखि ११ वर्ष, १२ देखि १५ वर्ष, १६ देखि १८ वर्ष, १९ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३५ वर्षदेखि माथिका उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यस्तै माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिपमा सार्क राष्ट्रसहित इरान र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा करिब तीन सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ । नेपालबाट महिला र पुरुष गरी ४२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।