नलाङ सिध्दलेक परम्परा र किम्वदन्तिको योग

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २४, २०८०

नलाङको परम्परागत ढेवाडाँडा बिस्तारै आन्तरिक र वाह्य पर्यटनको आकर्षण थलोको रुपमा विकास हुँदै सिध्दलेकको नामबाट विकास यात्रामा उक्लिरहेको छ । सिध्दलेक के हो र यसको सनातनी महत्व के रहेको छ भन्ने विषयमा खोज अनुसन्धान र समिचीन व्याख्या हुन बाँकि भएपनि प्राचनि कालमा कुनै सिध्द साधुको तपोस्थल थियो भन्ने कुरामा भने द्विविधा रहँदैन । यहाँका केही सम्पदाहरु अलिखित परम्परा र किंम्बदन्तिहरुमा सीमित छन् भने केही सनातन सम्पदाहरुको उत्खनन भर्खर भर्खर हुन थालेको छ । इतिहासका कतिपय तथ्यहरुको उद्गम भेट्न मिथक र श्रुतिपरम्पराको फेरो समातेर मात्रै पिँदसम्म पुग्न सक्छौं । सम्पदाहरु जो सहरको नजिक र सहरकै किनाराहरुमा छन् तिनीहरुको उत्खनन् संरक्षण ,अभिलेखन तथा दस्ताबेजीकरण भैसकेका छन् । दुर दराज र विपन्न ,गरीबी ओढेर बसेका वस्तीहरुमा भएका अनेक सम्पदाहरुको पुनर्जीवन तथा खोज पड्ताल गर्न ढिलोे भैसकेको छ । राज्य पुनर्संरचनाको लामो समय बितिसक्दा पनि यस दिशामा कार्यारम्म आशाजनक भैसकेको छैन ।
सिध्दलेकको सिध्दबाबा क्षेत्रमा कहिलेदेखि र को आएर तपस्या गरेका थिए ? कसलेरी सिध्दि पाएका थिए ? उनको जन्म कहाँ भएको थियो ? उनी कता गएका थिए भन्ने तथ्य प्रमाणहरु दिन कठिन छ तथापि गोरखा नजिक रहनु ,गोरखामा गोरखनाथको गुफा हुनु र नलाङमा नाथ सम्प्रदायका योगीहरुले आजसम्म पनि फेरि लगाउने परम्परा कायम राखिरहेका हुनाले पनि ती सिध्द नाथ सम्प्रदायका तपस्वी हुन सक्छन् भन्ने अनुमान गर्न सकिन्छ तर ती सिध्दनाथको जन्म कहाँ भएको थियो र कसरी तप गरेका थिए भन्ने विषयको गूढ र गम्भीर अनुसन्धान गर्न आवश्यक छ ।

सिध्दलेकको पहरामा रहेको गुफा र केही तल सलाङ्को कुटीडाँडामा अवशेषको रुपमा रहेको कुटी हेर्दा त्यहाँ नाथ सम्प्रदायको अखडा र गुरुकुल नै थियो भन्न सकिन्छ । त्यो अखडा वा आश्रम मठ नै रहेको आँकलन अवशेषहरु हेर्दा गर्न सकिन्छ । मठका उत्तराधिकारी कति वर्षसम्म रहे र कतिवर्षपछि ध्वस्त भयो त्यो यतिकै भन्न सकिन्न ।

नाथपन्थको जन्म
भारतमा नाथपन्थको जन्म आदिनाथ सदाशिवबाट नै भएको मानिन्छ त्यसपछि आदिगुरुबाट दीक्षित दत्तात्रयले नाथपन्थको विशेष नियमहरु बसाएर मठ, अखडाहरु नै सिर्जना गरेपछि सम्प्रदायले संस्थागत परम्परा आरम्भ लिएको थियो । भारतमा दत्तात्रयको पालाबाट नाथवादी शैवहरु धेरैतिर फैलिएका मानिन्छन् । कतिपय अनुसन्धाताहरु नाथपन्थीहरुलाई बौध्दमतालम्वीहरुको बज्रयानी सम्प्रदायका निकट पनि मान्दछन् । भारतमा मध्ययुगमा तुर्कीस्थानबाट प्रवेश गरेका मुसलमानहरुले हिन्दुहरुमाथि अतिक्रमण गरेर धर्मान्तरण गराउन थालेपछि आफ्नो धर्म र संस्कृति जोगाउन धेरै हिन्दु नागरिकहरु नाथपन्थी भएको देखिएको छ । नाथपन्थका अगुवालाई पीर भन्दछन् । पीर मुस्लिम फकिरको अप्रभंश रुप हो । मुस्लिम दृष्टिमा यी हाम्रै रुप हुन् भन्ने भएर पनि नाथवादीहरुमाथि मुस्लिम आक्रमण कम भएकोले नाथवादीहरुको सङ्ख्या बढ्दै गएको पाइन्छ । धर्मान्तरणबाट रोक्नकै लागि नाथपन्थी त्यतिबेला भनिएका अछुतहरुको घरमा जाने ,खाने, भजन र आफ्ना धार्मिक क्रियाकलापमा सहभागी बन्न,बनाउन थाले । मतवालीहरुको घर बस्तीमा जाने र मादक पदार्थ पनि सेवन गर्न थालेकाले उनीहरुलाई सुधारवादी पनि मानिएको छ । उनीहरु ईश्वरको निगूण वा ज्योतिरुपको ध्यान गर्दथे । उनीहरुको परम्परा र संस्कृति एक किसिमले मिश्रित प्रकृतिका बन्दै गयो । जहाँ हिन्दु, बौध्द, मुस्लिमको संयुक्त प्रभाव पनि देखिएको छ ।

नाथ सम्प्रदाय भरत र नेपालमा प्रचलित शैव मतालम्वीका एक विशिष्ट परम्परा आदिकालदेखि विद्यमान थियो । यस सम्प््रादायका प्रथम गुरु सदाशिव नै हुन् । नाथ परम्पराबाट नै मध्यकालमा केही विशिष्ट सिध्दिप्राप्त अन्य नाथहरु दीक्षित भएका हुन् । सिध्दनाथहरु प्राय सबै शिवअंशी वा शिव अवतारी नै थिए । चन्दननाथ शिवअवतारी नेपालकै जुम्ला जिल्लामा रहेर समाज सेवा र सुधार गर्दैरहेका थिए ।

नाथ शब्दको अर्थ केलाउँदै जाँदा ना को अर्थ अनादि रुप र थ को अर्थ त्रिलोकका संरचनाकार भन्ने हुन्छ । यसरी हेर्दा नाथको अर्थ स्वर्ग,मत्र्य, पाताल तिनै लोकको स्थिति थाम्ने र बुझ्न सक्ने नै हुन आउँछ । नाथब्रम्हबाट मोक्ष दिनसक्ने क्षमता भएको ना र अज्ञानतालाई स्थगन गर्ने थाम्ने र रोक्ने भएकाले थ मिलेर नाथ बनाइएको पनि भन्ने भनाइ छ । त्यसैले नाथ हुनु भनेको जान्नु, बोध हुनु वा जान्ने हुनु पनि हो । नाथपन्थीहरु फिरन्ता हुन् । एक ठाउँबाट अर्को ठाउँमा डुल्दै फिर्दै हिड्दछन् । ठूला ठूला तीर्थहरु गएर ध्यान गर्दछन् । पृथ्वी, जल,तेज, वायु ,आकाशको विहंगम परिवेशको बोध गर्दछन् र दीर्घायु हुन्छन् । सिध्द नाथ योगीहरु हजारौं वर्षसम्म हिमालयका गुफा,गुफामा अहिले पनि अजर अमर छन् र साधनारत छन् भन्ने मान्यता राखिन्छ ।

त्यही सम्प्रदायमा चर्चित केही अवतारी,सिध्द, शिवांशी वा आशीर्वादप्राप्त महात्माहरु देखा परेका छन् हठयोग प्रदीपिका ग्रन्थमा मूल नाथपन्थका सिध्दहरु निम्नानुसार छन्:
१. आदिनाथ (सदाशिव), २.मस्त्येन्द्रनाथ, ३.महायोगी गोरक्षनाथ, ४. जालान्धरनाथ, ५.कानिफनाथ, ६.चौरङ्गीनाथ, ७.चर्पटीनाथ, ८. भतृहरिनाथ, ९.गोपीचन्द्रनाथ, १०.रत्ननाथ, ११. धर्मनाथ, १२. मस्तनाथ, १३. सिध्दनाथ, १४. मीननाथ, १५. रेवानाथ, १६. करणिपानाथ, १७. मुक्तिनाथ

भारत र नेपालका विभिन्न स्थानहरुमा ती नाथसम्प्रदायका सन्तहरु छरिएर सत्रौं शताब्दीसम्म आइपुग्दा विभिन्न मठ,अखडा र केन्द्रहरु बिस्तार हुँदै आएका देखिएका छन् । त्यही मठ र केन्द्रहरुले नाथ सम्प्रदायलाई अझै उचाइ, अझै आकाषर््ाण दिएको छ ।

त्यतिबेला भएका र विशेष सिध्दि पाएका नाथहरु: आदिनाथ, मस्त्येन्द्रनाथ, शारदानन्दनाथ, भैरवनाथ, चौरङ्गीनाथ, मीननाथ, गोरक्षनाथ, विरुपाक्ष, विलेषय, मंथान भैरव, सिध्दबोध, कन्हडीनाथ, कोरण्टकनाथ, सुरानन्द, सिध्दनाथ, चर्पटीनाथ, कणेरीनाथ, पूज्यपादनाथ, नित्यनाथ, निरञ्जननाथ, कापालिनाथ, प्रभूदेव, घोडाचूलीनाथ ,ििटण्डीणीनाथ, भल्लरीनाथ, नागबोध, खण्डका पालिकानाथ

नलाङको ढेवालेक र सिध्दनाथको कर्मस्थल
यसमध्ये १५ औ स्थानमा रहेका सिध्दनाथका एकजना चेला उनकै आग्रहमा नलाङको ढेवालेकको तल्लो पहराको असजिलो गुफामा आइ केही साधना र तपस्या गरेका थिए । उनी गुफामा यसरी लीन थिए कि त्यहाँ साधक तपस्वी छ भनेर कसैले अनुमान पनि लगाउन सक्दैन थे । गुफा बस्तीबाट टाढा रहेको र त्यतिबेला घना जङ्गलमात्रै भएको कारणले पनि कोही कसैको पहँुच थिएन । त्यही पहरामा उनले भगवान शिवको अवतारको रुपमा गुरु गोरखनाथसँग भेट गरेका थिए । छि त्यहाँ नै उनलाई शिव साक्षत्कार भएको थियो ।

उनले सिध्दि हासिल गरिसकेपछि त्यही ढेवालेक तल (हाल सलाङ) को वनमा कुटी बनाएर बसेका थिए । त्यसैबेला देखि त्यस डाँडाको नाम नै कुटी डाँडा बनेको छ । त्यस कुटीमा बसेर उनले ग्रामीण आम नागरिकलाई औषधोपचार तथा ज्ञानगुनका कुरा बाँढ्ने गर्दथे । सिध्दबाबा शिवअंशी नै थिए । उनले मठमा बत्ती बाल्नकै लागि गुफाको भित्री गर्भगृहमा रहेको कुण्डबाट पानि निकालेर तेलमा परिवर्तन गर्थे र त्यसैबाट बत्ती बाल्ने गर्दथे । बेमौसममा असिना परेर किसानको बालीनाली नष्ट गर्न खोजेको खण्डमा पनि उनले असिना एकोहोरो सोहरेर ढेवालेकमा मात्रै पार्थे भन्नेहरु पनि छन् । उनको पालामा अकालमा कसैको मृत्यु भएन । कसैले दुःख र रोगव्याधबाट पीडित हुन पनि परेन । यी किंम्बदन्ती अहिले पनि जनजनमा कतै कतै सुन्न पाइन्छ । हो तिनै सिध्दबाबाको नामबाट पछि ढेवालेकको नाम बदलेर सिध्दलेक राखिएको हो ।

सिध्दलेकभन्दा तल रहेको सिध्दबाबाको (मठ) कुटीमा अखण्ड यज्ञ आहुति चलिरहँदो हो त्यसैले अहिले पनि त्यहाँको माटो (सायद विभूति) ल्याएर लगाउने गर्नाले भूतप्रेत मसानले दुःख नदिने विश्वास बुढापाकाको रहेको छ । कुटीडाँडाको सिध्दमठमा लामो समय साधना चलिरहेको तथ्य अहिलेको भग्न संरचना हेर्दा अनुमान लगाउन सकिन्छ । त्यहाँ मठ तथा गुरुकुल चल्थ्यो भन्ने तथ्य अहिले अवशेषको रुपामा रहेको विशाल संरचनाले कहन्छ । सध्दिबाबाका केही चेला चपेटाहरु पनि भए । मठको अखण्ड साधना आफ्ना चेलाहरुलाई सुम्पिएर सिध्दबाबा भारततर्फ थप शक्ति र ज्ञानको खोजीमा हिंडे ।

बिस्तार बिस्तार साधना सिध्दी,योग, ध्यान,ज्ञानका परम्पराबाट सिध्दनाथका चेलाहरु विरत भएका हुन सक्छन् । साधनामा कमी आएपछि धाम र मठहरुको आयु क्षीण हुनु स्वभाविक नै हो । यस मठका साधकहरुको पनि साधनामा कमी आउन थालेको हुन सक्छ । जन विश्वास हराउँदै गएको हुन सक्छ । त्यसले उनीहरु बिस्तार बिस्तार गृहस्थ जीवनमा प्रवेश गरेका हुन सक्छन् । सन्तानहरु मादक पदार्थ सेवन र भोगविलासमा निर्लिप्त रहन थालेपछि उनीहरुमा आम नागरिकप्रति विश्वास पनि गुम्न थालेको हुन सक्छ । आश्रमहरु,गुरुकुलहरु,मठ मन्दिरहरु आम नागरिकहरुको विश्वास र सहयोगले सञ्चालन हुने संस्थाहरु हुन् । जब नागरिकको विश्वास मर्दै जान्छ तब आश्रम र मठ मन्दिर पनि खण्डहरमा परिवर्तन हुन थाल्दछन् र परम्परामा विचलन र विकार आएपछि संस्कार र सभ्यतामा पनि स्खलन आउँदोरहेछ । त्यहाँका साधुहरु बिस्तार बिस्तार गृहस्थ हुन थालेपछि आदत र व्यवहार पनि साधना प्रतिकुल हुन थालको हुनु पर्दछ । । घर गृहस्थी भएपछि घरजग्गा लिएर नलाङ, सलाङका विभिन्न ठाउँमा समाज बनाएर बसेपछि मठको रेखदेख गर्ने कोही भएन । वि.सं १९२५ आसपाससम्म एकजना महिला साधुले त्यस मठको रेखदेख र सुरक्षा गरेर बसेको देख्ने बृध्दबृध्दाहरु बताउँछन् ।

सिध्दलेकको वर्तमान र भविष्यमा गर्नुपर्ने कार्यहरु
हामीले गर्ने विकासका प्रयासहरु र त्यसको प्रकृतिलाई ख्याल गरेर अल्पकालीन र दीर्घकालीन योजना बनाउन सक्नु पर्दछ । हामीले विकासका नाममा जे पाइन्छ त्यही लिने र जस्तो मन लाग्छ त्यस्तै बनाउने बानी भयो भने असल चित्रकारले बनाएको कुरुप चित्रजस्तो बन्न सक्छ हाम्रो विकास ।

ढेवालेक सिध्दलेकमा नाम परिवर्तन भएपनि यसको आत्मिक स्वरुप बदलिएको छैन । सिध्दलेकमा सिध्दिका साधन र तपोस्थलहरु छैनन् मात्रै सेल्फिडाँडा जस्तो मात्रै भएको छ । ढेवाडाडाँको टुप्पो भत्काएर कंक्रिटका संरचनाका प्रयासहरु देखिएका छन् त्यस्ता कामले साँच्चै श्रध्दालु तीर्थयात्रीहरुको दिलमा सम्मान र श्रध्दा भन्दा ज्यादा बिझाउँछ । सिध्दबाबाको मन्दिर भनेर बनाइएको टहराको संरचनामा पनि कुनै आध्यात्मिक कलाको अभाव छ र मन्दिरको स्तरीय मापदण्ड र बास्तुविज्ञानको ख्याल गरिएका देखिँदैन । सिध्दलेक क्षेत्रको विकासका लागि अल्पकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गर्न ढिला भइसकेको छ । यसलाई प्रदेश सरकारले आफ्नो दीर्घकालीन योजनामा समेट्र्नुुुुुछ र सिध्दलेक क्षेत्र विकास समिति गठन गरिनु पर्दछ । यसको १५ वर्षीय गुरुयोजना निर्माण गरी पालिका,संघ र स्थानीय सरकारले गर्नुपर्ने कार्यहरुको किटानी हुनु पर्दछ ।

हाम्रा आदिकालीन मन्दिरको इन्जिनियङ कति वैज्ञानिक र वास्तुसम्मत देखिन्छन् भन्ने तथ्य १९९० सालको भूकम्प र २०७२ सालको महभूकम्पले पनि हलचल गराउन नसकेको यथार्थतातिर खै हामीले सोच्न सकेको ? बरु सिध्दबाबा मन्दिरमा पुग्दा गेटमै राखिएको आकारहीन र कलाहीन मुर्तिले पनि सिध्दलेकको स्तरीयताप्रति खिन्नता सिर्जना गरिदिन्छ । त्यसैले शक्तिपीठहरु, सिध्दपीठहरुका संरचना निर्माण गर्दा हाम्रा प्राचीन वास्तुविज्ञानलाई मध्यनजर गर्नै पर्ने हुन्छ । सकेसम्म आयु भएका र कमजोर गुणस्तरमा सिमेन्टका संरचनाहरु प्रयोग नै गर्नु हुँदैन । आयु नभएका र अनन्त कालसम्म रहिरहने पत्थर र माटो ढुङ्गा,काठ नै प्रयोग गर्नु उपयुक्त हुन्छ । सिध्दबाबाको तपोस्थल सिध्दगुफाको बाटो सहज बनाएर त्यसलाई साधनास्थलकै रुपमा प्रयोग गर्नु पर्दछ । कुटीडाँडामा भएको भग्नावशेषलाई उत्खनन गर्ने र त्यसलाई पुनर्जिवीत गर्दै गुरुकुल तथा सिध्द साधना प्रयोगशालाको रुपमा विकास गर्ने दीर्घकालीन योजना बनाउनसके सिध्दलेकको सार्थकता जिवन्त हुनेथियो अन्यथा यो एकादेशको कथामै सीमित रहन्छ र ढेवाडाँडा सिध्दलेक नभएर सेल्फिडाँडामा मात्र सीमित रहनसक्छ ।

यहाँका आम नागरिक र पछिल्लो पुस्तालाई पनि सिध्दलेक के हो र सिध्दबाबा भनेको को हो थाहा नै छैन । जब आम नागरिकलाई तत्स्थानीक महत्वका सन्दर्भमा कुनै एतिहासिक वा आस्था र विश्वासको मूल्यबोध हुँदैन तिनले त्यस्ता चिज र वस्तुको उपयोग स्वाथ्र्यवश मात्रै गर्दछन् । सिध्दलेकलाई त्यो रुपमा प्रयोग गरिनु हुन्न थियो तर भइरहेको छ त्यस्तै । ईश्वर र सत्यलाई भौतिकीमा खोज्ने बानी परिसकेका हामी संरचनालाई मात्रै हेर्ने भूल गरिरहेका छौं । त्यसैले सिध्दलेकलाई एक साधकको प्राकृतिक तपोस्थली जस्तो थियो त्यस्तै रुपमा सजाउने अभ्यास गरौं । कङ्क्रिटको निर्माणलाई दुरुत्साहन गरौं बरु योग केन्द्र,ध्यान केन्द्र,वास्तु अनुसन्धानशालाहरु स्थापना गरौं । यसले साश्वत सत्यको स्थापना र अध्यात्मलाई जनजनसँग जोड्ने अभियानको थालनी हुनेछ । र सिध्दलेक एकपटक पुग्नै पर्ने स्थलको रुपमा विकास हुनेछ ।
डा. नविनबन्धु पहाडीको यो स्टोरी हामीले प्रदेश प्रोटलबाट लिएका हौं ।