२६औँ दिनमा भेटिइन्, जंगलमा हराएकी नीरा, भोकप्यासले स्वास्थ्य जीर्ण

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २७, २०७९

बाजुरा । बाजुराको गौमुला गाउँपालिका– १ दुर्गालीकी ४० वर्षीय नीरा बोहरा घरबाट दाउरा खोज्न जंगल गएकी थिइन् । तर, बेलुकीसम्ममा घर फर्किइनन् । घर नफर्किएपछि परिवारका सदस्य खोजीमा लागे । गाउँलेसमेत मिलेर खोजी गर्दा पनि उनी फेला परिनन् । नीराको खोजीमा स्थानीय पालिकाले समेत प्रयास गर्यो । तै पनि उनी कतै भेटिइनन् ।

एक दिन, दुई दिन गर्दै एक साता बित्यो । यसपछि उनको खोजीमा लागेकाहरूले हार मारे । एक साता, दुई साता, तीन साता बित्यो । तै पनि उनको पत्तो लागेन । चिन्ने र बेपत्ता भएको सुन्नेहरूले उनी जीवित रहेको आशा मार्न थाले । यस्तोमा शनिबारको साँझ अपत्यारिलो बनेर आयो । साँझतिर उनको घरमा नीरा जंगलको ओढारमा जीवितै फेला परेको खबर आयो । गाउँभन्दा करिब २० किलोमिटर टाढा रहेको घनघोर जंगलको थुप गुफामा उनी भेटिइन् ।

यतिवेला उनी बेपत्ता भएको २६औँ दिनमा भएको थियो । बाजुराको गौमुला गाउँपालिका– १ का अध्यक्ष देविन्द रोकायाले जंगलमा भेडा चराउन गएका गोठाला कल्चे चदाराले नीरालाई फेला पारेको खबर परिवारका सदस्यलाई सुनाए । जंगलमा निर्माण गरिएको नेपाल टेलिकमको टावरनजिकै ओढारमा नीरा सहारा लिएर बसेकी थिइन् । भेडा चराएर बास बसाउन कल्चे चदारा भेडीगोठतिर फर्किंदै थिए । एकाएक भेडाहरू तर्सेर भाग्न थाले । के भएको रहेछ भनेर हेर्दा कल्चेले ओढारमा एक महिला लडिरहेको देखे । उनी नीरा थिइन् । खाना र पानीको अभावमा उनी जीर्ण बनिसकेकी थिइन् ।

मानसिक अवस्था सुस्त रहेकी नीरा बोल्न सक्ने अवस्थामा थिइनन् । त्यसपछि उनलाई अम्लिसमा रहेको स्वास्थ्य कार्यालय पुर्याइयो । त्यहाँ जाँच गर्दा तरल पदार्थ कम भएकाले शरीर निकै कमजोर रहेको पाइएको स्वास्थ्यकर्मी संगीत रोकायाले जानकारी दिए । नीराका आफन्त महेन्द्र रोकायाले आफू र गाउँलेले खोजी गर्दा कतै भेट्टाउन नसकेको तर, भेडीगोठालाले फेला पारेर खबर गरेको जानकारी दिए ।

नीराको मानसिक स्वास्थ्य कमजोर रहेको परिवारले जनाएको छ । उनका श्रीमान् बोल्न सक्दैनन् । उनीहरूका सन्तान भएका छैनन् । रोकायाले स्वास्थ्यअवस्था निकै कमजोर भएकाले खान, बोल्न र हिड्न सक्ने अवस्था नरहेको जानकारी दिए । आर्थिक अवस्था ज्यादै कमजोर रहेको नीराको परिवारलाई आवश्यक पर्ने उपचार, भिटामिन र पोसिलो खानेकुरा किनेर खुवाउने पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए । उनले नीराको उपचारको जिम्मा पालिकाले लिने पनि जानकारी दिए । नयाँ पत्रिकाबाट