म्याद सकिएको ३० महिनासम्म पनि धादिङ गल्छीमा पुल निर्माण भएन

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २१, २०७९

धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित त्रिशूली नदीमाथि दुईवटा मोटरबेल पुल निर्माणाधीन छन् । ती पुल निर्माण गरिसक्नुपर्ने म्याद सकिएको २७ महिना भयो । पुल अझै निर्माण सम्पन्न भएको छैन । निर्माण व्यवसायीले कोरोना भाइरसको महामारीलाई दोष देखाएर पन्छँदै आएका थिए ।

समयमा काम नसक्दा सबैभन्दा बढी मार निर्माण व्यवसायीलाई नै पर्दै आएको थियो । पुल निर्माण गराउने निकाय भने समयमा नसके अवस्था हेरेर १० प्रतिशतसम्म हर्जना तिर्नुपर्ने व्यवस्था रहेको बताउँदै आइरहे । स्थानीय भने समयमै पुल निर्माण सम्पन्न नहुँदा सुविधा उपभोग गर्नबाट वञ्चित हुँदै आइरहेका छन् । गल्छी गाउँपालिका–४ मासटार र वडा नं. २ केउरेनीटार जोड्न त्रिशूली नदीमाथि पुल निर्माण गर्न २३ करोड ७५ लाखमा २०७३ साल असार ३० गते तुदी, लामा र सपनाले संयुक्तरूपमा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७७ मंसिर १३ गते सम्पन्न गरिसक्नुपर्ने थियो । यस पुलमा ८० मिटर स्टिलपार्ट्स हुनेगरी डिजाइन भएकाले सोहीअनुसार स्टिलपार्ट्स जडान गरी रंगरोगनसमेत थियो ।

२०७८ वैशाख ४ गते शनिबार अपरान्ह आएको हावाहुरीले पुल ढल्यो । पुलमात्र ढलेन निर्माण कम्पनीलाई पाँच करोड रुपैयाँको क्षति भयो । क्षतिवापतको रकम आफूले नपाएको निर्माण व्यवसायी हरि ढकाल बताउँछन् । समयमा काम नसक्दा जरिवाना लगाउने सरकारले क्षति हुँदा पूर्ति गर्दैन । आफ्नो पाँच करोड नोक्सानी भएको उनी बताउँछन् । बिमा कम्पनीले पनि बिमा रकम नदिएको ढकालले बताए । पुलमा ८० मिटर स्टिलपार्ट्स जडान गर्नुपर्ने थियो । स्टिलपार्ट्स जडानको काम सकिँदै छ । स्टिलपार्ट्समा ढलान र तीन सय मिटर कच्ची सडक निर्माण गरिसकेपछि काम पूरा हुने भएकाले असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी काम भइरहेको ढकालले बताए ।

लुम्बिनी र प्रकृतिले संयुक्त रूपमा १८ करोड, ६१ हजार ३९६ रुपैयाँमा गल्छी गाउँपालिकाको गल्छी र घर्तीटार जोडन पुल निर्माण गर्न २०७४ साल मंसिर २७ गते सम्झौता गरेका थिए । निर्माण कम्पनीले २०७७ साल मंसिर २६ गते काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर विविध कारण देखाउँदै निर्माणकार्य ढिलो गर्दै आएको निर्माण कम्पनीले अब भने असारसम्ममा काम सक्ने दाबी गरेको छ । पुलमा ८० मिटर स्टिलपार्ट्स जडान गर्ने काम अन्तिम चरणमा पुगेको र स्टिलपार्ट्समा ढलान गरी दायाँबायाँ मोटर बाटो बनाएपछि पुल निर्माण सम्पन्न हुने निर्माण व्यवसायी लंकु केसीले बताए । स्थानीय सरकारको नियमन गर्ने प्रक्रिया र निर्माण कम्पनीको कार्यशैलीप्रति आजित भएका छन् ।

२०७७ साल मंसिर महिनामा सम्पन्न हुनुपर्ने पुल ३० महिनासम्म पनि सम्पन्न नहुँदा देशमा सरकार छैन कि जस्तो लाग्ने स्थानीय बताउँछन् । पुल नबन्दा गाउँमा मोटर ल्याउन चर्को भाडा तिर्नुपर्नेको छ । थोरै सामान ढुवानी गर्न पनि महँंगो परेको छ । पुल निर्माण सम्पन्न भए खेतबारीबाट दैनिक रूपमा तरकारी गाडीबाट पठाउन सकिन्छ । ढुवानी खर्च कम लाग्ने स्थानीयको भनाइ छ । यी दुई पुल सञ्चालनमा आएपछि तीन हजार किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । ती परिवारको अहिलेको तुलनामा ३० प्रतिशत वार्षिक आम्दानी बढाउन सक्ने अनुमान छ । कारोवार दैनिकबाट