चुनावमा पराजित भए सँगै जगत सिंखडाको सन्देश

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ८, २०७९

धादिङ । माओवादी केन्द्र धादिङले सत्ता भागबण्डामा पाएको दुई वटा प्रदेश क्षेत्र मध्य एउटामा पराजय भोग्नु परेको छ । धादिङ २ को प्रदेश २ मा एमाले राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका डम्बर श्रेष्ठ विजय भए सँगै माओवादी केन्द्रका नेता जगत सिंखडा १३१ मतले पराजित भएका थिए ।

जगत सिंखडाको धन्यावाद तथा प्रतिवद्धता सन्देश
धादिङको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) मा १३१ मतान्तरले विजयी हुन सफल मेरा प्रतिस्पर्धी एमाले-राप्रपा गठबन्धनका मित्र डम्बर तामाङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु । तपाईंले यो क्षेत्र र यहाँका जनताको पक्षमा गर्ने हरेक कार्यमा हातेमालो गर्नेछु भने सधैंझै जनविरोधी कामको खुलेर विरोध गर्नेछु ।

यो निर्वाचन अभियानमा गठबन्धन संस्कार र पार्टी भावनालाई शिरमा राखी अहोरात्र खट्नुहुने सबै मित्रहरू सहकर्मी, सहयोद्धा, समर्थक शुभचिन्तकहरूप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु । यहाँहरूको सहयोग र सद्भाव कहिल्यै भुल्ने छैन ।
हामीलाई थाहै छ, हामी प्रतिगमनविरोधी गठबन्धन बनाएर चुनावी अभियानमा होमिएका थियौं । अग्रगमन, संविधान र लोकतन्त्रको रक्षाका लागि हामी सँगै उभिँदै आएका पनि छौं । यसका बावजुद जो सीमित व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन संस्कृति र पार्टी भावनाका विरुद्ध उभिनुभयो, उहाँहरूसँग म लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका उपलब्धि जोगाउने अभियानमा हार्दिकतापूर्वक सहकार्य गर्ने नै छु ।

किनकि सदनमा राजतन्त्रको पक्षमा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिताको विरुद्धमा नारा लाग्दा हामी चुनावी अभियानमा ‘मित्रहरू’बाट भएका कमजोरी सम्झेर अल्मलिने छैनौं । त्यो सुविधा हामीसँग हुनेछैन । समीक्षा, आत्मसमीक्षा जीवनमा गर्दै गरौंला । म लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि समर्पित सक्रिय योद्धा हुँ । गणतन्त्र स्थापनाको अभियानमा सहादत प्राप्त गर्नुहुने योद्धा, घाइते र बेपत्ता योद्धाले हाम्रो काँधमा छाडेको अभिभारा म कहिल्यै भुल्नेछैन ।

म जनतासँग जगत भन्ने नाराका साथ यो क्षेत्र, यहाँका सम्मानीत मतदातासँग जोडिइरहनेछु ।विभिन्न कारणले निर्वाचनको लोकतान्त्रिक विधिमा पछि परेँ, तर जनताको भरिया बनेर जनसेवामा थप मेहनतका साथ क्रियाशील भइरहनेछु । तपाईंको दुःख सुखको साथी भइरहनेछु । पाखा-पखेराहरूमा सक्रिय भइरहनेछु । हामीले हालेको विकासको जगमा समृद्धि ठड्याउन क्रियाशील भइरहनेछु ।

यो पराजयले भनेको छ- मैले यहाँ थप मेहनत गर्नुपर्नेछ । म यसलाई हार्दिकतापूर्वक स्वीकार्छु । बितेको पाँच वर्ष म जति यो भूगोलमा दौडिएँ, सक्रिय भएँ, यसलाई थप रफ्तार दिनेछु । छिट्टै निर्वाचन क्षेत्र केन्द्रित अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गर्दै पुनश्चः सबै मतदाताप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु ।